१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २४ सोमबार o५:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल वायु सेवा निगमको नक्कली नियुक्तिपत्र र पोसाक बाँड्दै दुई सयभन्दा बढीबाट कम्तीमा दुई करोड ठगी

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:१९:oo

काठमाडौं गौशाला पिंगलास्थान चोकमै नसिमा कपाली (६० वर्ष)को चुरा पसल छ । पसलमै उनी टेलरिङ व्यवसाय पनि चलाउँछिन् । नेपाल वायु सेवा निगमको सुब्बा बताउने सुरेशकुमार महतो सोही पसलमा दैनिकजसो आउँथे । बेलाबखत सुट सिलाउने अर्डर पनि गर्थे । सोही क्रममा उनी निगमले करारमा कर्मचारी नियुक्त गर्न खोजेको र सेटिङमा कर्मचारी खोज्ने जिम्मा आफूले पाएको सूचना नसिमासँग पटक–पटक चुहाइरहन्थे । त्यसका लागि केही रकम लाग्ने र नियुक्तिपत्रसँगै निगमको पोसाक पनि आफैँले उपलब्ध गराउने बताउँथे । नसिमालाई उनीमार्फत निगममा परिवारको सदस्य घुसाउने जुक्ति फु¥यो । उनले आफ्नो नातिलाई निगममा जागिर लगाइदिन सुरेशसँग प्रस्ताव गरिन् । सुरुमा उनले आनाकानी गरे ।

नसिमा पछाडि हट्ने संकेत पाएपछि सुरेशले जागिर लगाइदिएबापत ६५ हजार रुपैयाँ लाग्ने बताए र त्यो कुरा कसैलाई नभन्न राजी पनि गराए । नसिमाले पनि उनले भनेअनुसार नै ६५ हजार थमाइदिइन् । केही दिनपछि उनले नातिको नाममा नियुक्तिपत्र पाइन् । निगमको लेटर हेडमा अधिकृत सुरेशकुमार महतोको हस्ताक्षर र निगमको स्ट्याम्पसहितको खामबन्दी नियुक्तिपत्र पाएपछि नसिमा दंग परिन् ।

त्यसैगरी अरूलाई पनि जागिर लगाइदिने आश्वासन नसिमालाई दिँदै गए । परिवारका अन्य सदस्य पनि खोजी गर्न उनले उक्साए । नसिमाले ३० जना जम्मा पारिन् । र, सबैबाट गरी करिब २१ लाख रुपैयाँ संकलन गरिन् । सुरेशलाई पसलमै बोलाएर कागजातसँगै संकलित सबै रकम सुरेशलाई बुझाइन् । त्यसको केही दिनपछि नै सुरेश खामबन्दी नियुक्तिपत्र बोकेर पसलमा आए । र, सबैको नियुक्तिपत्र नसिमालाई बुझाए । यसपटक उनले नियुक्ति पत्रसँगै पोसाकसमेत लिएर आएका थिए । सुरेशले बाँडेका सबै नियुक्तिपत्र नक्कली रहेको भेउ नसिमाले वर्षदिनपछि मात्र थाहा पाइन् ।

‘नियुक्तिपत्र निगमको लेटरहेडमा थियो । पत्रमा सुरेशकुमार महतोको हस्ताक्षर थियो । निगमको छाप पनि थियो । सँगै डे«स भनेर कपडा पनि ल्याइदियो । त्यही भएर मैले त होला भन्ने ठानेँ,’ रकम दिएको वर्षदिनपछि असलियत थाहा पाएकी नसिमाले नयाँ पत्रिकासँग भनिन्, ‘३० जनालाई एकठ्ठा गरेँ । २१ लाख रुपैयाँभन्दा बढी जुटाएँ । सबै उसैलाई दिएँ । तर, कसैले अहिलेसम्म जागिर पाएका छैनन् । म ठगिएको महसुस त बल्ल पो गर्दै छु ।’

गौशाला पिंगलास्थानमै कपडा पसल चलाउँदै आएकी दोलखा भीमेश्वर नगरपालिका–४ की अनिता चौलागाईं (३५ वर्ष)को नियमित ग्राहक थिइन्, झापा गौरीगन्जकी सरिताकुमार राजवंशी (४० वर्ष) । पसल जाँदैपिच्छे राजवंशीले रोजगारी खुलेको अनितालाई बताइरहन्थिन् । र, सँगै सबै सेटिङ हुने अनि निगमको अधिकृत सुरेशकुमार महतोले काम गर्ने उनी अनितालाई बताउँथिन् । जागिर लगाइदिएबापत ६५ हजारदेखि एक लाख रुपैयाँसम्म लाग्ने उनी सुनाउँथिन् ।

कपडा पसल गरिरहेकी अनितालाई निगमको जागिरले लोभ्यायो । र, आफूसँगै परिवारका अन्य सदस्यलाई पनि जागिर खुवाउने सपनाले उनलाई रोमाञ्चित बनायो । उनले पनि परिवारका १२ सदस्यलाई मनाइन् । सबैलाई लिएर पिंगलास्थानस्थित सरिताको कोठामा पुगिन् । मास्क पहिरेका एक पुरुष सरिताको कोठामै थिए । सरकारी पोसाकमा ठाँटिएका उनले आफूलाई निगमको अधिकृत सुरेशकुमार महतो भन्दै परिचय दिए ।

अनिताले कागजातसहित १२ जनाबाट जम्मा गरेको सबै रकम सरितालाई उनकै कोठामा बुझाइन् । रकम बुझेको प्रमाण भन्दै महतोले निगमको छाप लगाएर एउटा कागज पनि दिए । त्यही कागज लिएर अनिता पसल फर्किइन् । त्यसको केही दिनपछि सबैको नियुक्तिपत्र मात्र होइन, निगमको पोसाकसमेत सरिताबाट बुझिन् । तर, पत्रमा उल्लेखित जागिर वर्षदिन बित्न लाग्दा पाउन सकिनन् ।

पिंगलास्थानस्थित कपडा दोकानमा भेटिएकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘एयरपोर्टमा जागिर लाइदिने भन्यो । मैले १२ जनाबाट १० लाख जम्मा गरेर सरितालाई बुझाएँ । सुरेश महतो पनि उनकै कोठामा थिए । त्यसको केही दिनपछि नियुक्तिपत्र पनि आयो । तर, अहिलेसम्म जागिर खान पाइएन । उसको सबै हर्कत ठगीका लागि रहेको बल्ल पो थाहा हुँदै छ ।’

 

 

सरिताकै आश्वासनमा परेर पिंगलास्थानकै नितु ढकाल (२८ वर्ष)ले पनि सुरेशलाई तीन लाख ३० हजार रुपैयाँ एक वर्षअघि नै बुझाएकी हुन् । निगमको लेटरहेडमा उल्लेखित नियुक्तिपत्र उनले पनि पाएकी छिन् । तर, जागिर अहिलेसम्म पाउन सकेकी छैनन् । ‘मसहित चारजनालाई एयरपोर्टमा जागिर लगाउँछु भन्यो । तीन लाख ३० हजार रुपैयाँ सरिताकै कोठामा लगेर सुरेशलाई बुझाएँ । नियुक्तिपत्र दियो । डे«स भनेर एक जोर कपडा पनि दियो । तर, जागिर अहिलेसम्म खान पाइएन,’ ढकालले भनिन्, ‘सबै ठगी गर्न रचेको चाल रहेछ भन्ने रहस्य बल्ल पो थाहा हुँदै छ ।’

यस्तै, सुनसरी इटहरी–२ की रञ्जनाकुमारी बस्नेत (३९ वर्ष)ले पनि निगममा जागिर पाउने आश्वासनपछि सरितामार्फत सुरेशलाई एक लाख ३० हजार रुपैयाँ दिइन् । पिंगलास्थानकै तारा आचार्य (२७ वर्ष)ले पनि निगममा जागिरको प्रलोभनमा तीन लाख ६५ हजार रुपैयाँ बुझाइन् । दुवैले नियुक्तपत्रसहित पोसाक पनि पाए । तर, वर्षदिनसम्म पनि जागिर पाउन सकेनन् । उनीहरूका अनुसार सरितामार्फत सुरेशले पिंगलास्थान क्षेत्रबाट मात्रै ७० भन्दा धेरैलाई निगमको नियुक्तपत्र बाँडेर ठगी गरेका छन् । दुवैले गहना बेचेर रकम जम्मा गरेका थिए । ‘अहिले न जागिर मिल्यो, न त गहना बाँकी रह्यो,’ आफू ठगिएको आफन्तसँग समेत भन्न नसकेकी ताराले नयाँ पत्रिकासँग भनिन्, ‘यिनीहरूले यहाँ मात्रै ७० जनाभन्दा धेरैलाई यसैगरी ठगेका छन् । सबैको नाम हामीसँग छ । यत्रो रकम अब कसरी उठाउने होला ?’

दुई सयभन्दा बढीबाट कम्तीमा दुई करोड ठगी

पिंगलास्थानमा नसिमा र सरितामार्फत मात्र निगमका नक्कली अधिकृत सुरेशकुमार महतोले ९० जनाबाट ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ । सुरेशले पोखरा र भैरहवास्थित गौतमबुद्ध विमानस्थलको नाममा समेत कर्मचारी भर्ना लिने भन्दै रकम ठगी गर्दै आएको पीडितले बताएका छन् । सबै गरी ती व्यक्तिले दुई सयजनाभन्दा बढीबाट कम्तीमा दुई करोड रुपैयाँ ठगी गरेको पीडितहरूको भनाइ छ । उनी को थिए भन्ने पनि पीडितलाई जानकारी छैन ।

उनको एउटा नम्बरमा कल गर्दा ‘ट्रु कलर’मा सुरेशकुमार महतो देखिन्छ । अर्को नम्बरमा कल गर्दा रामसागरत रैतरखोर नाम आउँछ । दुवै नम्बर अहिले स्विच्डअफ छन् । आफू निगमकै क्वार्टरमा बस्ने गरेको उनी पीडितलाई बताउँथे । उनी सम्पर्कविहीन भएको करिब १५ दिन बितेको सरिता बताउँछिन् । प्रहरीमा उजुरी दिन पीडितलाई सरिताले नै जान दिएकी छिन् । उजुरी गरे रकम डुब्ने उनले बताउने गरेकी छिन् । उनले गत वर्ष पुसदेखि नै ठगी सुरु गरेको खुलेको छ । बीचमा लकडाउन भन्दै पीडितलाई सरितामार्फत थुमथुम्याइरहेका थिए । तर, लकडाउन खुलेपछि पीडितले कस्दै गए र उनी बेपत्ता भए ।

६० जनासँग पैसा उठाएर सुरेशकुमारलाई मैले दिएकी हुँ
सरिताकुमारी राजवंशी

मैले सुरेशकुमार महतो भन्ने मान्छेलाई पिंगलास्थानमै भेटेकी हुँ । नेपाल वायु सेवा निमगमा अधिकृत छु भन्थ्यो । सेटिङ जागिर लगाइदिन्छु भनेर उसैले भनेको हो । सोही आधारमा मैले ६० जना जम्मा गरेकी हुँ । सबैले मेरै कोठामा रकम ल्याएर उसलाई बुझाएका हुन् । सबै गरी ५० लाखजति जम्मा भयो होला । सबै रकम उसैले लगेर गयो । मेरो छोरालाई समेत उसले जागिर दिने आश्वासन दियो । तर, कसैलाई जागिर दिएन । अहिले पो सुरेशकुमार महतो भन्ने मान्छे नै निगममा नभएको बुझेँ । यसले गरेको सबै काम नक्कली रहेको बल्ल थाहा पाउँदै छु । त्यो मान्छे अहिले मेरो सम्पर्कमा छैन । विभिन्न माध्यमबाट ठगीमा संलग्न त्यो मान्छे सुरेशकुमार नभई रामसागरत रैतरखोर रहेको बुझेकी छु ।

ad
ad