मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ पौष १३ सोमबार १२:४२:००
Read Time : > 1 मिनेट
विश्व

ट्रम्पद्वारा नौ खर्ब डलरको राहत प्याकेज विधेयकमा हस्ताक्षर

Read Time : > 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ पौष १३ सोमबार १२:४२:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौ खर्ब डलरको राहत प्याकेजसम्बन्धी एक विधेयकमा आइतबार हस्ताक्षर गरेका छन् । एक साताअघि नै संसद्ले विधेयक पारित गरे पनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाइ गरेका हुन् । 

रिपब्लिकन र डेमोक्रेट दुवै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुवै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए । कोभिड– १९ संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायीलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि झन्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो ।

पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरू बन्द हुने खतरा तत्कालका लागि टरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौँ अमेरिकी संघीय कार्यालयहरू बन्द हुने थिए ।

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहेका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुनः काममा फर्कन, खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत गर्नेछ ।’

अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनले समेत दुवै सदनद्वारा पारित आमसहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । 

त्यस्तै रिपब्लिकन सिनेटर मिट रम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा निकै खुसी भएको बताएका छन् । ट्विट गर्दै सिनेटर रम्नीले विधेयक स्वीकृत भएसँगै अमेरिकी श्रमिक, परिवार र साना व्यवसायीले निकै राहत महसुस गर्ने बताए । यसअघि आइतबार उनले राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिएका थिए । 

राष्ट्रपति ट्रम्पले विधेयक स्वीकृत गर्ने क्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६ सय अमेरिकी डलरको साटो १८ सय डलर दिनुपर्ने पूर्वअडान यथावत् रहेको दोहोऱ्याका थिए । उनले असम्बन्धित कार्यक्रममा राहत प्याकेजको रकम खर्च हुन लागेको जिकिर पनि गरेका थिए ।