मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
क्रिस्चियन बी मिलर
२०७७ मङ्सिर ५ शुक्रबार ०९:२४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनलाइन परीक्षामा अन्योल

Read Time : > 3 मिनेट
क्रिस्चियन बी मिलर
२०७७ मङ्सिर ५ शुक्रबार ०९:२४:००

म कलेजका विद्यार्थीलाई दर्शनशास्त्र पढाउँछु र यो सेमेस्टरका कक्षाहरू अनलाइन भएकाले मैले परीक्षा नलिने सोच बनाएको छु । आखिर किन त ? कारण हो चिट चोर्ने सम्भावना । मेरा विद्यार्थी धेरै चिट चोर्छन् भन्न खोजेको होइन, तर मैले पढेका अधिकांश मनोवैज्ञानिक अनुसन्धानले बताएअनुसार चोर्न सहज हुने अवस्थामा विद्यार्थीलाई परीक्षामा चोरी गर्न रोक्न सकिँदैन । अनलाइन परीक्षामा विद्यार्थीले नोट, साथी वा इन्टरनेटबाट सहयोग लिने सम्भावना अत्यधिक हुन्छ । 

मैले पढाउने दर्शनशास्त्रमा पेपर लेखनलाई मूल्यांकनको वैकल्पिक माध्यम मानिन्छ, तर विज्ञानजस्ता केही निश्चित क्षेत्रमा भने यसले राम्ररी काम गर्दैन । यो वर्ष अधिकांश पठनपाठन व्यापक रूपमा अनलाइन माध्यमबाट पठनपाठन भयो र विद्यार्थीले घर बसेर अध्ययन गरिरहेका छन् । यो समयमा परीक्षा लिने विषयमा भने व्यापक अन्योल सिर्जना भएको छ । घरबाटै विद्यार्थीको परीक्षा लिँदा चिट चोर्ने कामलाई कसरी निरुत्साहित गर्न सकिन्छ ? एउटा विकल्प हो, परीक्षा दिइरहेका विद्यार्थीको भिडियोमार्फत निगरानी राख्ने । परीक्षा लिइरहेका विद्यार्थीको निगरानी राख्न अलग व्यक्तिको व्यवस्था गरेर विद्यार्थीले उत्तर लेख्दा इन्टरनेटको सहायता लिएको–नलिएको हेर्न सकिन्छ । सक्रिय निगरानी प्रभावकारी हुन सक्छ, तर यसले अविश्वासको वातावरण सिर्जना गर्छ । त्यस्तै, यस माध्यममा स्वाभाविक रूपमा गोपनीयताको चिन्ता पनि उत्पन्न हुन्छ । दूर निगरानीमा नश्लीय आधारमा बढी कडाइ भएको घटना पनि सार्वजनिक भएका छन् । 

अनलाइन माध्यमबाट परीक्षा लिने सन्दर्भमा मेरो एउटा सुझाब छ, हरेक विषयको परीक्षाअघि विद्यार्थीबाट अनर कोडप्रति प्रतिबद्धता माग गर्ने । डाक्टरी पेसा अध्ययन गर्ने विद्यार्थी तथा अन्य शैक्षिक सन्दर्भमा यसको पहिलेदेखि व्यापक प्रयोग हुने गरेको छ । यसलाई अब अनलाइन परीक्षामा पनि विस्तार गर्नुपर्ने भन्ने मेरो सुझाब हो । ‘अनर प्लेज’ विश्वविद्यालयको चिट चोर्ने कार्य रोक्न प्रभावकारी हुने मात्र होइन, तिनले इमानदारिताको पनि वृद्धि गराउँछ । यो वाचा पालना गर्ने विद्यार्थीले नसकेर चिट नचोर्ने होइन, बरु तिनले चोर्ने विकल्प हुँदाहुँदै पनि आफूलाई संयमित राख्छन् । अनर प्लेज र अनर कोड सम्बन्धको प्रभावकारितामा सशंकित हुने अवस्था नभएको होइन । यसलाई ओरियन्टेसनको दिन फर्ममा टिक लगाएर पछि बिर्सिन सकिने औपचारिक विषयका रूपमा मान्ने धेरै छन् । यस्तो खालको ‘अनर कोड’ले निश्चित रूपमा कुनै प्रभाव पार्नेछैन । 

तर, धेरै स्थानका आधारभूत तहदेखि स्नातकोत्तर तहसम्मका विद्यालयले तिनको ‘अनर कोड’लाई गम्भीर रूपमा लिएको हामीले देखेका छौँ । अध्ययनहरूले ‘अनर कोड’प्रति प्रतिबद्ध विद्यालयले त्यसो नगर्ने विद्यालयको तुलनामा चिट चोर्ने कार्यमा कटौती गरेको देखाएको छ । रटगर्स बिजनेस स्कुलका डोनाल्ड म्याक–क्याबे र स्मिल कलेज अफ बिजनेसकी लिन्डा ट्रेभिनोले गरेको अध्ययनले ‘अनर कोड’ नभएका कलेजले सञ्चालन गर्ने परीक्षामा २३ प्रतिशतको दरमा चोरी हुने तर अनर कोड भएका कलेजमा यो दर ११ प्रतिशत मात्र रहेको पाए । परीक्षाको चोरीमा मात्र होइन, बौद्धिक चोरी (२० प्रतिशत भर्सेस १० प्रतिशत)मा समेत सुधार भएको देखिएको छ । ‘अनर कोड’ले काम गर्नका लागि यसप्रति गम्भीर खालको प्रतिबद्धताको आवश्यकता पर्छ । यसका लागि ‘अनर कोड’लाई विद्यार्थी संस्कृतिको हिस्सा बनाउनुपर्ने प्राध्यापक म्याक–क्याबे र ट्रेभिनोको सुझाब छ । व्यवहारमा त्यो कसरी कार्यान्वयन हुन्छ ? केही विद्यालयले आफ्नो शैक्षिक वर्ष साँच्चैको प्रतिबद्धता समारोहबाट सुरु गर्छन् । त्यस अवसरमा प्रत्येक विद्यार्थीले सबैको सहपाठीसामु आफ्नो विद्यालयको संहिता पालना गर्ने वाचा गर्छन् । प्रत्येक परीक्षामा समेत ‘अनर कोड’प्रतिको प्रतिबद्धतालाई जोड्नु अनिवार्य गर्दा थप राम्रो परिणाम आउँछ । 

म आफैँ प्रिन्स्टन विश्वविद्यालयमा स्नातक तहको विद्यार्थी हुँदा प्रत्येक परीक्षाका विषयमा अनर कोड लेखिएको हुन्थ्यो र त्यसमा हस्ताक्षर गर्नुपथ्र्यो । अहिले वेक फरेस्टको प्राध्यापक भएपछि मैले प्रत्येक परीक्षाअघि आफ्नो कक्षाका हरेक विद्यार्थीलाई ‘अनर कोड’ सबैको सामु सस्वर पढ्न र तिनमा हस्ताक्षर गर्न भन्छु । ‘अनर कोड’मा गरिने हस्ताक्षरले एक नैतिक पहरेदारको काम गर्नेछ । आमजिन्दगीको अनुभव र खोजका निष्कर्षले के देखाएको छ भने परीक्षामा चोर्दा अंक बढ्छ भन्ने लाग्दा र चोरेको कसैले थाहा पाउँदैन भन्ने सोच हुँदा हामीमध्ये अधिकांश चोर्न हिचकिचाउँदैनन् । हामी आफूलाई इमानदार ठान्छौँ र चिट चोर्नुलाई खराब मान्छौँ । तर, अवसर पाउँदा आफ्नो असल विचारलाई पन्छाएर चोर्नबाट रोक्न सक्दैनौँ । त्यस्तो समयमा नैतिक पहरेदारीले काम गर्छ र हामीलाई चोर्नबाट संयमति बनाइदिन्छ । 

प्रयोगशालाको परीक्षणले पनि यही देखाएको छ । एक निकै चर्चित अध्ययनमा बोस्टन विश्वविद्यालयअन्तर्गतको क्वेस्ट्रोम स्कुल अफ बिजनेसकी निना मजार र उनको टिमले एउटा विद्यार्थीको समूहलाई २० वटा समस्या रहेको परीक्षामा सहभागी गराइन् । परीक्षाको प्रत्येक सही जवाफका लागि ५० सेन्ट रकम दिने भनिएको थियो । कठिन परीक्षा भएकाले पहिलो समूहको विद्यार्थीले औसतमा ३.४ सही जवाफ मिलाउन सफल भए । दोस्रो समूहको विद्यार्थीले पनि उही प्रश्नमा परीक्षामा बसे । तर, तिनलाई भने आफैँले आफ्नो कामको आफैँले अंक दिने विशेष अवसर दिइएको थियो । यो समूहले औसतमा ६.१ प्रश्न मिलायो । यसको अर्थ अंक जोड्ने क्रममा जालझेल भएको थियो । तेस्रो र सबैभन्दा महत्वपूर्ण समूहलाई अनर कोडमा हस्ताक्षर गराएर परीक्षामा सहभागी गराइएको थियो । तिनलाई पनि पछि आफ्नो उत्तरपुस्तिका आफैँलाई परीक्षण गर्न दिइयो । यो समूहको नतिजा औसतमा ३.१ सही जवाफ आएको थियो । अर्थात्, समूहगत रूपमा जालझेल निर्मूल भएको थियो । ‘अनर कोड’मा हस्ताक्षर गर्दा नै यति धेरै सुधार देखिने रहेछ । 

क्रिस्चियन बी मिलर वेक फरेस्ट युनिभर्सिटीको दर्शनशास्त्रका प्राध्यापक हुन्। 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य