मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ८ सोमबार १८:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गजुरेल र रायमाझीसँग प्रचण्डले भने– एकता कि विभाजन हाम्रै हातमा छ, आत्तिनुपर्दैन   

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ८ सोमबार १८:२९:००

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीको राजनीतिक दस्ताबेज आएपछि व्यवस्थित छलफलको विधिबाट पार्टीलाई नयाँ उचाइमा एकताबद्ध बनाउन सकिने सम्भावना औँल्याएका छन् । स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग सोमबार भएको छलफलमा प्रचण्डले पार्टीलाई फुट कि नयाँ आधारमा एकताबद्ध बनाउने विषय दुई अध्यक्षमै निर्भर रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । 

आइतबार उनीहरूले प्रधानमन्त्री ओलीसँग पनि पार्टीभित्रको पछिल्लो संकट र समाधानका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए ।  

भेटपछि नेता गजुरेलले नयाँ पत्रिकासँग भने–

हामीले भेटमा उहाँ (प्रचण्ड)लाई पार्टीलाई फुटबाट बचाउनुपऱ्याे, अरू हाम्रा कुरा केही छैनन् । ख्यालख्यालमै दुर्घटना हुन सक्छ, फुटलाई नेपाली जनताले रुचाउने छैनन्, सजाय दिन सक्छन् भनेका छौँ ।

उहाँले सबै कुरा मेरो हातमा मात्र हुँदैन । हामी दुई अध्यक्ष छौँ, अर्को अध्यक्ष पनि हुनुहुन्छ । म फुटको पक्षमा छैन । तर, पार्टी यस्तै विवादमा अल्झिरहने, फेरि हल भएजस्तो मात्रै हुने कुराको कुनै अर्थ छैन । त्यसैले दुई वर्ष नयाँ ढंगले मिलेर जाने के सम्भावना हुन्छ, त्यसमा सहमति हुनुपर्छ । पुराना सहमतिहरू भत्किसके, नयाँ ढंगले जानुपर्छ । तपाईंहरूले पनि सोच्दै गर्नुहोला, के गरी जाँदा राम्रो हुन्छ हामी पनि सोच्छौँ भन्नुभयो । 

प्रधानमन्त्रीका तर्फबाट डकुमेन्ट (दस्ताबेज) आएपछि छलफल गरेर जाने अवस्था हुन सक्छ । प्रस्तावमाथि व्यवस्थित ढंगले छलफल गर्दा राम्रै हुन्छ । दुईवटा डकुमेन्ट आयो भन्दैमा आतिनुपर्दैन, बहस हुन्छ, आ–आफ्नातर्फका कमजोरी महसुस गर्ने तहमा पुग्न बहसले सहयोग पुऱ्याउन सक्छ । बहसले पार्टीलाई नयाँ ठाउँमा पुऱ्याउन पनि सक्छ । प्रस्ताव दुईवटा आयो, आरोपपत्र भनेर आत्तिहाल्नुपर्ने स्थिति होइन । नयाँ शिराबाट नयाँ ठाउँमा फेरि पनि एकता र सहमतिको सम्भावना पनि रहन्छ भन्नुभयो । तर, एकतालाई केन्द्रबिन्दुमा राखेर हामीले बहसलाई व्यवस्थित गर्न सकेनौँ भने विघटन र फुटतिर पनि जान सक्छ । यी सबै हाम्रै हातका कुरा हुन्, तर तपाईंहरूले एकताका लागि जे प्रयास गर्नुभएको छ, त्यो सकारात्मक छ भन्नुभएको छ ।

हामीले पनि उहाँलाई प्रधानमन्त्रीसँग भएका कुराकानी जानकारी गरायौँ । प्रधानमन्त्रीका कुरा यस्ता छन् भनेर पनि राखिदियौँ । ठिकै छ, छलफल गर्दै जाऊँ भन्नुभयो । प्रधानमन्त्रीसँग पनि हामीले स्थायी कमिटीको निर्णयभन्दा बाहिर जाँदा कुरा बिग्रियो, तपाईं प्रधानमन्त्री र पार्टीको पनि एक नम्बरको अध्यक्ष भएकाले पहल लिनुपर्छ भनेका छौँ । पहिलाको सहमति र निर्णय अगाडि बढ्न सकेन । अब पार्टीलाई नयाँ ठाउँमा कसरी एकताबद्ध गर्ने हो त्यसका लागि पहल गर्नुस् भनेका छौँ । तपाईंलाई पनि एकताका लागि पहल गर्नुस्, नयाँ सहमतिको आधार के–के हुन सक्छ । दुई अध्यक्षले नै सम्हाल्नुपर्छ भनेका छौँ । 

प्रधानमन्त्रीनिकट र प्रचण्ड कमरेडनिकट साथीहरूसँग हामीले कुराहरू गरिरहेका छौँ । अहिलेसम्म कोही पनि पार्टी नेता विभाजनको पक्षमा छैनन् । पार्टी नेता र पार्टीपंक्ति विभाजनको विपक्षमा हुने कुरा त स्वाभाविक छ । खासमा अरू पार्टीकै नेताहरू पनि अहिले कुनै पनि दल विभाजनको पक्षमा छैनन् । अरू पार्टीका थुप्रै नेताहरूसँग मेरो कुरा हुँदा उहाँहरूले नेकपा मात्रै होइन, अहिले कुनै पनि पार्टी फुट्दा उपलब्धिहरू धरापमा पर्न सक्छन्, राष्ट्रमा ठूलो संकट आउँछ, अस्थिरता निम्तिन्छ भन्ने चिन्ता जनाउँदै एकताको पक्षमा धारणा राख्नुभएको छ ।