मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २२ शनिबार
  • Saturday, 06 March, 2021
डा. डिबी कट्टेल
२०७७ माघ ५ सोमबार १०:२५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विकासवादले क्रान्ति ल्यायो कि ल्याएन ?

सन् १७०० देखि १८५९ सम्मको पहिलो चरणको अवधिमा विकासवादी सिद्धान्तको प्रगति छद्म विज्ञानका रूपमा रहेको थियो

Read Time : > 6 मिनेट
डा. डिबी कट्टेल
२०७७ माघ ५ सोमबार १०:२५:००

चार्ल्स डार्विनको ‘ओरिजिन अफ स्पेसिज बाई मिन्स अफ नेचुरल सेलेक्सन’ अर्थात् प्रजातिहरूको उत्पत्ति प्राकृतिक छनोटको प्रक्रियाबाट नामक पुस्तक सन् १८५९ मा प्रकाशित भएको थियो । १९औँ शताब्दीको मध्यमा यो पुस्तकले ब्रिटिस वैज्ञानिक समुदायबीच आँधीबेहरी नै ल्यायो । यो पुस्तक सार्वजनिक उत्तेजनाको कारण मात्र बनेन तत्काल यसले सामाजिक उथलपुथलसमेत निम्त्यायो । वैज्ञानिक, राजनीतिज्ञ, पादरीलगायत सबै तह र तप्काका पाठकले पुस्तकलाई पढेका थिए । पुस्तक छलफलको मुख्य मुद्दासमेत बनेको थियो । कतिपयले डार्विनको विचारको रक्षा गरेका थिए भने कतिपयले उपहास पनि । 

पुस्तकलाई लिएर सामाजिक उथलपुथल हुनुमा यसमा ब्यक्त गरिएको ‘जीवनको क्रमागत विकास’ भएको हो भन्ने धारणा नै हो । सँग–सँगै सबै जीवित जीव साझा वंशबाट सम्बन्धित छन् भन्ने विचार विवादको कारण बन्यो । यद्यपि, यो धारणा त्यो वेला आंशिक रूपमा मात्र आएको थियो, किनभने डार्विनले ‘परिमार्जनसहित वंश’ को तर्क विस्तृत रूपमा प्रकाशमा ल्याइसकेका थिएनन् । तर, सामाजिक उथलपुथल हुनुको मुख्य कारण भने प्रस्ताव गरेको सिद्धान्त क्रमागत विकास र प्राकृतिक छनोट पृथ्वीमा जीव–विकासका लागि एउटा अकाट्य र बाध्यकारी संयन्त्र हो भनेर भन्नु नै हो । किनकि, यो ईश्वरीय मान्यताविपरीत थियो । 

डार्विनको कामले ल्याएको क्रान्ति वास्तवमा पश्चिमी दर्शनको इतिहासमा दुई बौद्धिक उथलपुथलमध्ये दोस्रो हो । विश्वमा उनको यो पुस्तकले दोस्रो ठूलो वैज्ञानिक क्रान्ति ल्याएको थियो । पहिलो क्रान्ति लगभग पाँच शताब्दीअघि भएको थियो, जब निकोलस कोपर्निकसले ब्रह्माण्डको भूकेन्द्रित अर्थात् जियोसेन्ट्रिक मोडेललाई सूर्यकेन्द्रित अर्थात् हेलियोसेन्ट्रिक मोडेलमा बदले । यद्यपि, उनको अवधारणाले मानिस ईश्वरीय सृष्टिको केन्द्र होइनन् भन्दै विशाल ब्रह्माण्डमा परिक्रमा गर्ने सानो ग्रहको चरित्रको व्याख्या गरे पनि, उनले ईश्वरीय कार्यको शिखरमा तिनीहरू छैनन् भनेर अस्वीकार भने गरेनन् ।

१६औँ देखि १९औँ शताब्दीको मध्यसम्म, मानिस र प्रकृतिबारे रुचि राख्नेहरू जीवनको क्रमागत उन्नतिको सिद्धान्तको झन्डै–झन्डै नजिकमा पुगेका थिए । त्यतिवेला जीव–विकासको सिद्धान्त अस्वीकार गर्नुमा मूलतः धार्मिक र सांस्कृतिक कारण नै धेरै थिए । किनभने, जीवन उत्पत्ति र सृष्टिका कथा ईश्वरीय मान्यताका आधारमा रचना गरिएका थिए । विज्ञानको विकास भएको थिएन, धर्म र संस्कृति सामाजिक परम्पराको एउटा बलियो आधार थियो । बेलायती चिकित्सक र विज्ञानप्रेमी इरास्मस डार्विन, जो चाल्र्स डार्विनका हजुरबुबा हुन्, तिनताका उनी एक उदाहरण थिए, जसले मानवजातिको परिष्कृत जीवनगाथा कवितात्मक रूपमा गाए ।

विकासवादी विचारले जीवनबारे चाख लाग्दा प्रश्न र आश्चर्यजनक उत्तर खडा गर्छ । यो सिद्धान्तको एउटा मान्यता नै हो कि मानवसहित सबै जीव, जीवित हुन् वा मृत, परिवर्तनको लामो प्राकृतिक प्रक्रियाका अन्तिम उत्पादन हुन्, अर्थात् प्रजातिहरू क्रमागत उन्नतिका माध्यमबाट या त समान पुर्खाबाट आएका हुन या वंश फरक हो भन्ने नै हो । विकासवादी सिद्धान्तको खोज पश्चिमी विचारको सबैभन्दा ठूलो बौद्धिक उपलब्धि हो । यसलाई क्याल्कुलस र सामान्य तथा विशिष्ट सापेक्षता बादलगायत उच्च तहका वैज्ञानिक अन्वेषण, जसले हामीमा विश्व हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो, त्यही स्तरमा राखिएको छ ।

डार्विनको प्राकृतिक चयन र मेन्डलको आनुवंशिकी सिद्धान्तको संश्लेषण २०औँ शताब्दीको मध्यतिर मात्रै जीव–वैज्ञानिकले एकसाथ खोज गरेका हुन् । त्यसपछि नै डार्विन र मेन्डलको सिद्धान्तको महत्व बढेर गएको हो ।
 

विकासवादी सिद्धान्त इतिहासदेखि नै खारिँदै आएको सिद्धान्त हो । २४०० वर्षपहिले प्लेटोले जीवन विकासलाई व्याख्या गर्न उदाहरणका लागि मानवऔँलाको नङलाई प्रयोग गरे । उनले हाम्रा औँलाहरूको छेउमा गुथिएको ‘तन्तु, छाला र हड्डी’, जसको मिश्रण सुक्खा हुनु नै एकल वस्तु अर्थात् कडा छालाको एक टुक्रा बन्नुको कारण ठाने । उतिवेलै ग्रिक दार्शनिक एरिस्टोटलले विभिन्न प्रजातिका जीवले एकै ढाँचा वा संरचनालाई साझा गरेको छ भन्ने धारणा अघि सारे । आजका जीव वैज्ञानिकहरू समान संरचनाको यो मान्यतालाई ‘सजातीयता’ भनेर परिभाषित गर्छन् भने विकासवादीहरू यसलाई साझा वंशको संकेतका रूपमा हेर्छन् । 

सन् १८०० सम्म मानिसले विकासवादलाई वास्तविक विज्ञानका रूपमा स्वीकार गरेका थिएनन् । यसलाई छद्म विज्ञानका रूपमा टिप्पणी गरिएका उदाहरण प्रशस्तै भेटिन्छन् । मूल विषय त त्यो वेलाका अधिकांश जीव वैज्ञानिकहरू धार्मिक आस्थाबाट अभिप्रेरित थिए । ईश्वरले नै विश्वलाई गतिमान बनाएको छ भन्ने अवधारणा त अहिले पनि चलिआएको छ । ‘विकासवाद’को पहिलो सिद्धान्त फ्रान्सेली प्रकृतिविद् चेभेलियर डे लेमार्कद्वारा प्रस्ताव गरिएको थियो । लेमार्कले– मानवलाई जीवनको उच्च तहमा राख्दै जीवित जीवहरूले प्रगतिलाई प्रतिनिधित्व गर्छन् भन्ने विकासवादी सिद्धान्त प्रस्ताव गरे, जुन सन् १८०९मा ‘जिओलोजिकल फिलोसोफी’मा प्रकाशित भएको थियो ।

समयको कुनै युगमा जीवहरू अत्यन्त सानो अवस्थाबाट उच्च स्वरूपमा विकसित हुन्छन् । विकासको एक प्रक्रिया अझै पनि चलिरहेको छ, र यो प्रक्रियामा सदैव मानव उच्च स्थानमा रहन्छ भन्ने नै लेमार्कको मूल सिद्धान्त हो । उनको अवधारणामा मानवका पूर्वज गँड्यौला वा अन्य ससाना जीव थिए, जुन क्रमशः उन्नत जीवका रूपमा परिवर्तन हुँदै अन्ततः मानवमा विकसित भए । विकासवादका विज्ञहरू भन्छन्– लेमार्कले पूर्ण विकसित विकासवादी सिद्धान्त प्रस्ताव गरे, जसले हाम्रो आफ्नै प्रजातिलाई जीवनको सानो आदिम रूपबाट माथि उठाएको तस्बिरलाई चित्रित गर्छ । ताप, विद्युत् र अन्य शक्तिको सहकार्यबाट हिलो र फोहोरबाट जीवनको सुरुवात भएको थियो भनेर व्याख्या गर्छ । 

लेमार्कका कतिपय विचार वैज्ञानिकभन्दा पनि आध्यात्मिक वा आत्मविषयक थिए । जीवनसँग, समयसँगै सुधार गर्ने जन्मजात प्रवृत्ति हुन्छ, र सधैँ सामान्यदेखि जटिल परिवर्तनका समान मार्ग अनुसरण गर्न सक्छ, जसका कारण अत्यन्तै सानोबाट उच्च जीवमा प्रगति निरन्तर देखापर्छ भन्ने मान्यता लेमार्कको थियो । यस्तै खाले विकासवादी सिद्धान्त अर्का फ्रान्सेली दार्शनिक हेनरी बर्गसनले पनि प्रतिपादन गरेका थिए । उनको विचार सन् १९०७ मा ‘क्रिएटिभ इभोलुसन’मा प्रकाशित भएको थियो । तर, लेमार्कको विकासवादी विचारलाई २०औँ शताब्दीका धेरै जीव वैज्ञानिकले अस्वीकृत गरेका छन् ।

वास्तवमा चार्ल्स डार्विनको ‘प्रजातिहरूको उत्पत्ति’ नामक पुस्तक प्रकाशित नहुन्जेलसम्म विकास र परिवर्तनका विचारलाई वैज्ञानिक ज्ञानको आधारभूत तत्व मानिएको थिएन । विश्वमा जीव–विकासको आधुनिक सिद्धान्तका संस्थापक पनि यिनै हुन् । ‘प्रजातिहरूको उत्पत्ति’का अतिरिक्त डार्विनले अन्य धेरै पुस्तक प्रकाशित गरेका छन् । चर्चायोग्य अर्को पुस्तक हो ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ यो सन् १८७१ मा प्रकाशित भएको थियो, जसले प्राकृतिक विकासको सिद्धान्तलाई मानव–विकासमा विस्तार गर्छ । लेखको सन्दर्भ फरक भएकाले मानवसँग गाँसिएको डार्विनको यो परिमार्जित सिद्धान्ततर्फ आहिले नलागौँ ।

डार्विनले के तर्क गरे भने, यस ग्रहका सबै जीव एकल र सीधा प्रक्रियाबाट देखापर्‍यो, जुन जीवनको सुरुदेखि नै निरन्तर सञ्चालित भयो र प्राकृतिक संसारलाई एउटा स्पष्ट आकार दियो । माइकल रुज र जोसेफ ट्राभिस नामका वैज्ञानिकद्वयले एक पुस्तकमा लेखेका छन– क्रमागत उन्नतिको सिद्धान्त यस संसारमा जीवनको इतिहासको मार्गलाई बुझाउन प्रयोग गरिने अत्यन्तै महत्वपूर्ण कडी हो । तर, १९औँ शताब्दीको उत्तरार्ध र २०औँ शताब्दीको सुरुतिर अंग्रेज दार्शनिक हर्बर्ट स्पेन्सरजस्ता विचारकले प्राकृतिक चयनबाट विकासको सिद्धान्तको उचित बुझाइ र स्वीकृतिलाई गलत ढंगले व्यख्या गर्दा केही समयसम्म विकासवादी सिद्धान्तको मूल मर्मलाई क्षति पुर्‍याएको उदाहरण पनि छ ।

वास्तवमा स्पेन्सर र उनका समकालीन अन्य विद्वान्ले ‘अस्तित्वका लागि संघर्ष’को धारणा मानव अर्थशास्त्र र सामाजिक जीवनमा सामाजिक डार्विनवाद भनेर चिनिने एउटा अपरिष्कृत र गलत विचारको विस्तार गरेका थिए । १९औँ शताब्दीको उत्तरार्धमा डार्विनवादले पुनः नव–लेमार्कवादको रूपमा आएको वैकल्पिक विकासवादी सिद्धान्तको सामना गर्नुपर्‍यो । यस परिकल्पनाले अंगको विकास र जैविक संरचनामा वातावरणले प्रत्यक्ष भूमिका खेल्छ भन्ने धारणा थप्यो । मुख्यतः यसले जीवको जीवन र वातावरणमा उनीहरूको अनुकूलनलाई वर्णन गर्छ । तर, विकासवादी सिद्धान्तका अनुयायीले प्राकृतिक चयनलाई वातावरणमा अनुकूलनका लागि व्याख्या गर्न नसकिने ठहर गरे ।

डार्विनको सिद्धान्तमा त्यो वेला केही महत्वपूर्ण जैविक समस्या थिए– यसमा कुनै दुई मत छैन । किनकि, उनीसँग आनुवंशिक क्षेत्रमा काम गर्ने सिद्धान्त वा आनुवंशिक परिवर्तनलाई पुष्टि गर्ने पर्याप्त आधार थिएन । सन् १९३० को आसपासमा, प्रख्यात गणित जीव–विज्ञानीहरू, जस्तै इंग्लैन्डका आर ए फिसर (१९३०) र जेबी एस हल्दाने (१९३२), अमेरिकीविज्ञ सेवल राइट (१९३१/१९३२)ले मेन्डलको खोजको स्पष्ट व्याख्या गरेपछि नै डार्विनको कामले वैज्ञानिक पूर्णता पायो । अर्थात् उत्परिवर्तनका साथ, प्राकृतिक चयन परिवर्तनका लागि महत्वपूर्ण शक्ति हुन सक्छ भन्ने तथ्यलाई प्रमाणित ग¥यो । डार्विनका सिद्धान्तलाई प्रमाणित गर्ने आधार ग्रेगर मेन्डलको आनुवंशिकी क्षेत्रमा गरिएका खोज पनि हुन् ।

मेन्डलको सिद्धान्त वंशानुगत गुणको प्राकृतिक चयनलाई स्पष्ट रूपमा बुझ्ने एउटा उपयुक्त संयन्त्र हो । मेन्डलको अनुसन्धान सन् १८६६ मा ब्रुनको नेचुरल साइन्स सोसाइटीको ‘प्रोसिडिङ्स’ मा प्रकाशित भएको थियो । दुवै वैज्ञानिक समकालीन हुन् । तर, आनौठो कुरा के हो भने मेन्डलको खोज न डार्विनलाई थाहा थियो न त डार्विनको खोज मेन्डललाई नै । मेन्डलको वंशानुगत सिद्धान्तलाई सन् १९००मा डच वनस्पतिविद् ह्युगो डे भ्राइज, जर्मन वैज्ञानिक कार्ल कोरेन्सलगायत धेरै वैज्ञानिकले पुनः प्रकाशमा ल्याएका थिए । 

डार्विनको प्राकृतिक चयन र मेन्डलको आनुवंशिकी सिद्धान्तको संश्लेषण २०औँ शताब्दीको मध्यतिर मात्रै जीववैज्ञानिकले एकसाथ खोज गरेका हुन् । गणित सिद्धान्तवादीको सूत्रलाई समर्थन गरेका जीवविज्ञानीहरूका अवलोकन र प्रयोगात्मक परिणाम उपलब्ध महत्वपूर्ण पुस्तक प्रकाशित भएपछि नै डार्विन र मेन्डलको सिद्धान्तको महत्व बढेर गएको हो । थियोडोसियस डोब्हान्स्कीलाई नै लिऊँ, उनी रूसी मूलका अमेरिकी प्रकृतिविद् हुन्, जसले सन् १९३७ मा सैद्धान्तिक तर्कलाई समर्थन गर्ने प्रयोगात्मक प्रमाणका साथ एउटा पुस्तक प्रकाशित गरे, जसमा आनुवंशिक हिसाबबाट विकासवादी प्रक्रियाको प्रमाण विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

आनुवंशिक विज्ञानको विकास र ‘प्रजातिको उत्पत्ति’ सिद्धान्तले प्रकृतिविद् र प्रयोगात्मक जीववैज्ञानिकमा ठूलो प्रभाव पारेको थियो, जसले जीव समूहमा हुने आनुवंशिक परिवर्तनका लागि विकासवादी प्रक्रियाको नयाँ बुझाइलाई द्रुत रूपमा अँगालेको पाइन्छ । यस क्षेत्रमा जर्मन मूलका अमेरिकी प्राणीविद् अन्स्र्ट मेयर, अंग्रेज जीववैज्ञानिक जुलियन हक्सली, अमेरिकी जीवास्मविद् जर्ज गेलार्ड सिम्पसन, अमेरिकी वनस्पतिविज्ञ जर्ज लेयार्ड स्टिबिन्सकालगायतले उल्लेख्य योगदान गरेका छन् । २०औँ शताब्दीको उत्तरार्धमा, जनसंख्या आनुवंशिकी र विकासवादी आनुवंशिकी विषय अत्यन्त सक्रिय वैज्ञानिक क्षेत्रका रूपमा अगाडि आए । सन् १९५३ मा जेम्स वाटसन र फ्रान्सिस क्रिकले डिएनएको आणविक संरचना पत्ता लगाएपछि त यो क्षेत्रले आणविक जीवविज्ञानलाई समेत समाहित गर्‍यो । 

निष्कर्षमा भन्नुपर्दा, सन् १७०० देखि १८५९ सम्मको पहिलो चरणको अवधिमा विकासवादी सिद्धान्त विचारधाराको प्रगति एक छद्म विज्ञानको रूपमा रहेको थियो । मानवले राम्रोका लागि परिवर्तन गर्न सक्छ भन्ने धारणा प्रचलित भए पनि वैज्ञानिक विचार शास्त्रीय मान्यताभन्दा पर थिएनन् । दोस्रो चरणमा चाल्र्स डार्विनको ‘प्रजातिहरूको उत्पत्ति’ पुस्तक प्रकाशनपछि भने यी सबै मान्यतामा आमूल परिवर्तन भयो । किनकि, डार्विनले सबैका लागि एकपटक विकासको व्यावहारिक सत्य स्थापित गरे । यद्यपि, उनको प्राकृतिक छनोटको ध्रुवसत्य मान्यता भने झन्डै एक शताब्दीसम्म निष्क्रिय रह्याे।

सन् १९३० को आसपास मेन्डलको आनुवांशिक सिद्धान्तसँगै विकासवादी सिद्धान्तको तेस्रो चरण सुरू भयो । जसले विकासवादी परिवर्तनको नयाँ व्यावसायिक विज्ञान निर्माण गर्न एउटा दरिलो आधार खडा गर्‍यो । त्यस्तै, डार्विनको पुस्तक प्रकाशनअघि र पछिको एउटा महत्वपूर्ण सांस्कृतिक परिवर्तनको पाटोलाई पनि हामीले बिर्सन मिल्दैन । जस्तै– निम्नवर्ग वा तल्लो जातको मानिस कालो र शीर्षमा गोरो रंगसँगको दौडको असमानता वस्तुहरूको प्राकृतिक क्रमका रूपमा वर्णन गरिएको थियो पश्चिमी जगत्बाट सन् १८५९ अघि ईश्वरीय सृष्टिको उत्पादनका रूपमा भने सन् १८५९ पछि क्रमागत उन्नति वा विकासको उत्पादनका रूपमा ।

(कट्टेल बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सहप्राध्यापक हुन्)