१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:oo:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गोदाममै थन्किए विद्यालयका पुस्तक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:oo:oo

चालू शैक्षिक सत्रमा बिक्रीवितरण गर्न प्रकाशित गरिएका विद्यालयका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । निजी प्रकाशन गृहले निजी विद्यालयका लागि तयार गरेका ६५ प्रतिशत पुस्तक प्रकाशक तथा वितरकको गोदाममै थन्किएका छन् भने सरकारी विद्यालयका विद्यार्थीका लागि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तक पनि सरकारी विद्यालयमै थन्किएका छन् । 

कोभिड–१९ का कारण गत चैतदेखि देशभरका विद्यालय सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएका पाठ्यपुस्तक प्रकाशन गृह, वितरक र खुद्रा विक्रेताको गोदाममा थन्किएका हुन् । सरकारी विद्यालयका पाठ्यपुस्तकको अवस्था पनि उस्तै छ । विद्यार्थी लिन नआएपछि काठमाडौं उपत्यका सरकारी विद्यालयका पाठ्यपुस्तकसमेत विद्यालयकै गोदाममा थन्किएका छन् । 

सरकारले आगामी वर्ष केही कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको छ । यदि नयाँ पाठ्यक्रम लागू भएमा प्रकाशन गृहहरूले ठूलो क्षति बेहोर्नुपर्ने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष मनहरी बस्याल निजी विद्यालयका लागि तयार गरेका पुस्तक यस वर्ष ६५ प्रतिशत बिक्री नभएको बताउँछन् । ‘प्रकाशन गृह, वितरक र खुद्रा विक्रेताको गोदाममा गरी कक्षा १ देखि १० सम्मका तीन लाखभन्दा बढी सेट पुस्तक थन्किएका छन्,’ अध्यक्ष बस्यालले भने । 

कक्षा १२ सम्मका पाठ्यपुस्तक प्रकाशन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रमा ७६ प्रकाशन गृह सूचीकृत छन् । प्रायः सबैका पुस्तक गोदाममै थन्किएको अध्यक्ष बस्यालले बताए । आत्मनिर्भर हुन लागेको प्रकाशन क्षेत्र कोरोनाले तहसनहस भएको प्रकाशन गृहका सञ्चालकको भनाइ छ । अध्यक्ष बस्यालले भने, ‘छपाइ भएर वितरण गर्न तयारी अवस्थामा लकडाउन भएपछि पुस्तक बिक्री हुन पाएन, कोरोनाका कारण प्रकाशन गृहलाई नै धरासयी बनायो ।’ 

कोरोनाका कारण झन्डै ५० प्रतिशत विद्यार्थी विद्यालय नपुगेको र अनलाइन कक्षामा पनि नजोडिएका कारण पुस्तक बिक्री नभएको उनको भनाइ छ । दुई-तीनवटा बच्चा भएको परिवारमा अनलाइन पढाइका लागि स्मार्ट फोन र इन्टरनेट जोड्न कम्तीमा ५०–६० हजार खर्च हुने भएकाले पनि धेरै विद्यार्थीले कक्षा नलिएको पाइएको छ । केहीले पुरानै पुस्तक प्रयोग गरेकाले पनि नयाँ बिक्री नभएको जनाएको छ । 

नयाँ पाठ्यक्रम लागू भएमा एक अर्ब क्षति हुने
सरकारले ०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ । त्यसै योजनाअनुसार, यो वर्ष कक्षा १ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । आगामी वर्ष कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । 

आगामी वर्षमा नयाँ पाठ्यक्रम लागू भएमा यो वर्ष बिक्री नभएका कक्षा २, ३ र ६ का पाठ्यपुस्तक खेर जाने र झन्डै एक अर्ब क्षति हुने अध्यक्ष बस्यालले बताए । ‘सरकारले २०८० सम्म सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना प्रभावित नहुने गरी एक वर्ष ढिलो कक्षा २, ३ र ६ सहित एकैपटक थप अरू कक्षामा पनि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न माग गरेका छौँ,’ अध्यक्ष बस्यालले भने, ‘सरकारले हामीलाई सपोर्ट गरे नेपाली प्रकाशन गृह बाँच्न सक्छ, नगरे ७० प्रतिशत बन्द हुन्छन् र फेरि विदेशीको दबदबा हुन थाल्छ ।’ कक्षा २, ३ र ६ बाहेक अरू कक्षाका पाठ्यपुस्तक आगामी शैक्षिक सत्रमा समेत बिक्री गर्न सकिनेछ । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघमा पनि ध्यानाकर्षणपत्र बुझाएको छ । वाणिज्य महासंघको शिक्षा तथा सीप विकास समितिका सभापति गोपाल खनालले पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको मागमा आफूहरूको पनि समर्थन रहेको बताउँछन् । कोरोनाका कारण विद्यालय र प्रकाशन गृहले ठूलो क्षति बेहोरेकाले पाठ्यक्रम परिवर्तन गर्ने कार्यतालिका एक वर्ष पछि सार्दा राम्रो हुने समिति सभापति खनालको भनाइ छ । 

सरकारी विद्यालयमै थन्किए पाठ्यपुस्तक
सरकारले निःशुल्क उपलब्ध गराउने विद्यालयका पाठ्यपुस्तक समेत विद्यार्थीसम्म पुगेका छैनन् । काठमाडौं उपत्यकाकै सरकारी विद्यालयमा पाठ्यपुस्तक थन्किएका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट बिक्री भए पनि विद्यालयमा पुगेका सबै पुस्तक विद्यार्थीको हातमा पुग्न सकेका छैनन् । अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा सरकारले विनियोजन गरेको रकमअनुसार, विद्यालयले पुस्तक किनेका छन् । जनक शिक्षाबाट भने अघिल्लो वर्षजत्तिकै दुई करोड ६८ लाख थानको हारहारीमा पाठ्यपुस्तक बिक्री भएको प्रबन्ध निर्देशक महेश तिमल्सिनाले बताए । 

माथिल्लो कक्षा चढेका सबै विद्यार्थी विद्यालयमा नआएका कारण ३० प्रतिशतको हारहारीमा पाठ्यपुस्तक विद्यालयमै थन्किएका छन् । काठमाडौंको जुद्ध माविका प्रधानाध्यापक लक्ष्मण पौडेलले औसतमा ३० प्रतिशत पुस्तक वितरण गर्न बाँकी रहेको बताए । ‘कक्षा ९ र १० मा ८० देखि ८५ प्रतिशत पाठ्यपुस्तक वितरण भएको छ र तल्ला कक्षामा ३५ प्रतिशत वितरण गर्न बाँकी रहेको छ,’ प्रधानाध्यापक पौडेलले भने । पाठ्यपुस्तक लिन तिहारपछि केही विद्यार्थी आउने उनको उनको भनाइ छ । 

पद्मोदय माविका सहायक प्रधानाध्यापक नारायण गौतमले कक्षा ५ सम्म ५० प्रतिशत र माथिल्लो तहमा ८० प्रतिशत विद्यार्थीलाई पुस्तक वितरण भएको बताएका छन् । सहायक प्रधानाध्यापक गौतमले भने, ‘कोरोना महामारीले गर्दा विद्यार्थी उपत्यकाबाहिर गएका कारण पुस्तक लिन आएनन् । अब पढ्न आउने सम्भावना पनि कम देखिन्छ ।’
त्यस्तै, कक्षा ४ सम्म सरकारी विद्यालयका लागि निजी प्रकाशन गृहले पाठ्यपुस्तक प्रकाशन गर्दै आएका छन् । निजी प्रकाशनले छापेका सरकारी विद्यालयका पुस्तक पनि बिक्री हुन सकेका छैनन् । 

आर्थिक विषय बालबालिकाको शिक्षासँग जोड्नु हुँदैन
केशव दाहाल 
महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र

पुस्तक बिक्री नभएको विषयलाई शैक्षिक विषयसँग जोड्न मिल्दैन । आगामी शैक्षिक सत्रमा परिवर्तन हुने भनिएको पाठ्यक्रमलाई पुस्तक बिक्रीसँग जोडेर पछि सार्ने हुँदैन भन्ने लाग्छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आर्थिक हानि भएको छ भने आर्थिक राहत दिने सरकारी निकायसँग छलफल गर्नुपर्दछ । महासंघका पदाधिकारीसँग पनि आर्थिक विषय बालबालिकाको भविष्यसँग जोड्न मिल्दैन भनेको छु । उहाँहरूले चासो राखेपछि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा यससम्बन्धी जानकारी गराउँछु । 
 

ad
ad