१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ ८ बिहीबार ०९:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती र प्रदेश १ को हिउँदे अधिवेशन सुरु : दुवै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

Read Time : > 2 मिनेट
२०७७ माघ ८ बिहीबार ०९:१९:००

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएका प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । दुवै प्रदेश सभाका बैठक अनिश्चितकालका लागि स्थगित गरिएका छन् । 

हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन बुधबार बागमती प्रदेश सभा बैठकमा संसदीय दलका नेताहरूले बोले पनि प्रदेश १ सभा बैठक भने कसैलाई बोल्न नदिएरै स्थगित गरिएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सभामा प्रवेश गरेर राष्ट्रियगानपछि एक मिनेट १९ सेकेन्डमै बैठक स्थगित गरे । उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र सुनाएपछि अर्को सूचना जारी नभएसम्मका लागि सभाको बैठक स्थगित भएको जानकारी दिए । संसदीय दलका नेताले शुभकामना मन्तव्य पनि राख्न पाएनन् । 

बागमती प्रदेश सभा बैठक सुरुवाती प्रक्रिया पूरा गरेर अनिश्चितकालका लागि स्थगित गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । यसअघि बैठकमा शुभकामना मन्तव्य राख्दै संसदीय दलका नेताहरूले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेका छन् । 

दुवै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएसँगै मुख्यमन्त्रीविरुद्ध दर्ता भएका अविश्वास प्रस्ताव पनि अन्योलमै छन् । अविश्वास प्रस्ताव कहिले पेस गर्ने भन्ने यकिन भएको छैन । प्रदेश १ मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले पुसमै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

बागमती प्रदेश सभामा प्रधानमन्त्री ओलीको कदमको विरोध

बागमती प्रदेश सभा बैठकमा बोलेका संसदीय दलका नेताहरूले प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेको भन्दै विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल सुरु गरेको आरोप लगाए । स्थिर सरकारका लागि जनताले दिएको मतको अवमूल्यन भएको बताउँदै बानियाँले भने, ‘नेकपाले जनताको मतलाई अपमान गरेको छ ।’ उनले लोकतन्त्र र संघीय व्यवस्थाप्रति वितृष्णा पैदा गराउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । जनता र मतदातालाई प्रदेश सभा विघटन होला कि भन्ने चिन्ता रहेको भन्दै संघीय व्यवस्थासहित प्रदेश सभा जोगाउन जस्तोसुकै मूल्य चुकाउन आफूहरू तयार रहेको उनको भनाइ थियो । 

बैठकमा नेकपा प्रचण्ड–नेपाल समूहकी सांसद अष्टलक्ष्मी शाक्यले सभामा कानुनी रूपमा नेकपा नफुटे पनि अलग भइसकेको जानकारी गराइन् । जनताले दिएको मतलाई अपमान गर्दै असंवैधानिक कदम चाल्ने ओली प्रतिगमनकारी भएको अरोप लगाइन् । ‘जनतामाझ कसरी मुख देखाउने होला, हामी यही चिन्तामा छौँ,’ शाक्यले भनिन् । विवेकशीलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाईं, राप्रपाकी सांसद रिना माझीले अहिलेको सरकारले जनतामा वितृष्णा पैदा गरेको बताइन् । 

प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले छोटो अवधिमा प्रदेश सरकारले समृद्धि र विकासको काम गरेको दाबी गरे । सरकार ढलाउने खेल सुरुदेखि नै भए पनि संविधानका कारण रोकिएको बताउ“दै उनले बागमती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरू पनि अहिले फरक ढंगले प्रस्तुत हुनुपर्ने अवस्था आएको धारणा राखे ।

प्रदेश सभामा नबोलेर फर्किए संसदीय दलका नेता

प्रदेश १ सभाको बैठक बुधबार दिउँसो २:१२ मिनेटमा सुरु भएलगत्तै सभामुख भण्डारीले स्थथित गरेपछि संसदीय दलका नेताहरूले पनि बोल्न पाएनन् । सभामुख भण्डारीले सभाको सातौँ तथा हिउँदे अधिवेशन सुरु भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र सुनाएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । 

प्रदेश सभा अधिवेशको सुरु र अन्त्यमा संसदीय दलका नेताले आफ्नो शुभकामना र समीक्षा मन्तव्य राख्ने परम्परा रहेको छ । तर, बुधबारको बैठकमा कुनै पनि दलका नेताहरूले सम्बोधन गर्न पाएनन् । कार्यव्यवस्था समितिको सहमतिअनुसार बुधबार बसेको पहिलो बैठकमा कुनै पनि दलका नेताहरूले सम्बोधन गरेर शुभकाना नदिएको सचिव गोपालप्रसाद पराजुलीले बताए । तर, यसमा कसैले पनि आपत्ति जनाएका छैनन् । प्रतिपक्ष जनता समाजवादी दलका नेता जयराम यादवले भने, ‘परम्परा भंग भयो भन्ने भन्दा पनि सबैले मिलेर समस्या कसरी समाधान गर्नुपर्छ भन्ने महत्वपूर्ण हो ।’