१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ३० मंगलबार ०८:३७:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

मानव विकास सूचकमा प्रगति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ३० मंगलबार ०८:३७:००

नेपालले मानव विकास प्रतिवेदन २०२० सार्वजनिक गरेको छ । यसअनुसार नेपालको मानव विकास सूचक ०.५८७ पुगेको छ । सबैभन्दा कमजोरलाई शून्य र पूर्ण विकासको अवस्था भएकालाई १ अंकको भार दिएर मापन गरिने मानव विकास सूचकांकमा ०.५८७ ले मध्यमस्तरको मानव विकासको अवस्था देखाउँछ । यो सूचक गत वर्षको तुलनामा ०.०८ ले बढी हो । यसरी हेर्दा नेपालले गत वर्ष मानव विकासको अवस्थामा सुधार गरेको मान्नुपर्छ । यस्तो सूचकका लागि औसत आयु, प्रतिव्यक्ति राष्ट्रिय आय र शिक्षाको स्तरलाई मापनको आधार बनाइएको हुन्छ । सूचकमा उन्नतिको अर्थ नेपालले प्रतिव्यक्ति आय, स्वास्थ्य अवस्थामा र शिक्षाको क्षेत्रमा बिस्तारै प्रगति गरिरहेको छ भन्ने हो । 

कोभिडको प्रभाव देखिनुअघिका सूचकमा आधारित रहेर बनाइएको यो सूचकले कोभिडका कारण आय र अरू अवसरमा परिवारले व्यहोर्नुपरेको क्षतिको अवस्था मूल्यांकन गर्दैन । साथै यो वर्ष त्यो क्षतिले विकास सूचकलाई कति पछि फर्र्काउँछ भन्ने पनि देखाउँदैन । नेपाल अल्पविकसित देशबाट पास भएर विकासोन्मुख देशमा उक्लिने तयारीमा रहेको समयमा आएको यो सूचकले आशा र चुनौती दुवैतर्फ संकेत गर्छ । नेपालले विकासोन्मुख देशमा फड्को मार्दा खासगरी दाता समूहको ऋण र विश्व बजारमा पाइरहेका कतिपय सुविधा कटौती हुन सक्ने र त्यसले नेपाललाई खाँचो पर्ने स्रोत र प्रतिस्पर्धी क्षमताको विकासका सन्दर्भमा चुनौती खडा गर्न सक्छ । 

नेपाल विश्वका १८९ देशहरूमध्ये १४७औँ नम्बरमा पर्छ, मानव विकास सूचकका दृष्टिले । यो दक्षिण एसियाका अरू पाँच देशभन्दा तलको स्थान हो । त्यसैले सूचकमा आएको वृद्धिले आशावाद बढाए पनि भर पर्न सकिने ठाउँ अझै बनिसकेको छैन ।

यता नेपालको यो सूचकका आन्तरिक र बाह्य अवस्थासँगको तुलनाका सन्दर्भमा भने त्यति आशालाग्दो चित्र देखिँदैन । आन्तरिक रूपमा नेपालको मानव विकासको अवस्था असमान रहेको देखिन्छ । कर्णाली प्रदेश र प्रदेश नम्बर २ को सूचकको अवस्था राष्ट्रिय औसतभन्दा निकै कम छ । सम्पत्ति र स्रोत तथा सुविधाहरू बागमती प्रदेशमा बढी केन्द्रित भएको यसले देखाउँछ । आगामी वर्षमा बजेट बनाउँदा यो तथ्यप्रति ध्यान पुग्नु जरुरी छ । गाउँ र सहर तथा हिमाल, पहाड र तराईका सूचकमा देखिने असमानता पनि उत्तिकै चिन्ताजनक छ । उता बाह्य जगत्सँग तुलना गर्दा भने नेपालको अवस्था सन्तोषजनक पटक्कै छैन । नेपाल विश्वका १८९ देशहरूमध्ये १४७औं नम्बरमा पर्छ, मानव विकास सूचकका दृष्टिले । यो दक्षिण एसियाका अरू पाँच देशभन्दा तलको स्थान हो । यसबीचमा नेपालले कुल गार्हस्थ उत्पादनमा वृद्धि अर्थात् आयमा वृद्धिका दृष्टिले गरेको प्रदर्शन सकारात्मक रहे पनि त्यो दिगो र भरपर्दो ढंगले सुधार भएको छैन । शिक्षा र औसत आयुका क्षेत्रमा भएको प्रगतिले राष्ट्रिय आयको वृद्धिमा पार्नुपर्ने सकारात्मक प्रभाव अझै देखिएको छैन । 

त्यसैले नेपालले आन्तरिक स्रोतमा आधारित औद्योगिकीकरण, रोजगारीका अवसरको सिर्जना र नवप्रवर्तनमा आधारित व्यवसायको विकासमा तत्काल ध्यान दिनु जरुरी छ । पूर्वाधारका क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी बजेट भएरै पनि पूरा क्षमतामा हुन सकेको छैन । नेपालजस्तो देशले ऋण काढेरै भए पनि पूर्वाधार र उत्पादन बढाउने क्षेत्रमा लगानी बढाएर मात्र आर्थिक विकासको गति बढाउन सक्ने हो । तर, सरकार र राज्यसंयन्त्रको दुर्बलता र सुशासनको अभाव यसका लागि बाधक बन्दै आएको छ । यस वर्ष यो सूचकमा ऋणात्मक अंक आएन भने वा न्यून क्षतिमा अघि बढ्न सकियो भने मात्र हामीले २०२२ सम्ममा विकासोन्मुख देशमा स्तरोन्नति गर्न सक्छौँ । सूचकमा आएको वृद्धिले आशावाद बढाउँछ, तर भर पर्न सकिने ठाउँ अझै बनिसकेको छैन ।

याे पनि पढ्नुहाेस् : मानव विकास सूचकांकमा नेपालको थप प्रगति विकासशील मुलुकमा स्तरोन्नतिका लागि तयार