१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार १०:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोनाले बन्द भएका १० प्रतिशत व्यवसाय सञ्चालनमा आएनन् : १३ प्रतिशतको रोजगारी गुम्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार १०:३३:००

कोभिड–१९ महामारीका कारण बन्द भएका व्यवसायमध्ये करिब १० प्रतिशत सञ्चालनमा आउन सकेका छैनन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड–१९ का कारण चैतदेखि बन्द भएका व्यवसायहरू क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् ।

मंसिरसम्ममा करिब ५४ प्रतिशत व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् । त्यस्तै, ३७ प्रतिशत आंशिक रूपमा तथा ९ दशमलव शून्य ७ प्रतिशत बन्द नै रहेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले गत असारमा गरेको सर्वेक्षणमा ६ सय ७४ सहभागीमध्ये करिब ९० प्रतिशत अर्थात् ६ सय ४ उद्योगी–व्यवसायीहरूले पछिल्लो सर्वेक्षणमा समेत सहभागिता जनाएका छन् ।

गत असारमा भने ६१ प्रतिशत व्यवसाय सञ्चालनमा आउन सकेका थिएनन् भने करिब ३५ प्रतिशत आंशिक र ४ प्रतिशत मात्र पूर्ण सञ्चालनमा थिए । ‘यत्रो ६–७ महिनाको अवधिपछि पनि हाम्रा व्यवसायहरू छिट्टै सामान्य अवस्थामा फर्किन सकेको देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘यो हाम्रो अर्थतन्त्रको सबल पक्ष रहेको देखिन्छ ।’

विद्युत्, ग्यास, पानीअन्तर्गतका करिब ६७ प्रतिशत, थोक तथा खुद्रा व्यापार ६५ प्रतिशत, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका करिब ६४ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । खानी, विद्युत्, ग्यास, शिक्षा, होटेल, रेस्टुरेन्ट र रियल इस्टेटलगायतका व्यवसायहरू भने अझै पनि धेरै सञ्चालनमा आउन सकेका छैनन् ।

कोरोना देखिनुअघिको तुलनामा अहिले व्यवसायहरूले मात्रै ५० दशमलव ५१ प्रतिशत उत्पादन तथा कारोबार गर्न सकेका छन् । विद्युत्, ग्यास, पानी, कृषि, वन तथा मत्स्यपालन, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापारहरूको उत्पादन तथा कारोबारले भने पुरानै लय समात्न थालेको छ ।

चैतअघिको तुलनामा यी क्षेत्रहरूको उत्पादन तथा व्यापार क्रमशः ९२, ७१, ६२ र ५७ प्रतिशतबराबर हुन थालेको छ । होटेल तथा रेस्टुरेन्टको व्यापार भने अझै १८ प्रतिशतबराबर मात्रै छ । मंसिरसम्म पनि व्यवसायहरूले चैतअघिको तुलनामा मात्रै ७० प्रतिशत तलब खर्च गर्न सकेका छन् । यद्यपि, अझै करिब १३ प्रतिशत मानिसहरू पूर्ववत् रूपमा रोजगारीमा फर्किन सकेका छैनन् । कुल ८७ दशमलव ८१ प्रतिशत मानिसहरू आफ्ना काममा फर्किन पाएका छन् । 

व्यवसायीहरूमा धेरैले ब्याजदर सहुलियत पाएको बताएका छन् भने त्यसपछि कर्जा पुनर्तालिकीकरण सुविधा पाउने, सहुलियत कर्जा र पुनर्कर्जा पाउने रहेका छन् । तर, उद्योग–व्यवसाय आंशिक वा पूर्ण रूपमा सञ्चालनमा आउने दरमा वृद्धि भए पनि माग घटेकाले कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न र थप कर्जा प्राप्त गर्न कठिनाइ भएको व्यवसायीहरूले सर्वेक्षणमा बताएका छन् । व्यवसायको पुँजी तथा तरलता व्यवस्थापनमा समेत समस्या, बैंकबाट असहयोग भएको जस्ता गुनासा उनीहरूले गरेका छन् ।