मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर २९ सोमबार ०७:५९:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

बाराक ओबामाको बायोग्राफीमा ‘मिसन ओसामा’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर २९ सोमबार ०७:५९:००

मे २००९ । ह्वाइट हाउसको सिचुएसन रुममा एउटा बैठक बस्यो । तत्कालै राष्ट्रपति बाराक ओबामा सल्लाहकारका साथ अर्को कोठामा गए । भित्र गोप्य कोठा लक गरियो । ह्वाइट हाउसका चिफ अफ स्टाफ राहम इम्यानुएल, सिआइएका निर्देशक लियोन पेनेटा तथा उपराष्ट्रपतिका सुरक्षा सल्लाहकार टोम डयानिसल थिए । यो पूरै टोली एक विशेष योजनामा केन्द्रित थियो ।

राष्ट्रपति ओबामा ओसामा बिन लादेनको खोजीमा थिए । अलकायदाका नाइके ओसामा उनै व्यक्ति हुन्, जसले ११ सेप्टेम्बर २००१ मा न्युयोर्कको ट्विन टावर ध्वस्त बनाएका थिए । यो आक्रमणमा पाँच हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । 

११ सेप्टेम्बरमा अमेरिकामा हवाई आक्रमण गरी ओसामाले मानवताविरुद्ध क्रूरता प्रदर्शन गरेका थिए । अमेरिकाले ओसामालाई रेड कर्नरको लिस्टकै एक नम्बरमा राख्यो र उसको खोजीकार्यलाई तीव्रता दियो । ह्वाइट हाउसले पूरै दश वर्ष गोप्य रूपमा ओसामाको खोजी गरेको थियो । ह्वाइट हाउसको त्यो गोप्य रुममा राष्ट्रपति ओबामाले आफ्ना कर्मचारीलाई ओसामाको अन्तिम अवस्था र रिपोर्ट एक महिनाभित्र बुझाउनुपर्ने निर्देशन दिए ।

विश्वकै एक नम्बर आतंककारीको आतंक समाप्त पार्न विशेषतः योजनासहित अगाडि बढेको ओबामाले आफ्नो बायोग्राफी ‘अ प्रमिस्ड ल्यान्ड’ मा उल्लेख गरेका छन् । ‘९/११ को अघिल्लो दिन मेरो कक्षमा सिआइएका निर्देशक लियोन पेनेटा र उपनिर्देशक माइकल मारेल आएका थिए, दुवैले ओसामाको पछिल्लो अपडेटबारे जानकारी दिए, अमेरिका ओसामानजिक पुगेको थाहा पायो,’ ओबामाले भने । अबु अहमद अल कुवेतीकै भरमा लादेन पत्ता लागेको ओबामाले बायोग्राफीमा लेखेका छन् । 

उनी लेख्छन्, ‘हाम्रो जासुसले अहमद अल कुवेती नामको एक व्यक्ति भेटायो । उनी लादेनका सन्देशबाहक व्यक्ति थिए । ओसामा र कुवेतीबीचको सम्बन्ध नजिक थियो ।’ चिठीपत्र आदानप्रदान, कुवेतीसँगको कुराकानीले नै ओसामा कहाँ बसेको भन्ने थाहा पाएको ओबामाले लेखेका छन् । उनी भन्छन्, ‘यी दुवैबीचको कुराकानीले नै ओसामा बसेको दूरी तथा स्थान पत्ता लगायौँ, इस्लामावादबाट ३५ किमि टाढा रहेको सहरमा ओसामा रहेको निश्चित भयो । त्यो घरमा ओसामा जस्तै हुलिया भएको व्यक्ति थियो, जो लामो समयदेखि त्यहीँ बसेको थियो ।’  

अफगानिस्तानबाट प्रवेश गर्ने योजना
ओबामाले एवाटावादमा आक्रमण गर्ने अनुमति सैनिकलाई दिइसकेका थिए । तर, आक्रमण कसरी गर्ने भन्ने प्रश्न थियो । मिसन ओसामामा विशेष तालिम प्राप्त सैनिक मात्र समावेश गरियो । यसलाई स्पेसल एप्स मिसन भनिएको थियो । सैनिक हेलिकोप्टरले आक्रमण गर्दा छिटो गतिमा गर्नुपर्ने थियो ।

जसको सुइँको पाकिस्तानी सैनिक तथा प्रहरीले समेत थाहा नपाओस् । अर्को भनेको अफगानिस्तानबाट प्रवेश गरी आक्रमण गर्ने नै थियो । यस विषयमा ओबामाले एडमिरल विलियमसँग छलफल गरेका थिए । एरियल फोटोग्राफीअनुसार ओबामाले थ्री डाइमेन्सन नीति अपनाएका थिए ।

यसमा विलियमले राम्रोसँग ओबामालाई बुझाए कि कसरी सहज तरिकाले आक्रमणमा सबै सुरक्षित रहने । जसअनुसार अफगानिस्तानको जलालावादमा दुई हेलिकोप्टर मध्यरातमै उडान भर्ने र पाकिस्तानमा लक्ष्य पूरा गर्ने थियो । फेरि अर्कोतिर विशेष अमेरिकन सैनिकलाई पाकिस्तानी लडाकु विमानबाट सतर्क रहनुपर्ने थियो ।

विनाअनुमति अन्तर्राष्ट्रिय सिमानाभित्र प्रवेश गर्दा त्यसको प्रतिकार गर्ने अधिकार सम्बन्धित राष्ट्रको सुरक्षाकर्मीसँग हुन्छ । अमेरिकाले मिसन ओसामामा पाकिस्तानसँग अनुमति लिएको थिएन । यसकारण पाकिस्तानी लडाकु विमानले आफूहरूको सैनिक हेलिकोप्टरमाथि आक्रमण गर्ने सम्भावना उत्तिकै रहेको आत्मकथामा उल्लेख छ ।  

२३ सदस्यीय टोली
२ मे २०११ को मध्यरात ह्वाइट हाउस अपरेसनको तयारीमा लाग्यो । त्यो रात ओबामालाई निद्रा खासै लागेन । चाँडै निद्राबाट उठेका ओबामा सहयोगी मार्भिन निकलसन बिहान गल्फ खेल्न गए । गल्फ कोर्सबाट फर्केर आएका ओबामाले मिसनमा कतिजना भनी सोधे । वास्तवमा मिसन ओसामामा २३ सदस्यीय दल थियो । रातिको २ बजे हेलिकोप्टरले अफगानिस्तानको जलालावादबाट उडान भरेको थियो । सो टोलीमा एक काएरो नामको कुकुरसमेत समावेश थियो । 

अफगानिस्तानबाट एवाटावादमा आक्रमणका लागि तयार भएको खबर पाएपछि ओबामा सिचुएसन कोठामा पुगे । त्यहाँ उनी लाइभ भिडियो तथा स्याटलाइट कनेक्सनमा बसे । यता, ओबामाका खास सैनिक अधिकृत म्याकरवेन जलालावादमा थिए । उनी लगातार ओबामाकै सम्पर्कमा थिए । यता, कन्फरेन्स टेबलमा हिलारी, जो बाइडेन (वर्तमान निर्वाचित राष्ट्रपति), डेनिस म्याक्डोना, गेट्स मिलने र एन्टनी ब्लिकेन्स थिए ।  

ओबामा लेख्छन्, ‘जब हेलिकोप्टर पाकिस्तान प्रवेश गरेको खबर पाएँ, मेरो पूरै ध्यान लाइभमा थियो, कुनवेला म आफ्नो टेबलबाट उठेँ थाहा नै भएन, नीलो लुगा लगाएका ब्रिगेडिएर जनरल ब्रेन्ड बेवले कम्प्युटर अगाडि राखे । बेवले मलाई कुर्सी दिन प्रयास गरे । तर, म उठेर नै ओसामाको पतन हेर्न चाहिरहेको थिएँ ।

ओसामा बसेको घरमा एउटा हेलिकोप्टरको पंखा ठोक्किन पुग्यो । त्यो हेलिकोप्टरका क्याप्टेन अमेरिकन सैनिककै अनुभवी थिए । ती क्याप्टेनले सम्भावित दुर्घटना हुनबाट रक्षा गरे । एवाटावादमा सैनिक आक्रमण चलिरहेको थियो । ह्वाइट हाउसमा करिब २० मिनेट सन्नाटा छाएको थियो । किनभने यो समयमा केही सूचना प्राप्त भएन । ओबामा मिसन पूरा हुने प्रतीक्षामा थिए ।

एजेन्सीको सहयोगमा