मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format o६:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नहुने चुनावको पछाडि नलागौँ, महाधिवेशनको तयारी थालौँ : महामन्त्री कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o१:oo

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वैशाखमा चुनाव सम्भव नभएकाले महाधिवेशनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सरकारले वैशाखका लागि चुनाव घोषणा गरेको छ, तर चुनाव हुँदैन । त्यसैले चुनावको होइन, पार्टीको महाधिवेशनतिर ध्यान दिनुपर्छ,’ डा. कोइरालाले भने ।

नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिको रिले अनशनमा ऐक्यबद्धता जनाउन आइतबार कीर्तिपुर पुगेका महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको मितिमा चुनाव गराउन नसक्ने बताए । ‘ओलीले चुनावको मिति घोषणा गरेका छन्, तर त्यो मितिमा उनले चुनाव गराउँदैनन् । किनभने अहिलेसम्म त उनीहरू फुटेकै छैनन्,’ कोइरालाले भने, ‘जब फुट्छन् तब मात्रै उनीहरूसँग स्वतन्त्र चुनाव चिह्न हुन्छ । एउटालाई सूर्य चिह्न दियो भने अर्कोले मुद्दा हाल्छ, त्यसले तीन–चार महिना लम्बिन्छ । कि त दुईवटैलाई छुट्टाछुट्टै दिनुपर्‍यो । तर, म यो सम्भावना देख्दिनँ ।’

महामन्त्री कोइरालाले संघर्षकै माध्यमबाट प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जोड दिनुपर्ने बताए । ‘कांग्रेसमा अलमल छैन, कांग्रेस स्पष्ट छ । र, कांग्रेसले अरूसँग मिलेर संघर्ष गर्न हुँदैन भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘कांग्रेसले अहिले संघर्ष नै गर्नुपर्छ । हामीले संघर्ष गरेर नै पुनस्र्थापनाका लागि जोड दिनुपर्छ ।’

महामन्त्री कोइरालाले कांग्रेसका कारण अहिले नेपालमा कम्युनिस्ट फैलिएका बताए । ‘हामीले अब संघर्ष गर्ने एक्लै हो । हामी जब–जब कम्युनिस्टसँग मिल्यौँ, उनीहरूलाई स्थापित गर्ने काम मात्रै भयो । ०४६ सालमा मिल्यौँ, कम्युनिस्टलाई स्थापित गरिदियौँ, ०६४ सालमा मिल्यौँ, त्यसवेला पनि उनीहरू स्थापित भए,’ कोइरालाले भने, ‘विश्वबाटै पलायन भएका कम्युनिस्ट आज नेपालमा किन पलाइरहेका छन् भन्दा त्यसको कारण कांग्रेस नै हो । त्यसैले अब हामी कम्युनिस्टसँग कहिल्यै पनि मिल्नुहुँदैन भन्ने मेरो मान्यता हो ।’

स्ववियु चुनावको माग गर्दै  १९ दिनदेखि रिले अनशनमा नेविसंघ
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावलगायत पाँचबुँदे माग राखेर त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा नेपाल विद्यार्थी संघ १९ दिनदेखि रिले अनशनमा छ । विद्यार्थीको हक, अधिकार सुनिश्चित गर्दै शैक्षिक वातावरण सिर्जना गर्न माग राखेर रिले अनशन थालिएको नेविसंघ त्रिवि इकाइ समितिका अध्यक्ष श्यामचन्द्र अधिकारीले बताए । 

नेविसंघले स्ववियुकोे निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविका परीक्षामा परीक्षाको एक महिनामै नतिजा प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने, शैक्षिक क्यालेन्डरअनुसार भर्ना प्रक्रिया सुरु गर्नुपर्ने, नेविसंघ र त्रिविबीच भएको २३बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने तथा त्रिविका प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने कार्य बन्द गर्नुपर्ने माग गरेको छ । 

अनशनमा यसअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, गुरुराज घिमिरेलगायतका नेताहरूले अनशनस्थल पुगेर ऐक्यबद्धता जनाएका छन् । माग पूरा नभएसम्म निरन्तर अनशन जारी राख्ने इकाइ अध्यक्ष अधिकारीले बताए ।