१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ४ बिहीबार १५:५३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

विश्व शौचालय दिवस : शौचालय सफा नभए यौनरोगदेखि निमोनियासम्म

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ४ बिहीबार १५:५३:००

प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै आइएको छ । 

शौचालयको सरसफाइ कायम राख्नुको अर्थ विभिन्न संक्रमणबाट बच्नु हो । किनभने धेरै रोगजन्य कीटाणु शौचालय सिट, फ्लसिङ बटन र वरपर रहेका वस्तुमा रहने गर्छन् । जब ती सूक्ष्मजीव छाला, नाक, मुख वा आँखामा हावाको माध्यमबाट पुग्छन् त्यसले धेरै प्रकारका संक्रमण निम्त्याउँछन् । यस्ता संक्रमणले गम्भीर रूप पनि लिन सक्छन् । फोहोर शौचालयका कारण मानिसमा हुन सक्ने संक्रमणहरू निम्न छन् :–

घाँटीको दुखाइ
स्ट्रेप्टोकोकस शौचालयमा पाइने ब्याक्टेरिया हो । जुन घाँटीको संक्रमणका लागि मुख्य कारण हो । यो ब्याक्टेरियाले मानव शरीरमा निकै कम समयमै संक्रमण फैलाउन सक्छ । जुन शौचालयका वस्तुको माध्यमबाट शरीरमा प्रवेश गर्ने गर्छ । शौचालयको ढोकाको चुकुल पनि रोग संक्रमणको अर्को प्रमुख माध्यम मान्ने गरिन्छ । यस्तै शौचालयमा प्रयोग गरिने सामान पनि सफा हुन आवश्यक छ ।

झाडापखाला
ब्याक्टेरियल झाडापखालाको मुख्य कारण साल्मोनेला वा क्याम्पाइलोबैक्टर ब्याक्टेरियालाई मानिन्छ । यी ब्याक्टेरिया फोहोरको माध्यमबाट मानव शरीरमा प्रवेश गर्ने गर्छन् । झाडापखाला संक्रमण इंकोली, सिगेला र केही प्यारासाइटका कारण पनि हुने गर्छ जुन शौचालयको फोहोरका कारण उत्पन्न हुन्छन् ।

इबोला
फोहोरका कारण फैलिने संक्रमण पश्चिम अफ्रिकामा सामान्य मानिन्छ । सामान्यतया सरसफाइको सुविधा नभएको ग्रामीण भेगमा इबोलाको प्रकोप रहेको पाइन्छ । शौचालयको व्यवस्था नभएका भेगमा इबोलाजस्ता थुप्रै संक्रमणले सताउने गर्छन् । 

गोनोरिया
यो एकप्रकारको यौनरोग हो । जुन शौचालयको सिटबाट फैलिन सक्छ । गोनोरिया संक्रमणले थोरै समयमा बाक्लो र हरियो योनीस्राव हुन सक्छ । यसका लागि सिप्रोफ्लोक्सासिनजस्ता एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । सामान्यतया सार्वजनिक शौचालयको प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ । 

छालाको संक्रमण
स्ट्रेप्टोकोसी ब्याक्टेरियाले छालाम हलुकादेखि गम्भीर संक्रमण गराउँछ । सामान्यतया सार्वजनिक शौचालय प्रयोगबाट सम्पर्कमा आउने इम्पेटिगो र नेक्रोटाइजिंग ब्याक्टेरिया संक्रमणले छालामा समस्या उत्पन्न गराउँछ । जसले गर्दा छालामा जलन हुने, चिलाउने र फोका उठ्ने हुन्छ । 

निमोनिया
एक अध्ययनका अनुसार निमोनियाका ब्याक्टेरियाहरू मोबाइल फोनको माध्यमबाट बढी प्रसारित भइरहेका छन् । अस्पतालको शौचालय र शौचालयमा फ्यान प्रयोग गर्ने बानीले गर्दा पनि संक्रमण हुने सम्भावना रहन्छ । चिसो मौसममा निमोनियाको जोखिम बढी हुने गर्छ, तसर्थ शौचालयको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ । 

यस्तै चिसो मौसममा बढी हुने फ्लु, ज्वरो, हेपाटाइटिस ए, फुड पोइजनिङ, पेट दुख्ने आदि समस्या फोहोर शौचालयमा उत्पन्न हुने ब्याक्टेरियाको संक्रमणका कारण पनि हुने गर्छ । तसर्थ शौचालय सधैँ सफा राख्ने गरौँ । 
–एजेन्सीको सहयोगमा