१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ५ शुक्रबार १४:५८:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आत्मनिर्भर आमा [तस्बिरसहित]

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ५ शुक्रबार १४:५८:००

बिहीबार जलेश्वर बजारमा छठ पर्वलाई आवश्यक पूजा सामग्री किन्नेको निकै भिड थियो । 

बजारबाहिर जलेश्वरनाथ महादेव मन्दिरको छेउमै सामा-चकेवा बेच्दै गरेकी सिकिलिया देवी पैसा गन्न व्यस्त थिइन् ।उमेरले ६८ वर्ष पूरा गरेको बताउने उनले सामा-चकेवा बेचेरै १५ देखि २० हजारसम्म आम्दानी गरेकी छिन् । 

उनले वर्षौँदेखि दीपावलीका लागि आफैँले बनाएको दियो, छटमा सामा–चकेवालगायतमा माटाेका अनेक सामग्री बेच्दै आएकी छिन् । दीपावलीमा आफैँले बनाएको दियो बेचेर राम्रो कमाइ गरेकी सिकिलिया देवीका लागि छठ पर्व व्यापारकाे अर्काे अवसर हाे ।  

उनले भनिन्, ‘श्रीमान्, दुई छोरा, दुई छोरी, बुहारी र नातिनातिनी गरी ठूलो परिवार छ । परिवारअनुसार खर्च पनि ठूलै  हुन्छ । आफ्नो कमाइबाट परिवारलाई अलिकति आर्थिक सहयोग गर्न सके आफूलाई सुखी मिल्छ ।’ 

उनकाे परिवारका अन्य सदस्यहरू मूर्ति तथा माटोका विभिन्न सामग्री बनाउने गर्छन् । ती सामग्री बजार लगेर बेच्न सिकिलिया देवीले सहयोग गर्दै आएकी छिन् । 

माटोका भाँडाकुँडाको सट्टा प्लाष्टिकका सामानले बजार लिँदै गएपछि आफूहरूको पेसा संकटमा परेकाे उनले गुनासो गरिन् । 

उनले भनिन्, ‘माटाका सामग्री शुद्ध र राम्रो हुन्छन् । सरकारले यो व्यवसायलाई सहयोग गर्नुपर्छ । माटोका सामग्री बेचेर महिला आत्मनिर्भर बनेका छन् । घर–परिवारलाई आर्थिक सहयोग गरेका छन् । यो पेसा संकटमा पर्नुहुन्न ।’ 

पुस्तौँदेखि हस्तान्तरण हुँदै माटोका सामग्री बनाउने कला आफूसम्म आइपुगेको बताउँदै उनले भनिन्, ‘यो कला छोरी, बुहारीलाई समेत सिकाउनुपर्छ । नयाँ पुस्ताले नयाँ तरिकाले सामग्री बनाउन सक्छन् । त्यसबाट पैसा कमाइ हुन्छ । सरकारले माटोका भाँडोका बजारीकरणका लागि पहल गर्नुपर्छ ।’ 

ओरेक नेपाल महोत्तरीकी कार्यक्रम अधिकृत लीला दियाली गृहिणीदेखि सानातिना व्यापार–व्यवसाय गर्ने महिलाको भूमिका अतुलनीय रहेको बताउँछिन् । महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन सके महिलामाथि हुने विभेद तथा घरेलु हिंसामा कमी आउने दियालीका अनुभव छ ।