१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लाङटाङ राष्ट्रिय निकुञ्ज  क्षेत्रमा बालुवा तस्करी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२४:oo

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बालुवा तस्करी बढेको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने कालिका गाउँपालिका १ बान्द्रेस्थित त्रिशूली खोला बगरबाट तस्करी बढेको निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तेम्पानुर्पु तामाङले जानकारी दिए । तीन वर्षअघि जिल्ला समन्वय समिति रसुवाबाट वातावरण प्रभाव मूल्यांकन (इआइए) गरिएको र हालसम्म पनि त्यसैलाई आधार मानी बालुवा उत्खनन गरी तस्करी गरिरहेको पाइएको उनको भनाइ छ । 

यसअघि निकुञ्ज क्षेत्रभित्र पर्ने निजी जग्गा उत्खनन गर्ने गरी जिल्ला समन्वय समितिबाट इआइए पास गरिएको थियो । तर, उत्खननका लागि प्राप्त अनुमतिभन्दा बढी उत्खनन गरी तस्कर गरिएको पाइएको छ । पछिल्लो समय खोलाको धार नै परिवर्तन गराई वनक्षेत्र र निजी क्षेत्रको जग्गा देखाई तस्करी गर्ने क्रम बढेको तामाङले बताए । स्थानीयले आफ्नो जग्गाभित्र रहेको बालुवा उत्खननका लागि लिएको इआइएको समय अवधि सकिएपछि अन्य क्षेत्रबाट बालुवा ढुंगा निकाल्ने गरेको पाइएको उनले जानकारी दिए । 

खोलाको धार परिवर्तन गरी बालुवा उत्खनन

निकुञ्जको क्षेत्रभित्र रहेको निजी जग्गाबाट बालुवा उत्खनन गर्न पाउने गरी निकुञ्जले पाँच सय घनमिटर क्षेत्रफल तोकेर इजाजत दिएको थियोे । तर, अहिले खोलाको धार नै परिवर्तन गरी निकुञ्ज क्षेत्रको कुनामा खोला पुर्‍याइएको र बालुवा झिक्ने गरिएको छ । व्यवस्थापन समितिका अध्यक्ष तामाङका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खोलामा तस्करहरूले एक्साभेटर प्रयोग गरी अवैध बालुवा उत्खनन गरिरहेका छन् । त्यहाँबाट दैनिक ५० देखि ६० वटा टिपरमा बालुवा लग्ने काम भइरहेको तामाङले जानकारी दिए । यसबारे जानकारी हुँदासमेत लाङटाङ राष्ट्रिय निकुञ्ज मौन रहेको उनको आरोप छ । लाङटाङ राष्ट्रिय निकुञ्जबाट त्रिशूली खोलामा बालुवा उत्खननका लागि एक क्षेत्रमा वार्षिक पाँच सय घनमिटरका लागि राजस्व तिरेर बालुवा उत्खनन गर्ने अनुमति निकुञ्जले दिने गरेको छ । 

अनुमतिभन्दा चार गुणा बढी उत्खनन
निकुञ्जका कतिपय क्षेत्रमा इजाजतभन्दा चार गुणाबढी ढुंगा उत्खनन भइरहेको छ । लिइएको अनुमतिभन्दा चौबर ढुंगा उत्खनन गरी बाहिरी जिल्लामा लगेर बिक्री गर्ने गरिएको तामाङले बताए । नौकुण्ड मध्यवर्र्ती उपभोक्ता समिति धुन्चेले आयोजना गरेको संरक्षणसम्बन्धी समन्वय बैठकमा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष तामाङले निकुञ्जलाई सबै जानकारी दिँदासमेत मौन रहेको बताए । सीमा रेखांकन गर्दा खोला तथा खोल्साको सिमाङ्कनबाट निर्धारण गरिएको प्रचलनले तत्काल हिउँदको समयमा खोलाको बहाब कम हुने हुँदा त्रिशूली नदीलाई निकुञ्जको सिमानामा पुर्‍याई बाँकी बगर तथा बालुवा निकाल्ने क्षेत्र वनक्षेत्र देखाउँदै तस्करहरूले बालुवा र ढुंगा तस्करी गरेको पाइएको हो । 

निकुञ्ज प्रमुख भन्छिन् तस्करीबारे थाहा छैन
त्रिशूली थ्रिए जलविद्युत् आयोजनामा त्रिशूली नदीको पानी पूर्ण रूपमा प्रयोग भएपछि अहिले सो क्षेत्रमा खोलाको बहाब कम भएको छ । हिउँदको समयमा पानीको बहाब कम हुने हुँदा खोलालाई निकुञ्ज क्षेत्रतर्फ धकेली वनक्षेत्रबाट बालुवा तस्करी हुने गरेको छ । निकुञ्ज क्षेत्रभित्र रहेको सोही स्थानको निजी जग्गा १२ देखि १६ जना व्यक्तिको रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । उनले बालुवा र ढुंगाको तस्करी भइरहेकोबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । तर, उनले निकुञ्जले दिएको अनुमतिअनुसार बालुवा उत्खनन भए नभएकोबारे अनुगमन गर्न कर्मचारी खटाइएको जानकारी दिइन् ।

ad
ad