१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २९ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २९ बिहीबार २o:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनवटा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि डेढ अर्ब भारतीय सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २९ बिहीबार २o:३८:oo

सेतो मत्स्येन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशाला निर्माण तथा कुमारी छो र कुमारी निवासको संरक्षण र विकासका लागि भारतले एक अर्ब ४२ करोड रुपैयाँ दिने सम्झौतामा हस्ताक्षर भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का परियोजना निर्देशकसहितका साझेदारहरूले बिहीबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी एवं पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता, पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का अधिकारी सहभागी थिए । 

यसैगरी, ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर नं. २५ का वडाध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरू पनि सहभागी थिए । 

‘भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौताअनुरूप निर्माण भइरहेका सांस्कृतिक सम्पदाभित्रकै यी तीन परियोजनाहरू हुन्,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५ करोड अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरू कार्यान्वयन अवस्थामा छन् ।’ 

काठमाडौंको जनवहालमा रहेको सेतो मत्स्येन्द्रनाथ मन्दिरलाई महत्वपूर्ण जीवित सम्पदा मानिन्छ । सेतो मत्स्येन्द्रनाथ मन्दिरलाई हिन्दू र बौद्घ दुवै धर्मावलम्बीहरूले पूजा–आराधना गर्दै आएका छन् । भारतीय दूतावासका अनुसार मन्दिर जीर्णोद्धार र सबलीकरणका लागि ६२ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ । 

यसैगरी, रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छो पाटनकी जीवित देवीको ऐतिहासिक घर मानिन्छ । कुमारी छो नेवार बौद्ध समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रीतिरिवाजहरूमा कुमारी निवासको सम्बन्ध रहिआएको छ । 

कुमारी छो र कुमारी निवासको संरक्षण तथा विकासका लागि ४५ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ । ‘दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवं परम्पराको जगेर्ना गर्दै सेतो मत्स्येन्द्रनाथ मन्दिर, कुमारी छो र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐनअनुसार संरक्षण गरिनेछ,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘यी परियोजनाहरूको निर्माण तथा संरक्षण एवं प्रबलीकरण कार्य निरीक्षणका लागि इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेजलाई परियोजना व्यवस्थापन परामर्शदाता चयन गरिएको छ । परियोजनाहरूको निर्माण नेपाल सरकारका अधिकारीहरूसँग समन्वयमा रहनेछ ।’ 

भारतले स्थानीय रूपमा नारायणथानका रूपमा चिनिने बुढानीलकण्ठ मन्दिर हाताभित्र ३३ करोड ४० लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण हुन लागेको छ । दुई वर्षअघि भारतले बुढानीलकण्ठ मन्दिरका लागि दुई करोड १८ लाख रुपैयाँमा मठाधीश भवन निर्माण गरेको थियो ।