१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
तस्वीर - रासस
Invalid date format ११:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ रक्षामन्त्रीका नेपाली समकक्षी रक्षामन्त्री कि प्रधानसेनापति ?

स्वागतमा गृहमन्त्री, औपचारिक वार्तामा प्रधानसेनापति, रक्षामन्त्री ओलीसँग केबल शिष्टाचार वार्ताको अर्थ के हुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

नेपाल भ्रमणमा आएका चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङका नेपाली समकक्षी को हुन् ? रक्षा मन्त्रालय सम्हालेका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली उनको समकक्षी भए पनि वरीयता नमिल्ने भएका कारण औपचारिक वार्ता उनले गर्दैनन् । 

सामान्यतया उपप्रधानमन्त्रीस्तरका स्टेट काउन्सिलर हुनाले चिनियाँ रक्षामन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले औपचारिक वार्ता गर्नुपर्ने भए पनि प्रधानमन्त्री ओलीले प्रधानसेनापतिलाई आफ्नो प्रतिनिधि तोकेका छन् । 

यो अवस्था चिनियाँ रुचिअनुसार भएको वा नेपालको प्रस्तावमा भन्ने खुल्न बाँकी छ । 

कूटनीतिक मामिलाका जानकारहरूका अनुसार चिनियाँहरू औपचारिक वरीयतामा संवेदनशील मानिन्छन् । 

‘उनको मान–सम्मानलाई नेपालले पनि कमी आउन दिने कुरा भएन, तर नेपालका तर्फबाट मन्त्री वा उपप्रधानमन्त्रीले नेतृत्व गर्ने प्रतिनिधिमण्डल भइदिएको भए प्रोटोकल मिलेको देखिन्थ्यो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानसेनापति थापाले चिनियाँ रक्षामन्त्रीको समकक्षीकै हैसियतमा वार्ता गर्नु भनेको यो भ्रमणको सैन्य पक्षलाई दुवै पक्षले उजागर गर्न खोजेको अर्थमा बुझ्नुपर्ला ।’ 

नेकपाको आन्तरिक विवाद चर्किएका वेला र यहीबीचमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई चासोपूर्वक लिइएका वेला चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई रक्षासँग सीमित गरेर देखाउन खोजिएको छ । 

जस्तो कि, चिनियाँ रक्षामन्त्री वेई नेपाली सैनिक हेडक्वार्टर जंगीअड्डामा दुई घन्टा २० मिनेट रहनेछन् । 

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग उनको शिष्टाचार भेटवार्ता संक्षिप्त हुनेछ । 

चिनियाँ उच्च नेतृत्वको सन्देश प्रस्तुत हुने र नेपालको सन्देश पनि व्यक्त हुने भएकोले ती भेटवार्तालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । 

रोचक पक्ष के छ भने चिनियाँ रक्षामन्त्री वेईलाई स्वागत गर्न सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा खटिए ।  

उनलाई बिदाइ पनि गृहमन्त्री थापाले नै गर्नेछन् । रक्षामन्त्री नभएका कारण रक्षामन्त्रीसरहको प्रतिनिधित्व प्रधानसेनापति थापाले गर्नेछन् । 

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्रीसँग भने चिनियाँ रक्षामन्त्रीको शिष्टाचार वार्ता हुनेछ । 

हुन त उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री पोखरेलले २०७५ कात्तिकका चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेईसँग द्विपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

प्रधानसेनापति थापाले पनि चीन भ्रमणका वेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए । 

तर, उपप्रधानमन्त्री हैसियतका चिनियाँ रक्षामन्त्रीसँग वार्ता गर्न उपप्रधानमन्त्री पोखरेललाई जिम्मेवारी नदिएर जंगीअड्डालाई नै प्रधानमन्त्रीले तोक्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले ०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गर्न रक्षामन्त्री बालकृष्ण खाणले स्वागत र औपचारिक वार्ता गरेका थिए । 

हुन त चिनियाँ रक्षामन्त्री सैनिक पृष्ठभूमिका हुन् र उनी जनरलका रूपमा सैनिक पोसाकमै रहन्छन् । त्यसकारण उनको व्यक्तित्व कम राजनीतिक, बढी सैनिक देखिन्छ ।

जानकारहरूका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय तहमा नै रहेका कारण रक्षामन्त्रीलाई सैन्य रूपमा मात्रै सीमित गरेर बुझ्नु यथार्थपरक हुँदैन । 

यद्यपि चिनियाँ रक्षामन्त्रीले आफूभन्दा जुनियर हैसियतका नेपाली प्रधानसेनापति पूर्णचन्द्र थापासँग किन औपचारिक वार्ता गर्न सहमति जनाए, आगामी दिनमा यसको यथार्थ खुल्दै जानेछ । 

किनभने प्रधानसेनापति थापाका समकक्षी चिनियाँ रक्षामन्त्री होइन, चिनियाँ जनमुक्ति सेनाका प्रमुख ली जुओचेङ हुन् । 

जंगीअड्डाले उनको नेपाल भ्रमणको प्रतीक्षा गरिरहेको छ ।