मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २८ बुधबार
  • Monday, 14 July, 2025
नवराज मैनाली काठमाडौं
२o७७ माघ २८ बुधबार o६:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा महिलालाई विदेश  जान वडाको सिफारिस चाहिने

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २८ बुधबार o६:५१:oo

भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै सरकारले महिलालाई विदेश जान कडाइ गर्ने भएको छ । भिजिट भिसा (पर्यटक भिसा)मा महिलाहरू एक्लै विदेश जाने अवस्थामा परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियम लागू गर्न लागिएको छ । अध्यागमन विभागले यस्तो प्रावधानसहितको भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि गृह मन्त्रालयमा स्वीकृतका लागि पठाएको छ । 

भिजिट भिसामार्फत हुने मानव तस्करी रोक्न यस्तो कार्यविधि बनाइएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए । ‘भिजिट भिसाको दुरुपयोग रोक्न सकिन्छ कि भनेर यस्तो प्रावधान राखेका हौँ’ उनले भने, ‘कार्यविधि स्वीकृतका लागि मन्त्रालय पठाएका छौँ ।’ यस्तो प्रावधानले महिलालाई विभेद हुने देखिन्छ । पुरुषको हकमा भने परिवार तथा वडा कार्यालयको सिफारिसको प्रावधान राखिएको छैन ।

भिजिट भिसामा खाडीलगायत देश गएका महिलाहरू बेचिने भएकाले अध्यागमनले उनीहरूको हकमा कडाइ गर्दै आएको छ । कडाइ गर्दा स्वतन्त्रतापूर्वक आवतजावत गर्ने अधिकार भने हनन भएको आरोप लाग्दै आएको छ । ‘कडाइ गरिएन भने पनि विदेशमा गएर दुःख पाउने अवस्था छ,’ विभागका एक अधिकारी भन्छन्, ‘कडाइ ग¥यो भने मानवअधिकारको कुरा आउँछ, त्यसकारण हामीले अब एयरपोर्टमा भन्दा प्रक्रियामा कडाइ गर्न लागेका हौँ ।’ तर, श्रीमान् तथा परिवारका अन्य सदस्यसँग भिजिट भिसामा जानेहरूको हकमा भने यस्तो सिफारिस आवश्यक नहुने कार्यविधिमा उल्लेख छ । 

१५ लाखको बिमा अनिवार्य
अब विदेश घुम्न जाने सबैले भिजिट बिमा अनिवार्य गर्नुपर्ने भएको छ । अध्यागमन विभागले बनाएको नयाँ कार्यविधिमा बिमालाई अनिवार्य गर्न लागिएको हो । विदेश जाँदा बिरामी भएमा उपचार गर्न तथा मृत्यु भएमा शव स्वदेश ल्याउने खर्च थेग्ने गरी यस्तो बिमा गर्न लागिएको हो । भिजिट भिसामा विदेश गई अलपत्र परेकाहरूको उपचार तथा उद्धारमा हाल समस्या रहेकाले त्यस्तो समाधान गर्न बिमाको प्रावधान राख्न लागिएको विभागका महानिर्देशक केसीले बताए । 

डलर सटहीको रसिद नै चाहिने 
विदेश घुम्न जाँदा न्यूनतम एक हजार अमेरिकी डलर बोक्नुपर्ने नियम कायमै राखिएको छ । यसअघि डलर सटही गरेको पासपोर्टको छाप अध्यागमनलाई देखाउनुपथ्र्याे । अब सटहीको रसिद नै देखाउनुपर्ने भएको छ । विगतमा डलर सटही नगरे पनि कतिपयले यस्तो छाप लगाइदिने भएकाले यसमा कडाइ गर्न लागिएको छ । दुईतर्फ टिकट, होटेल बुकिङको प्रावधानलाई कायमै राखिएको छ ।

नयाँ कार्यविधिअनुसार तोकिएका कागजपत्र बोकेका कसैलाई पनि अब अध्यागमनमा नरोक्ने विभागको तयारी छ । हाल शंका लागेकामा रोक्न सक्ने तजबिजी अधिकार अध्यागमन अधिकृतलाई दिएको छ । जसकारण घुम्नकै लागि विदेश जान लागेकाहरूलाई समेत फर्काइने गरिएको छ । 

गृह मन्त्रालयले हालै गठन गरेको एक छानबिन समितिको प्रतिवेदनका सुझाबका आधारमा नयाँ कार्यविधि बनेको हो । लकडाउनपछि वैदेशिक यात्रा खुलेसँगै ठूलो संख्यामा नेपालीहरू भिजिट भिसामा खाडी देश गएको पाइएपछि यसमा छानबिन भएको थियो । भिजिट भिसाका नाममा धेरैजसो काम गर्नका लागि संयुक्त अरब इमिरेट्सलगायतका देश गएको उजुरी थियो । छानबिनको क्रममा सो कुरा पुष्टि भएको थियो ।