मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ३० मंगलबार १५:२३:००
Read Time : > 3 मिनेट
फिचर

इलेक्टोरल कलेज भोटिङमा पनि बाइडेनकै जित, ट्रम्पले अझै हार स्विकारेनन् 

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ३० मंगलबार १५:२३:००

डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकी राष्ट्रपति बन्ने पक्का भएको छ । सोमबार सम्पन्न इलेक्टोरल कलेज भोटिङमा पनि सर्वाधिक तीन सय ६ मत प्राप्त गरेसँगै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपति बन्ने पक्का भएको हो । 

यसअघि ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएका थिए । इलेक्टोरल भोटिङमा भने राष्ट्रपति ट्रम्पले दुई सय ३२ मत मात्रै प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन दुई सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । अब बाइडेन राष्ट्रपति पदमा निर्वाचत भएको घोषणा ६ जनवरीमा हुनेछ । 

के हो इलेक्टोरल भोटिङ ?
अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारलाई सुरुमा आमनागरिकले मतदान गर्छन् । मतदाताहरूले आ–आफ्नो क्षेत्रबाट इलेक्टोरल सदस्य चयन गर्छन् । त्यसपछि इलेक्टोरल मतदान गर्न पाउने व्यक्तिले राष्ट्रपति छान्न आफ्नो मत प्रयोग गर्नेछ । 

सोमबार अमेरिकी राष्ट्रपति छान्न ५० राज्यका सबै इलेक्टोरल मतदाता राजधानीमा जम्मा भएको एजेन्सीहरूले जनाएका छन् । जुन उम्मेदवारले दुई सय ७० इलेक्टोरल मत प्राप्त गर्छन् जित उसैको हुन्छ । ६ जनवरीको दिउँसो २ बजे अमेरिकी संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ । त्यसमा इलेक्टोरल मतदानमा कसले कति मत पाएको भनी घोषणा हुन्छ । 

ट्रम्प बाइडेनको शपथमा नआउने
निर्वाचन तथा इलेक्टोरल मतदानमा समेत पराजित भएपछि राष्ट्रपति ट्रम्प बाइडेनको शपथग्रहण कार्यक्रममा नआउने भएका छन् । परम्पराअनुसार २० जनवरीमा वर्तमान राष्ट्रपतिले निर्वाचित राष्ट्रपतिलाई बधाई दिने चलन छ । साथै पद हस्तान्तरण गर्दै राष्ट्रपतिलाई चार वर्ष कार्यकालको शुभकामना दिने गर्छन् । निर्वाचनमा नराम्रोसँग पराजित भएपछि ट्रम्पले बाइडेनको जित स्वीकार कहिले पनि नगर्ने बताएका छन् । ह्वाइटहाउसका स्टिफन मिलरले २० जनवरीमा हुने शपथग्रहण कार्यक्रममा ट्रम्पको उपस्थिति नहुने स्पष्ट पारेका छन् । ‘बाइडेनको शपथग्रहण कार्यक्रममा ट्रम्प उपस्थिति हुनेछैन,’ मिलरले भने ।

लोकतन्त्रको जित : बाइडेन
इलेक्टोरल मतदानमा समेत सर्वाधिक मत पाएका बाइडेनले लोकतन्त्रको जित भएको बताएका छन् । ‘यो मेरो जित होइन, यो लोकतन्त्रको जित हो,’ बाइडेनले ट्विट गरेका छन्, ‘म सबै मतदातालाई धन्यवाद दिन चाहन्छु, हामी एकसाथ रहेसम्म अमेरिकालाई कसैले पनि केही गर्न सक्दैन, यो चार वर्ष सबै एकजुट भएर काम ग¥यौँ भने राम्रो विकास र समृद्धि सबैले देख्न पाउनेछन् ।’ बाइडेनले आफू हरेक अमेरिकी नागरिकको राष्ट्रपति भएको बताएका छन् । ‘म यो बताउन चाहन्छु कि म प्रत्येक अमेरिकनको राष्ट्रपति हुँ,’ उनले भने, ‘यो राष्ट्रमा धेरै पहिला नै लोकतन्त्र जलाइसकेको थियो, सबै मिलेर यसको रक्षा गर्नुपर्छ ।’

ट्रम्पले अझै हार स्विकारेनन् 
अमेरिकी मिडियाहरूका अनुसार ट्रम्पको अन्तिम आशा नै इलेक्टोरल मतदान थियो । सोचेको जस्तो नतिजा नआए पनि ट्रम्पले अझै हार स्वीकार गर्न नसकेको अमेरिकी एजेन्सीहरूको दाबी छ ।

यद्यपि, नोभेम्बरमा सम्पन्न निर्वाचनकै दिन नतिजा आउँदा पनि ट्रम्पले व्यापक धाँधली भएको आरोप लगाएका थिए । कतिपय राज्यमा ट्रम्पले अदालतको सहायता लिएर पुनः मतगणनाको अपिलसमेत गरे । सर्वोच्च अदालतले ट्रम्पका सबै अपिल अस्वीकार गरेको थियो । गत साता ट्रम्पले इलेक्टोरल कलेज मतदानपछि बाइडेनलाई बधाई दिने वा नदिने बताएका थिए । ‘म इलेक्टोरल नतिजापछि मात्र बाइडेनको बारेमा बोल्ने छु,’ गत साता एक कार्यक्रममा ट्रम्पले भनेका थिए । सोमबारको नतिजापछि ट्रम्पले बाइडेनलाई सामान्य रूपमा बधाई दिए पनि हार अझै आफूलाई स्वीकार्य नभएको जनाएका छन् । तर, अबको चार वर्ष बाइडेन नै अमेरिकी राष्ट्रपतिका रूपमा रहने ट्रम्पले बताए । ‘अबको चार वर्ष बाइडेन नै राष्ट्रपति हुनेछन्,’ उनले भने । 

इलेक्टर्स को हुन्छन् ?
हरेक पार्टीले राष्ट्रपति पदका लागि उम्मेदवार पहिले नै घोषणा गर्छन् । साथै इलेक्टोरल मतदानमा मतदान कसले गर्ने भनी पहिलो नै इलेक्टर्स घोषणा भइसकेको हुन्छ । जुन पार्टी पपुलर भोटका साथ विजयी हुन्छ, उसैले नै हरेक राज्यमा इलेक्टर्स नियुक्त गर्छ । इलेक्टोरल भोटिङ राज्यको जनसंख्याको आधारमा निर्धारित हुन्छ । ३ नोभेम्बरको मतदानमा बाइडेनले सर्वाधिक आठ करोड मत प्राप्त गरेका थिए । यसैगरी सबैभन्दा बढी इलेक्टोरल क्षेत्र भएको क्यालिफोर्नियामा बाइडेनले ५५ मत हासिल गरेका छन् । 

इलेक्टोरल क्षेत्रअनुसार मिसिगन तथा जोर्जियामा सुरक्षा बढाइएको थियो । यी दुवै राज्यको मतदान वासिङ्टनमा भएको बिबिसीले जनाएको छ । मिसिगनमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान थियो । यस क्षेत्रमा बाइडेनले ट्रम्पलाई सहजै हराए । यसपटक पनि रिपब्लिकन पार्टीका केही समर्थकले इलेक्टोरल मतदान बिथोल्ने प्रयास नगरेका होइनन् । तर, सुरक्षाकर्मीले उनीहरूलाई बाहिर पठाएका थिए । 

को हुन् बाइडेन ?
नयाँ अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रशासनिक क्षेत्रमा राम्रो अनुभव छ । बाराक ओबामा दुवैपटक राष्ट्रपतिमा चुनिँदा बाइडेनले नै उपराष्ट्रपति पद सम्हालेका थिए । ७७ वर्षीय बाइडेनले यसअघि राष्ट्रपति पदका लागि दुईपटक उम्मेदवारी घोषणा गरेका थिए । सन् १९८८ र २००८ मा उनले डेमोक्रेटिकबाट राष्ट्रपति पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । त्यसवेला उनको इच्छा पूरा भएन । डेमोक्रेटिकले बाइडेनको स्थानमा ओबामालाई पहिलो प्राथमिकतामा राखेको थियो । 

दुईपटक उपराष्ट्रपतिको पद सम्हालेका तथा राजनीतिमा लामो समय बिताएका कारण बाइडेनसँग विदेशी कूटनीतिक ज्ञान ट्रम्पको भन्दा राम्रो मानिन्छ । विदेश नीतिमा दख्खल भएका कारण ओबामाले उनलाई उपराष्ट्रपति पदमा पहिलो रोजाइमा राखेका थिए । ओबामाले हरेकपटक विदेशी नीतिबारे आफ्नो भाषणमा बाइडेनको प्रशंसा गर्थे । ‘अमेरिकाले अहिलेसम्म उत्कृष्ट उपराष्ट्रपतिका रूपमा बाइडेन पाएको छ,’ ओबामा भन्थे । सन् १९७२ मा बाइडेन पहिलोपटक सिनेटर भएका थिए । त्यसवेला उनको उमेर ३० वर्ष मात्रै थियो । 
बाइडेन वेलावेलामा विवादमा पनि आउने गर्छन् । सन् १९९१ मा खाडी युद्धका विपक्षमा उनले मतदान गरेका थिए । तर, २००३ मा अमेरिकाले इराकमाथि हमला गर्दा भने उनले पक्षमा मतदान गरे । बाइडेनको यस कार्यमा सर्वत्र विरोध भएको थियो । किनभने बाइडेन अनावश्यक रूपमा लडाइँमा खर्च गर्न मन पराउँदैनन् । 

–एजेन्सीहरूको सहयोगमा