१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ माघ १ बिहीबार १६:२३:००
Read Time : > 2 मिनेट
फिचर

कोरोनाविरुद्वको भ्याक्सिन लगाउनै मान्दैनन् फ्रान्सेली, १७ दिनमा जम्मा सात हजारले लगाए भ्याक्सिन 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ माघ १ बिहीबार १६:२३:००

जिन डिबोची भ्याक्सिनविरोधी होइनन् । यी ८० वर्षीय वृद्ध प्रत्येक वर्षजस्तो विभिन्नखाले भ्याक्सिनको ‘डोज’ लिइरहेकै हुन्छन् । तर, यी पूर्व ‘ट्रकड्राइभर’ कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्धको भ्याक्सिन लगाउन भने मानिरहेका छैनन् । उमेर र अरू दृष्टिकोणबाट उनलाई भ्याक्सिन आवश्यक छ । फ्रान्सेली सरकारले तयार पारेको मापदण्डमा उनी कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गर्नेमा पहिलो प्राथमिकतामै पर्छन् । तर, उनी भ्याक्सिन लगाउने कुनै सम्भावना नरहेको बताउँछन् ।

‘यसभित्र के छ भन्ने कुरा हामीलाई थाहै छैन,’ राजधानी पेरिसका बासिन्दा डिबोची भन्छन् । फ्रान्सले गत २७ डिसेम्बरदेखि नै आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको हो । उसले जर्मन कम्पनी बायोन्टेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रूपमा निर्माण गरेको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ । फ्रान्सले भ्याक्सिनका लागि स्याहार केन्द्रमा बसेकाहरूलाई पहिलो प्राथमिकतामा राखेको छ । डिबोचीको आरोप छ, ‘यो त वृद्धवृद्धाहरूलाई औषधि परीक्षणका लागि प्रयोग गरेकोजस्तो देखियो ।’

फ्रान्समा कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा आशंका गर्ने उनी एक्ला होइनन् । ओडोक्सा पोलिङ ग्रुप र फिगारो न्युजपेपरले हालै गरेको एउटा सर्भेले ५८ प्रतिशत फ्रान्सेलीले कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनिच्छुक देखाएका छन् । यसको अर्थ आधाभन्दा धेरै फ्रान्सेली जनता कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन मानिरहेका छैनन् ।

यसअघि कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाउने सम्भावना बेलायती जनतामा ३३ प्रतिशत र अमेरिकी जनतामा ४१ प्रतिशत देखिएको थियो । यसको तुलनामा फ्रान्सको यो प्रतिशत निकै बढी हो । ‘धेरै मानिसले आफ्नो सरकार वा वैज्ञानिकले भनिरहेको कुरामा विश्वास गरिरहेका छैनन्,’ पेरिसस्थित जिन–जउर्स थिङ्क ट्याङ्कका अनुसन्धानकर्ता एन्टाइन ब्रिस्टिल्ली भन्छन् ।

उनको अनुसन्धानअनुसार फ्रान्समा तीन समूहका मान्छेले भ्याक्सिनमाथि आशंका गरिरहेका छन्, युवा, महिला र कट्टर दुई ध्रुवमा बाँडिएका दुई राजनीतिक दलका कार्यकर्ता । अनुसन्धानकर्ता ब्रिस्टिल्ली फ्रान्सेली जनतालाई आतंकित तुल्याएको सन् १९९० को दुई घटना सुनाउँछन् । त्यसमा हेपाटाइटिस बी भ्याक्सिन र सरकार नै संलग्न भएको रगतमा मिसावट भेटिएको काण्ड । 

यसकारण फ्रान्सेली भ्याक्सिनमाथि विश्वास गर्दैनन्
सन् १९९० को सुरुवातमै हेपाटाइटिस बीविरुद्ध मास भ्याक्सिनेसन गरिँदा सम्बन्धित व्यक्तिको अरू उपचार पनि गर्नुपरेको थियो । इतिहासमा कुनै पनि अनुसन्धानले यसरी उपचार गर्नुको औचित्य पुष्टि गर्न सकेन । त्यससँगै फ्रान्सेलीमा भ्याक्सिनप्रतिको धारणा बदलियो ।

सन् १९९१ मा फ्रान्सका सरकारी अधिकारीले एचआइभी संक्रमित व्यक्तिबाट लिएको रगत जानाजान कम्तीमा पनि १२ सय व्यक्तिलाई दिएका थिए । यसबाट सयौँको मृत्यु भएको थियो । सरकारी अधिकारीहरूले सुरुवातमा आफूहरूलाई यसबारे जानकारी नभएको दाबी गरेका थिए । पूर्वप्रधानमन्त्री लउरेन्ट फाबियससहित तीन मन्त्रीलाई यो विषयमा आरोप लगाइएको थियो । त्यसमध्ये एकजना दोषी पाइएको थियो । 

यससँगै सरकारप्रति सर्वसाधारणको विश्वास घट्दो अवस्थामा देखिएको छ । कम्तीमा फेरि यस्तै अवस्था आएको समय जनताले सरकारको कुरा पत्याउने गर्दैनन् । ब्रिस्टिल्ली भ्याक्सिनको सुरक्षा क्षमता र प्रभावकारिताबारे ठूला सञ्चारमाध्यमहरूले दिने गलत सूचना अहिलेसम्मकै ठूलो चुनौती भएको तर्क गर्छन् ।

‘यहाँ यस्तो धेरै विज्ञ देखिएका छन्, जो टेजिभिजनमा जान्छन् र गलत सूचना दिएर आउँछन्,’ ब्रिस्टिल्ली भन्छन्, ‘अचम्मको कुरो के हो भने उनीहरूले बोलिरहेको कुरा सत्य हुँदैन, त्यसमाथि उनीहरू राष्ट्रिय टेलिभिजनमा बोलिरहेका हुन्छन् । यसले गर्दा पनि भ्याक्सिनबारे सर्वसाधारणको धारणा परिवर्तन भएको छ ।’

निकै कमलाई भ्याक्सिन 
फ्रान्सेली सरकारले पाँच लाख ६० हजार डोज फाइजर भ्याक्सिन प्राप्त गरिसकेको छ । उसले आफूले प्रत्येक साता पाँच–पाँच लाख डोजका दरले थप भ्याक्सिन पाउने अपेक्षा पनि गरेको छ ।

मंगलबारसम्म फ्रान्समा सात हजार मानिसले मात्रै भ्याक्सिन लगाएका छन् । यो फ्रान्सको ०.०१ प्रतिशत जनसंख्या हो । सरकारले यही जनवरी ३१ सम्म १० लाख मानिसमा भ्याक्सिन लगाइने योजना सार्वजनिक गरेको छ । या लक्ष्य प्राप्त गर्न फ्रान्सलाई प्रत्येक दिन ३८ हजार एक सय ९२ जनालाई भ्याक्सिन लगाउन आवश्यक हुन्छ ।

भ्याक्सिनेसन एकै दिन सुरु गरेको जर्मनीले तीन लाख १७ हजार जनामा भ्याक्सिन लगाइसकेको छ । इटालीले एक लाख ८२ हजारभन्दा बढीमा लगाइसकेको छ । राष्ट्रपति इमान्युल माक्रोनले फ्रान्समा थोरै संख्याले मात्रै भ्याक्सिन लगाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

‘म बिहान, दिउँसो र साँझमा एउटा युद्धमा हुन्छु’, उनले भनेका छन्, ‘यसले काम गर्दैन । यो तुरुन्तै र प्रभावकारी तरिकाले परिवर्तन हुन जरुरी छ ।’