मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ १४ बुधबार १४:०३:००
Read Time : > 1 मिनेट
विश्व

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित दिनदिनै बढ्दै

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ १४ बुधबार १४:०३:००

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित हरेक दिन बढ्दै गइरहेका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार गत वर्षको डिसेम्बरमा पहिलोपटक देखिएयता हरेक दिनजसो संक्रमितहरू फेला परिरहेका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा यो भाइरस भेटिएको हो ।

वुहानबाट यो भाइरस संसारका विभिन्न देशमा पुगिसकेको छ । ती देशमा अहिले पनि संक्रमित हुने क्रम जारी नै रहेकाे समाचार आइरहेका छन् । यसरी वर्ष दिन पुगिसक्दा पनि भाइरसको नियन्त्रण हुन सकेको छैन । तर, चीनले भने ६ महिनाभन्दाअघि नै यहाँ कोरोना भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर, पछिल्ला दिनमा भने फेरि यसका संक्रमितहरू देखिन थालेको चीन सरकारले जनाएको छ ।

चीन सरकारका अनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरूका अनुसार मंगलबार मात्रै पनि चीनमा ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये थप ५५ जना स्वदेशमा नै थिए । यस्तै अरू २० वटा नयाँ घटना बाहिरबाट आएका व्यक्तिमा देखिएकाे छ । 

चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला सयम विभिन्न सहरमा नयाँनयाँ संक्रमित भेटिएका छन् । स्थानीय नागरिकहरूबाटै संक्रमण फैलिरहेको पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।
   
चीनले कोरोनाबाट निको भएका नागरिकको पनि पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । मंगलबार भेटिएका स्वदेशी संक्रमितहरूहमध्ये उत्तरी चीनको हेबेई र हेलिङजाङ प्रान्तका कतिपय सहर र जिलिङ नगरका धेरै नागरिक रहेका छन् ।

चीनका हेलिङजाङ, हेबेईलगायतका प्रान्तमा नयाँ संक्रमित भेटिन थालेको समाचार गत महिनादेखि नै आएको हो । ती प्रान्तका सरकारले आइसोलेसन वार्ड निर्माण पनि गरिरहेका बताएका छन् ।