मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १२ शुक्रबार
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
२o७७ मङ्सिर १२ शुक्रबार १८:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इयूको उडान प्रतिबन्ध चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई

Read Time : > 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १२ शुक्रबार १८:३१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (इयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई इयूले उडान प्रतिबन्ध लगाइराख्नुपर्ने कुनै कारण नभएको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ शुक्रबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले इयूको सुरक्षा चासोअनुरूप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाजले विश्वका जुनसुकै मुलुकमा उडान भर्न सक्ने जिकिर गरे । 

उनले भने– युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथि छौँ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ, त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन ।  

उनले इयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए । भट्टराईले कानुनी प्रक्रिया पूरा गरी चाँडै नै इयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे । 

प्राधिकरण विभाजनसम्बन्धी विधेयक चाँडै टुंगिने
प्राधिकरण विभाजनसम्बन्धी विधेयक संसद्को राष्ट्रिय सभामा पेस भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिँदै उनले चाँडै  प्रतिनिधिसभामा पनि विधेयक पेस गरिने बताए । उनले नेपालको उडान सुरक्षा दक्षिण एसियामै उत्कृष्ट भएको उल्लेख गर्दै आगामी दिनमा दुर्घटना दरलाई शून्यमा झार्ने गरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिए । 

प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षा दर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ । जब कि आइकाओअन्तर्गतका कतिपय मुलुकले योस्तर कायम गर्न सकेका छैनन् । एसिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।