ब्यारेक अनुगमनका क्रममा प्रधानसेनापति बाजुरामा, एउटै मेसमा जवानहरूसँग खाना खाँदै गुनासाे सुन्दै

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण
ब्यारेक अनुगमनका क्रममा प्रधानसेनापति बाजुरामा, एउटै मेसमा जवानहरूसँग खाना खाँदै गुनासाे सुन्दै

फाइल तस्वीर

प्रधानसेनापति पूर्णचन्द्र थापा दुर्गममा रहेका सेनाका ब्यारेक निरीक्षणका क्रममा सिभिल हेलिकाेप्टरमा बाजुरा जिल्लास्थित समरजित गुल्ममा पुगेका छन् ।

निरीक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अवस्थाबारे छलफल गरेको नेपाली सेनाले जनाएको छ ।

सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका ब्यारेक, गुल्म, गणको निरीक्षण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

ब्यारेकमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने, जवानसँगै खाना खाने, उनीहरूको बारेमा छलफल गर्ने र निजहरूको हौसला बढाउने उद्देश्यले निरीक्षण गरेको प्रवक्ता पौडेलले बताएका छन् ।

बिहीबार बाजुराको सदरमुकाम मार्तडीमा रहेको समरजित गुल्मको अनुगमनमा पुगेका थिए । चिसो समयमा उच्च भागमा रहेकाे ब्यारेकको अवस्था र जवानले भाेगिरहेका समस्याबारे अनुगमन र छलफल गरेको सेनाले बताएको छ ।

‘चिसो बढिरहेको छ, डाँडाहरूमा ब्यारेक रहेका छन्, त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गर्ने र जवानहरूलाई हौसला प्रदान गर्ने प्रधानसेनापतिको उद्देश्य रहेको छ,’ प्रवक्ता पौडेलले भने ।

सुझावित समाचार