१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ४ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड खोपको दोस्रो ‘डोज’ ५६ दिनपछि : वृद्धवृद्धालाई पहिले लगाउन चिकित्सकको सुझाब

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ४ मंगलबार ०७:०७:००

कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो डोज लगाएको आठदेखि १२ हप्तापछि दोस्रो डोज लगाउन सकिने बताएपछि समितिले सोहीअनुसार सरकारसमक्ष प्रस्ताव गरेको हो । कोभिड—१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा.श्यामराज उप्रेतीले दोस्रो डोज जति ढिला लगायो शरीरमा एन्टिबडी त्यति नै प्रभावकारी हुने बताए ।

चिकित्सकहरूले वृद्धवृद्धालाई पहिले खोप अनिवार्य गर्न सुझाब दिएका छन् । युवा वर्गलाई कोरोनाले खासै असर गरेको छैन । तर, कोरोना संक्रमित वृद्धवृद्धामध्ये अधिकांश निमोनिया भई मृत्यु भएकाले उनीहरूलाई पहिलो प्राथमिकतामा राख्न चिकित्सकहरूले सुझाब दिएका हुन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला सिकिस्त हुने वृद्धवृद्धालाई पहिला खोप दिन उचित हुने बताउँछन् । 

५५ वर्षमाथिका नागरिक १० लाख
नेपालमा कोरोनाबाट हुने मृत्यु र गम्भीर अवस्थाका संक्रमित घटाउने एक मात्रै विकल्प ५५ वर्षमाथिका मानिसलाई खोप अनिवार्य हो । देशभर यो उमेर समूहका करिब १० लाख नागरिक छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले पनि ५५ वर्षभन्दा माथि उमेर समूह भएका नागरिकलाई तत्काल खोप चलाउनुपर्ने बताए । उनले २० प्रतिशत जनतालाई तत्काल खोप लगाउन मन्त्रालय कटिबद्ध भएर लागेको जानकारी दिए ।

प्रमुख विशेषज्ञ डा.पोखरेलले हाल प्रयोग भइरहेको कोभिसिल्ड खोपले नयाँ भाइरसमा काम गर्ने नगर्नेबारे यकिन नभएको बताए । ‘यस विषयमा अध्ययन भइरहेको छ,’ उनले भने । विश्वमा अहिले ७० किसिमका कोभिडविरुद्धका खोप क्लिनिकल ट्रायलमा छन् । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ट्रायल सकिएका दशवटा खोप भने प्रयोगमा आइसकेको बताए । तर, विश्व स्वास्थ्य संगठनले अहिलेसम्म फाइजरको खोपलाई मात्रै प्रयोगको अनुमति दिएको छ ।