१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १९ बुधबार
  • Friday, 09 May, 2025
२o७७ कार्तिक १९ बुधबार o७:४६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जसले चाउचाउ खान सिकाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १९ बुधबार o७:४६:oo

नेपालीहरूको खाजामा सर्वाधिक रोजाइमा पर्छ, चाउचाउ । ठूला सहरदेखि दूरदराजका गाउँसम्म चाउचाउ सजिलै भेटिन्छ । सबै नेपालीको प्रिय बनेको चाउचाउ संस्कृतिको जग नेपालमा रारा चाउचाउले बसालेको हो । नेपालमा ३० को दशकमै विदेशबाट फर्किने लाहुरेको ब्यागमा चाउचाउ हुन्थ्यो । बिस्तारै काठमाडौंका ठुल्ठूला किराना पसलेले चाउचाउ बिक्री सुरु गर्न थाले ।

सहरमा चाउचाउ चिनिन थालेकै समयमा सूर्यबहादुर केसीले पोखरामा रारा चाउचाउ उत्पादन सुरु गरेका थिए । दक्षिण एसियामै पहिलोपटक चाउचाउ उत्पादन गरेको श्रेय उनैलाई जान्छ । उनको कम्पनीले चर्चित ब्रान्ड ‘रारा चाउचाउ’ उत्पादन गर्छ । त्यसको लगत्तै विनोद चौधरीले वाइवाई उत्पादन सुरु गरे । लोकप्रिय चाउचाउ राराको उत्पादन तीसको दशकदेखि नै सुरु गरेका केसी व्यवसाय र राजनीति दुवैमा सफल थिए । राराले चाउचाउको एकसरो बजार खडा गरिदिएको थियो । वाइवाईले चाउचाउ खाने बानी नै बसालिदियो । 

नेपालमा पहिलो पटक भएको रारा चाउचाउको उत्पादनले मुलुककै औद्योगीकरणमा ठूलो बल पुर्‍याएको लक्ष्मी हाउसका अध्यक्ष गणेश श्रेष्ठ बताउँछन् । उमेरमा आफूभन्दा कान्छो भए पनि उद्योग स्थापनादेखि धेरै कुरामा केसीको सहयोग स्मरणीय रहेको उनले बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षसमेत रहेका श्रेष्ठले केसी पोखराको प्रधानपञ्च भएकै समयमा मन्दिर संरक्षणका लागि रकम छुट्याएकाले यहाँका धार्मिकस्थलको विकास सम्भव भएको उनको भनाइ छ । उनका अनुसार केसीको निधनले पोखराको उज्यालो ज्योति निभेको छ । 

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा स्वर्गीय केसीलाई सबै दृष्टिकोणले अब्बल व्यक्तित्वका रूपमा सम्झन्छन् । रारा चाउचाउ उद्योग, माछापुच्छ्रे बैंकको स्थापना, कालिका सामुदायिक क्याम्पस, मेडिकल कलेजसम्म स्थापनालगायतमा पाएको सफलताले यसलाई प्रमाणित गरेको उनले बताए । त्यसैगरी, केसीले जलविद्युत्मा गरेको लगानीले पनि देशका लागि महत्वपूर्ण योगदान दिएको उनले स्मरण गरे ।

केसी समूहले आफैँ टर्बाइन बनाउनेदेखि कन्स्ट्रक्सनसम्मको काम आफैँ गर्ने हुँदा स्वदेशी पुँजी र प्रविधिमा राम्रो उदाहरण पेस गरेको उनले बताए । स्वर्गीय केसी पोखराको छिनेडाँडामा रहेको होटेल टुरिजम म्यानेजमेन्ट कलेजका संस्थापक हुन् । सोही कलेजका साझेदार पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका अशोक पालिखे केसीलाई पोखराको विकासमा सधैँ चिन्तित व्यक्तिका रूपमा सम्झन्छन् । औद्योगीकरण, शिक्षा क्षेत्र र निर्माणको क्षेत्रमा स्वर्गीय केसीले गरेको इमानदारपूर्ण प्रयासले उनी सफल बनेको उनको विश्लेषण छ । केसी स्वयंसेवी राजनीतिज्ञ, लगनशील उद्योगपति र समाजसेवी रहेको उनले बताए । 

 सबै क्षेत्रमा सफल उद्योगपति 
स्व. केसीका पिता कृतिबहादुर केसी निर्माण व्यवसायी थिए । पोखराको विमानस्थल निर्माण आफ्नै पिताले ठेक्का लिएर बनाएको बताउने केसी आफू पनि ‘ए’ क्लासको निर्माण व्यवसायी थिए । केसीले आफ्ना साथीहरू कृष्ण आचार्य र फणीन्द्रमान श्रेष्ठसँग मिलेर गण्डकी नुडल्सको स्थापना गरी सिन्के चाउचाउ उत्पादन गरेका थिए । त्यो घाटामा भएपछि पोखराकै भूपू ब्रिटिस लाहुरेसहितका ३० जनाको समूह बनाएर ३० दशकमा रारा चाउचाउ उत्पादन गरे ।

०५८ सालसम्म आइपुग्दा उनीसँग रहेका अरू साझेदारहरू सबै बाहिरिए । ५० लाखबाट सुरु भएको चाउचाउ उद्योगमा अहिले १ अर्ब रुपैयाँभन्दा बढी लगानी छ । केसीले सन् २००५ मा ४.८ मेगावाटको गण्डकी हाइड्रोपावरमार्फत जलविद्युत् क्षेत्रमा पनि लगानी सुरु गरेका थिए । उनले एक मेगावाटको टास्क हाइड्रोपवार, १३ मेगावाटको सिकलेस हाइड्रोपावर, ४.५ मेगावाटको भगवती हाइड्रोपावर, अप्पर मादी, अप्पर सेती, विजयपुर–२ जलविद्युत् आयोजनामा लगानी गरेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशका हाइड्रोमा लगानी गर्न चाहेको उनी बताउँथे । केसी ग्रुपको तर्फबाट ४ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनी बताउँथे । हिमालयन गल्फ कोर्स, केसी हाउजिङ, नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज, कालिका समुदायिक कलेजका उनी संस्थापक थिए । उनले पोखरालाई नै आधार मानेर राष्ट्रियस्तरको वाणिज्य बैंक माछापुच्छ्रे  बैंकलाई स्थापना गरेका थिए ।

उद्योगपति तथा सांसद केसीको अन्त्येष्टि
उद्योगपति तथा संघीय सांसद सूर्यबहादुर केसीको मंगलबार पोखराको शान्तिघाटमा अन्त्येष्टि गरिएको छ । केसी ग्रुपका अध्यक्ष, माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष तथा रारा तथा आहा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिका अध्यक्ष रहेका केसीको बुधबार राति १०ः३० मा आफ्नै निवासस्थानमा निधन भएको थियो ।

स्वर्गीय केसीको पार्थिव शरीरमा छोराहरू प्रकाश केसी, किरण केसी र रोशन केसीले दागबत्ती दिए । विभिन्न ६ वटा हाइड्रोपावर कम्पनीका सञ्चालकसमेत रहेका केसी पोखरा छिनेडाँडाको नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेज तथा काठमाडौंमा इन्जिनियरिङ र मेडिकल कलेजका सञ्चालक पनि थिए । स्थानीय रेडियो बाराहीमा समेत उनको मुख्य लगानी रहेको थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीको निवासमै आयोजित शोकसभामा नेपाली कांग्रेसले पार्टीको तर्फबाट चारतारे झन्डा ओढाइएको थियो । पूर्वसभामुख ताराना रानाभाट, पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मालगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  

केसीको शोकमा पोखरा महानगरपालिकाले मंगलबार सबै वडा कार्यालयहरूमा बिदा दिइएको मेयर मानबहादुर जिसीले बताए । स्व. केसी ०४१ र ०४३ मा गरी दुईपटक पोखरा नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । लामो समयदेखि राजनीतिमा क्रियाशील केसी नेपाली कांग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यमा थिए । यसअघि उनी राप्रपाको केन्द्रीय कोषाध्यक्ष हुँदै पहिलो संविधानसभामा सभासद्समेत थिए ।