मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमल खत्री म्याग्दी
२०७७ माघ १० शनिबार ०६:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीपहिरोपीडितको घर पुनर्निर्माण गर्दै प्रवासी 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ माघ १० शनिबार ०६:३७:००

म्याग्दीका प्रवासीहरूले बाढी र पहिरोबाट घरबारविहीन भएकाहरूको आवास पुनर्निर्माण सुरु गरेका छन् । विश्वभर रहेका म्याग्दीका प्रवासीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मार्फत ४० वटा घर पुनर्निर्माण थालिएको हो । 

रघुगंगा गाउँपालिका–५ झिँबाट आवास पुनर्निर्माण सुरु भएको मोनाको पुनर्निर्माण समितिका सदस्य दल शेरपुजाले बताए । उनका अनुसार, आगामी वैशाखभित्र सबै घर पुनर्निर्माण सकेर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गर्ने योजना रहेको छ । 

विश्वका विभिन्न मुलुकमा रहेका म्याग्देली र मोनाका समितिमार्फत बाढी, पहिरोपीडितको सहयोगार्थ आर्थिक संकलन गरिएको थियो । मोनाले धौलागिरि गाउँपालिकामा १४ र मालिका गाउँपालिकामा १० वटा, रघुगंगा, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी नगरपालिकामा चार–चारवटाका दरले घर निर्माण गर्ने सदस्य शेरपुजाले बताए । 

धौलागिरि–६ मराङमा १० र वडा नम्बर ७ धारापानीमा चारवटा घर निर्माण गरिने भएको छ । मालिका–७ बिममा १० वटा घर निर्माण गरिनेछ । गत असारको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको यस क्षेत्रमा एकीकृत मोडेलमा आवास पुनर्निर्माण गरिने जनाएको छ । 

बिममा पहिरोपीडितको एकीकृत आवास निर्माणका लागि प्रवासी बिमवासीहरूको अगुवाइमा जग्गा व्यवस्थापनसमेत गरिएको छ । बिम मालिका संघको अन्र्तराष्ट्रिय विभाग प्रमुख कृष्ण जुग्जालीको नेतृत्वमा प्रवासमा रहेका विमवासीले २० लाखमा एकीकृत आवास पुनर्निर्माणका लागि आवश्यक पर्ने जग्गा गरिद गरिसकेका छन् । 

स्थानीय तहले आधारभूत सडक, खानेपानी, विद्युत्लगायतको सुविधा पुर्‍याउने र प्राविधिक सहयोग उपलब्ध गराउने गरी मोनाले बाढी पहिरोपीडितको आवास पुनर्निर्माण थालेको मोनाका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए । मोनाले शौचालयसहितको घरको नक्सासमेत तयार गरी पुनर्निर्माण थालिएका घर निर्माणमा प्रतिघर पाँच लाखसम्म खर्च हुने अनुमान गरिएको छ ।

जस्तापाताले छाइने घर तीन कोठाका हुनेछन् । जिल्लामा रहेका बाढी–पहिरोबाट पीडित भएकाहरूमध्ये स्थानीय तहहरूमार्फत अतिविपन्न, गरिब र घर बनाउन नसक्नेहरूको पहिचान गरिएको मोनाले जनाएको छ । जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षतिसहित धेरै घरपरिवार घरबारविहीन भए पनि सरकारी तवरवाट अहिलेसम्म आवास पुनर्निर्माण सुरु हुन सकेको छैन ।