१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी
२०७७ पौष ५ आइतबार १५:४३:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिकी संसदमा आर्थिक राहत प्याकेजमा सहमति 

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ पौष ५ आइतबार १५:४३:००

अमेरिकी सांसदहरूले केन्द्रीय बैंकलाई कोरोना प्रभावित आर्थिक प्याकेज जारी गर्न सहमति जनाएका छन् । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार शनिबार सांसदहरूबीच सहमति भएको हो । 

कोरोना प्रभावति लाखौँ अमेरिकीलाई करिब नौ खर्ब डलरको राहत प्याकेज उपलब्ध गराउन यो सहमतिले मार्गप्रशस्त गर्नेछ । सहमतिले कंग्रेसको स्वीकृतिबेगर नै आपतकालीन ऋण कार्यक्रमका लागि कोष स्थापना गर्न केन्द्रीय बैंक (फेडरल रिजर्भ्स) लाई अनुमति दिनेछ । तर, यस्तै अन्य कार्यक्रम सञ्चालनका लागि संसद्को अनुमोदन आवश्यक पर्नेछ । 

रिपब्लिकन सांसदहरूले भने व्यवसाय र अन्य संस्थालाई ऋण उपलब्ध गराउने सन्दर्भमा केन्द्रीय बैंकको अधिकारलाई सीमित गर्ने प्रयास गरेका थिए । जब कि डेमोक्रेट सांसदहरूले विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्र रहेको अमेरिकामा केन्द्रीय बैंकको भूमिकालाई बढी नियन्त्रण गर्दा वित्तीय संकट निम्तिन सक्ने तर्क प्रस्तुत गरेका थिए । 

यो गतिरोधले सरकार नै अस्थायी रूपमा बन्द हुने अवस्था सिर्जना भएको थियो । यस्तो परिस्थिति विगतमा पनि नआएको भने होइन, तर संकट झेलिरहेको अर्थतन्त्र र कोभिड– १९ बाट मानिसको दैनिक मृत्युदर बढेको अवस्थामा गतिरोध बढाउनु ठीक नरहेको सांसदहरूको निचोड थियो । जर्नलका अनुसार सिनेटमा अल्पमतका नेता चक सुमरले तल्लो सदन र सिनेटले नयाँ सम्झौतामा आइतबार मतदान गर्न सक्ने बताए ।  

सिनेटमा बहुमत पक्षका नेता मिच म्याकोनेलले संकटको सामना गरिरहेका अमेरिकी परिवार, मजदुर र व्यवसायलाई आवश्यक पर्ने राहत उपलब्ध गराउन ढिलाइ गर्न नहुने धारणा रहेको बताए । 

सम्झौतामा सहमति भएको समाचार बाहिरिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै कंग्रेसले राहत प्याकेजसम्बन्धी प्रस्तावलाई किन समर्थन गरिरहेको छैन भन्दै प्रश्न गरेका थिए । उनले भनेका छन्, ‘कोभिड– १९ प्रभावितलाई सोझै भुक्तानी गरौँ ।’

कोभिड– १९ का कारण हाल संघर्षरत परिवार, व्यवसाय र बेरोजगारलाई सहयोग गर्ने प्रस्ताव अमेरिकी अर्थव्यवस्थालाई फेरि आफ्नो खुट्टामा उभ्याउन महत्वपूर्ण देखिएको छ । हाल प्रयोगमा ल्याइएका खोपले अमेरिकी जनजीवनमा नयाँ आशाको सञ्चार गरिरहेको अवस्थामा पनि राहत प्याकेजको महत्व विशेष हुनेछ ।

प्याकेजमा खोप वितरण र अन्य सामग्रीका लागि पनि रकम उपलब्ध हुने अनुमान गरिएको छ । साथै प्रतिसाता बेरोजगारका लागि थप तीन सय डलर र नयाँ प्रोत्साहन ६ सय डलर हुनेछ । यो रकम गत मार्चमा वितरण गरिएकोभन्दा झन्डै आधा हो ।  

अमेरिकी संघीय कार्यालय बन्द हुनै लाग्दा हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३२०–६० ले संघीय निकायहरूलाई खर्च उपलब्ध गराउने गरी गत शुक्रबार बजेट पारित गरेको थियो ।