मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी वासिङ्टन
२०७७ पौष २८ मंगलबार १४:५३:००
Read Time : > 2 मिनेट
फिचर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग प्रस्ताव पेस

बाइडेनको शपथग्रहणअघि नै ट्रम्पलाई हटाउने तयारी

Read Time : > 2 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ पौष २८ मंगलबार १४:५३:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रोपटक महाअभियोग प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा एउटै राष्ट्रपतिमाथि दुईपटकसम्म महाअभियोग लागेको यो पहिलोपटक हो । 

डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रिपे्रजेन्टेटिभ्समा सोमबार बिहान राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता गरेको द गार्डियनले जनाएको छ । ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणामलाई आधिकारिक दिन ७ जनवरीमा क्यापिटल हिलमा बसेको बैठकमा ट्रम्पसमर्थकले आक्रमण गरेका थिए । ‘भोट चोरी गरेको’ आरोप लगाउँदै ट्रम्पसमर्थकले बैठक बसिरहेका ठाउँमा तोडफोड गरेका थिए । 

बाइडेनको शपथग्रहणअघि नै ट्रम्प हटाउने कोसिस
डेमोक्रेटिकद्वारा प्रस्ताव महाअभियोग पत्रमा ट्रम्पसमर्थकका कार्यशैलीलाई ‘विद्रोहको उत्तेजित’ भनिएको छ भने ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद् क्यापिटल हिलमा भएको आक्रमण ट्रम्पकै उक्साहटमा भएको पत्रमा उल्लेख छ । यसैगरी महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जोर्जियाका अधिकारीहरूलाई दबाब दिएको पनि पत्रमा उल्लेख छ । 

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथग्रहण गर्दै छन् । सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई बाइडेनको शपथअघि नै हटाउन कोसिस गरिरहेकी छिन् । महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुईतिहाइ बहुमत चाहिन्छ । 

डेमोक्रेटिकका उम्मेदवार जो बाइडेन ४६औँ अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको दाबी गर्दै आइरहेका छन् । ट्रम्पले निर्वाचनको दिनदेखि नै यस्तो टिप्पणी दिइरहेका छन् । 

पेलोसीलगायत बाइडेनआबद्ध पार्टीका कैयौँ नेता ट्रम्पलाई २० जनवरीअघि नै ह्वाइटहाउसबाट निकाल्ने प्रयासमा रहेको एजेन्सीहरूले जनाएका छन् । ट्रम्पलाई पूरा कार्यकाल नदिन पेलोसीले महाभियोगको बाटो अपनाएको बताइन्छ ।
 
सुरक्षा व्यवस्थामा कडाइ
महाअभियोग दर्ता भएपछि अमेरिकाको विभिन्न राज्यमा ट्रम्पसमर्थकले पु्नः हिंसात्मक कार्य गर्ने अनुमान गरिएको छ । यसैकारण सुरक्षा अधिकारीहरूले ह्वाइटहाउस, क्यापिल हिललगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको द गार्डियनले उल्लेख गरेको छ । बाइडेनको शपथग्रहणका वेला सहरमा शान्ति कायम गराउन राष्ट्रिय सुरक्षा गार्डका ब्युरो प्रमुख ड्यानियल होकान्सनकै नेतृत्वमा १५ हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ । यसलाई रक्षा विभागले पनि स्वीकृति दिएको एजेन्सीहरूले जनाएका छन् । आउने शनिबारसम्म वासिङ्टनडिसीमा लगभग दश हजार सैनिक तैनाथ गरिने भएको छ । 

हाउस अफ हाउस अफ रिपे्रजेन्टेटिभ्सकी अध्यक्ष पेलोसीले आइतबार दिएको एक अन्तर्वार्तामा ट्रम्पलाई खतरनाक अमेरिकी राष्ट्रपतिको संज्ञा दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘वर्तमान राष्ट्रपति अपरिवर्तनशील, एक विलम्बित व्यक्ति र खतरनाक हुन् ।’ महाअभियोगको प्रारम्भिक प्रस्तावमा अमेरिकी संविधानको २५औँ संशोधनअनुरूप उपराष्ट्रपति माइक पेन्सलाई ट्रम्प हटाउने समर्थन गर्न आह्वान गरेको छ । अमेरिकी संविधानको धारा २५ प्रयोग गर्दैै उपराष्ट्रपति पेन्स र मन्त्रिमण्डलका सदस्यहरूलाई ट्रम्पलाई हटाउन माग डेमोक्रेटिक पार्टीले राखेको छ । यस धारामा राष्ट्रपति जिम्मेवारी पूरा गर्न अक्षम भए वा सबै शक्ति उपराष्ट्रपतिमा स्थानान्तरण हुने व्यवस्था गरिएको छ । तर, यो धारालाई रिपब्लिकन सांसदहरूले अस्वीकार गरिरहेका छन् । 

उपराष्ट्रपति पेन्स चुपचाप
ट्रम्पमाथि महाअभियोग दर्ता भए पनि अहिलेसम्म उपराष्ट्रपति पेन्सले केही पनि प्रतिक्रिया दिएका छैनन् । यसैगरी संविधानको १४औँ संशोधन बुँदामा अमेरिकाको कुनै पनि उच्च पदमा आसीन व्यक्तिको अधीनमा अमेरिका रहन नसक्ने उल्लेख छ । यदि यस्तो कार्य भएमा यसलाई कुनै पनि विद्रोही वा विद्रोह गर्ने व्यक्तिमाथि कारबाही गर्न सकिने भनिएको छ । पछिल्लोपटकको महाअभियोगको नतिजा बाहिर आउन समय लागेको थियो । यसपटक ट्रम्पमाथिको महाअभियोग साबित गर्न थोरै समय मात्र छ । 

सन् २०१९ मा ट्रम्पमाथि २५औँ संशोधनअन्तर्गत दुई आर्टिकलअनुसार महाभियोग लगाइएको थियो । त्यसवेला ५२–४७ प्रतिशतले ट्रम्पलाई दोषम्ुक्त भनी मतदान गरेका थिए । त्यसवेला रिपब्लिकनबाटै एक नेताले ट्रम्पले शक्तिको दुरुपयोग गरेको भनी मतदान गरेका थिए ।