मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भोजराज भण्डारी
२०७७ मङ्सिर २६ शुक्रबार १३:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अझै तीन महिना चालक अनुमतिपत्रका लागि ट्रायल नखुल्ने : विभाग र प्रदेशबीचकाे समन्वय अभावमा सेवाग्राही मारमा

Read Time : > 1 मिनेट
भोजराज भण्डारी
२०७७ मङ्सिर २६ शुक्रबार १३:१९:००

सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ । 

जाडो महिनाभरि कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले  अझै तीन महिना अनुमतिपत्र (ट्रायल) नखोल्न आन्तरिक छलफल भएको  यातायात व्यवस्था  विभागले जनाएको छ ।

चालक अनुमति (ट्रायल)  खोल्ने अधिकार  प्रदेशको भौतिक मन्त्रालयलाई मात्र हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातायात व्यवस्था विभागले अनलाइन प्रणालीलाई अनुमति दिने गर्दछ । 

यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले  प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरी अनलाइन सिस्टम बन्द गरेको थियो ।

विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर  २५ गते नै  विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।  

प्रदेश मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले  प्रदेशबाट अनुमति भइसकेको र अनलाइन  प्रणाली खोल्ने अधिकार यातायात व्यवस्था विभागसँग रहेको नयाँ पत्रिकासँग बताए । 

कोरोना भाइरसका कारण  चैतदेखि रोकिएको ड्राइभिङ लाइसेन्सका लागि ट्रायल खुलाउनका लागि यातायात व्यवस्था विभागले कुनै ठोस निर्णय लिन नसकेको हो ।

विभाग प्रदेश तीनको भौतिक मन्त्रालयबीच समन्वय गरी जाडो महिनाभरि तत्काल खुला नगर्ने कि भनेर छलफल भएको र त्यहीअनुसारको तयारी भएको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।

‘विभाग र मन्त्रालयबीच यस जाडो महिनाभरि कोरोना भाइरसको जोखिम पनि उच्च रहेको र ट्रायल सेन्टरमा एकाएक भिड हुन सक्ने भन्दै तत्काललाई नखोल्ने  छलफल भएको छ,’ भुसालले भने ।

तर, प्रदेश सरकारसँग  बुझ्दा  प्रदेशसँग कुनै सरोकार नै नभएको  प्रदेश तीनका भौतिक  प्रवक्ता  नवीनकुमार सिंहले बताए ।

‘प्रदेशबाट रोकिएको नै छैन । विभाग आफैँले सुरुदेखि बन्द गरेको  हो । प्रदेशसँग कुनै सरोकार  नै छैन, तैपनि हामीले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका  छौँ,’ अनलाइन सिस्टम खोल्ने जिम्मा विभागको हो उतै बुझ्नु,’ सिंहले नयाँ पत्रिकासँग भने ।

यसरी हेर्दा विभाग प्रदेश मन्त्रालयबीच एक–अर्कालाई दोष देखाउँदै हजारौँ सेवाग्राहीलाई प्रभावित बनाउने काम भएको छ ।

सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त गरे पनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाइसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो । 

चालक अनुमतिपत्र लिनका लागि सवारीधनीहरु  ट्रायलको पर्खाइमा रहेका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार अहिले हजारौँ सवारीधनीहरू  प्रभावित बनेका छन् ।  विभागले भने लाइसेन्स छपाइको काम सकेको छ । 

नयाँ लाइसेन्सका लागि ट्रायल नखुल्दा नयाँ लाइसेन्स छपाइको काम नरहेको विभागले जनाएको छ । 

पुरानो स्टक रहेका  लाइसेन्ससमेत छापिसकेको विभागको  भनाइ छ । तैपनि विभागले नयाँ  सेवाग्राहीलाई ट्रायल नलिएर किन खोल्न मानिरहेका छैन ।  

उल्टै विभागले प्रदेशलाई दोष देखाउँदै आफू पन्छिँदै आइरहेको छ ।