Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
युवराज ज्ञवाली
२०७७ कार्तिक १६ आइतबार ०९:४२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्ट पार्टीलाई कम्युनिस्टबाटै खतरा

अग्रलेख

Read Time : > 5 मिनेट
युवराज ज्ञवाली
२०७७ कार्तिक १६ आइतबार ०९:४२:००

अरूलाई दोष दिएरभन्दा आफैँलाई रूपान्तरण गरेर पार्टीलाई सच्चा लोकतान्त्रिक एवं कम्युनिस्ट पार्टीको रूपमा विकास गर्नुपर्छ

नेपालमा निरंकुश जहानियाँ राणाशासनको अन्त्य मात्रै होइन, सामन्ती र सम्राज्यवादी शोषणको समेत अन्त्यको आवाज उठाउँदै ००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले ००७ सालदेखिका तमाम क्रान्ति तथा बलिदानीपूर्ण संघर्षमा सक्रिय योगदान पुर्‍याउने मात्र नभएर पछिल्लो कालमा त्यसको नेतृत्वसमेत गर्दै आएको छ । ऐतिहासिक विकासका क्रममा कम्युनिस्टकै नाममा विभिन्न गल्ती–कमजोरी पनि भएका छन् । तर, मुलुकको समग्र अग्रगति र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा पुर्‍याउने महान् सफलताका लागि कम्युनिस्टको ठूलो योगदान छ । कम्युनिस्टको देश र जनताप्रतिको त्याग, तपस्या र बलिदानका कारणले नै अन्तिम कालमा आएर नेपाली जनताले झन्डै दुईतिहाइ मत दिई राज्यसत्ता सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी सुम्पेका छन् । 

नेपाली समाजमा युगौँदेखि दिन–रात पसिना बगाउँदा पनि गाँस–बास–कपास नपाएर अत्यन्त दुःखकष्टका साथ जीवन बाँच्ने श्रमजीवी जनताको विशाल पंक्ति एकातिर छ भने तिनै जनताको पसिना लुटेर पुस्तौँ–पुस्ता सुखसयल र भोग–विलासको जिन्दगी बिताउने मुठ्ठीभरका मानिसको पंक्ति अर्कोतिर छ । युरोपको एउटा देश जर्मनीमा जन्मेका कार्ल माक्र्सदेखि नेपालका पुष्पलाललगायत विश्वका तमाम नेता तथा विद्वान्ले विश्वमा देखापर्दै आएको यस किसिमको विभेद र अत्याचारको अन्त्यसँगै जनताको सुख–समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरे । नेपालका कम्युनिस्टसामु जनताको त्यो युगीन अभिभारा पूरा गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । कोभिड–१९ को महामारीका कारणले चुनौती थपिएको भए पनि यसलाई जनताको सेवा गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ । यसवेला रोग र भोकबाट पीडित जनतालाई पार्टीको शक्ति अनि राज्यसत्ताको स्रोत र साधनलाई ठीक किसिमले प्रयोग गर्न जान्ने हो भने जनताबाट कम्युनिस्ट नै हाम्रा सच्चा साथी रहेछन् भन्ने विश्वास प्राप्त गर्न सकिन्छ । तर, यतिवेला हामी हाम्रो शक्ति र राज्यसत्तालाई कसरी प्रयोग गर्दै छौँ ? आमजनताले गम्भीर प्रश्न गर्न थालेका छन् । हामीलाई प्रश्न गर्नु जनताको नैसर्गिक अधिकार हो । 

यतिवेला हाम्रा कतिपय गल्ती–कमजोरीलाई आधार बनाएर तमाम देशी, विदेशी प्रतिक्रियावादी शक्तिले वास्तवमा माक्र्सवाद नै गलत हो, कम्युनिस्ट सिद्धान्त नै बेठीक हो भन्दै जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरू आफ्नो शक्तिले भ्याएसम्म कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न चाहन्छन् । यो उनीहरूको वर्गीय चरित्र नै हो । तर, कम्युनिस्टले आफ्नो नीति, सिद्धान्त र निर्वाचनका वेला जारी गरेको घोषणापत्रको आधारमा जनताको पक्षमा राम्रो काम गर्न सक्ने हो भने प्रतिक्रियावादीको कुनै पनि प्रयासले कम्युनिस्ट आन्दोलन कमजोर हुँदैन । बाँकी रहेका अढाइ वर्षलाई ठीक ढंगले प्रयोग गर्ने हो भने अर्को निर्वाचनमा पनि जनताले पुनः विश्वास प्रकट गर्ने सम्भावना टरेको छैन । तर, यतिवेला कम्युनिस्ट पार्टीभित्र कतिपय यस्ता चिन्तन र प्रवृत्ति देखा पर्दै छन्, जसका कारणले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने खतरा देखा पर्दै छ । वेलैमा सचेत भएर आफूलाई निर्ममतापूर्वक सच्याउन सकिएन भने सोभियत संघ, पूर्वी युरोप र तत्कालीन कम्बोडियालगायत तमाम देशका कम्युनिस्टले भोगेको नियति हामीले व्यहोर्नुपर्दैन भन्न सकिँदैन । 

वेलैमा सचेत भएर आफूलाई निर्ममतापूर्वक सच्याउन सकिएन भने सोभियत संघ, पूर्वी युरोप र तत्कालीन कम्बोडियालगायत तमाम देशका कम्युनिस्टले भोगेको नियति हामीले व्यहोर्नुपर्दैन भन्न सकिँदैन

पछिल्लो आमनिर्वाचनदेखि मुलुकको कार्यपालिका र व्यवस्थापिकालगायत माथिल्लो संरचनामा कम्युनिस्टको नेतृत्व कायम छ । तर, मुलुकको अर्थतन्त्रमा पहिलेदेखि नै दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रण छ । मुलुकको हरक्षेत्रमा बिचौलियाको बिगबिगी छ । त्यस्तै तस्करी, बढ्दो भ्रष्टाचार र कमिसनका कारण सम्पूर्ण विकास निर्माणको काम प्रभावित छ । वैदेशिक एकाधिकार पुँजीवादको संरक्षण प्राप्त गरेको नेपालको दलाल पुँजीवादका कारणले मुलुकको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतामा आँच पुग्ने खतरा विद्यमान छ । यस्तो अवस्थामा दलाल तथा नोकरशाही पुँजीवाद नै नेपाल र नेपाली जनताको प्रगतिको प्रमुख बाधक भएको प्रस्ट छ । यो पुँजीवादले नेपालको अर्थतन्त्रमा मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर नकारात्मक प्रभाव पार्नुका साथै राजनीतिक क्षेत्रलाई पनि विभिन्न तरिका र उपायबाट आफ्नो नियन्त्रणमा राख्ने हरसम्भव प्रयत्न गरिरहेको छ ।

अहिलेको परिस्थितिमा कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको माथिल्लो संरचनाले आर्थिक आधारलाई जनताको हितअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । यदि त्यस्तो भएन भने दलाल पुँजीवादले माथिल्लो संरचनालाई आफ्नो हितअनुरूप बदल्नेछ । यो यतिवेलाको सबैभन्दा ठूलो चुनौती हो । यो कुराको सफलता र असफलताले नै मुलुकको भविष्य र अन्य धेरै कुरा निर्धारित हुनेछ । पार्टीका कतिपय नेता तथा कार्यकर्ता आर्थिक स्वार्थका लागि दलाल पुँजीवादको चंगुलमा फस्न पुगे भने उनीहरूको स्वार्थका कारण मुलुक र कम्युनिस्ट आन्दोलनले ठूलो मूल्य चुकाउनु पर्नेछ । अर्थात् मूलतः कम्युनिस्टभित्रकै केही भ्रष्ट व्यक्तिका कारण कम्युनिस्ट आन्दोलन ठूलो खतरामा पर्न सक्छ । 

विगतमा सोभियत संघको त्यही कम्युनिस्ट पार्टी हो, जसले आफ्नो नेतृत्वमा द्वितीय विश्वयुद्धमा विश्व प्रभुत्व कायम गर्न अघि बढेको हिटलरको सेनालाई परास्त गरेर आफ्नो देश मात्र होइन, विश्वलाई बचाउने भूमिका खेल्यो । तर, सन् १९९० सम्म आइपुग्दा आफैँभित्रका तमाम गल्ती–कमजोरीका कारण सोभियत संघको समाजवाद तासको महलझैँ ढल्यो । संसारभरिका कम्युनिस्टका लागि योभन्दा ठूलो शिक्षा अरू केही हुन सक्दैन । नेपालमा पनि आफ्नै कारणले स्थिति नबिग्रियोस्, हामीभित्रको समस्याको समाधान आफैँले खोज्नु जरुरी छ । पार्टीका हरेक दस्ताबेजमा ‘कम्युनिस्ट पार्टी सर्वहारा–श्रमजीवी वर्गको पार्टी’ भनेर उल्लेख गरिएको छ । तर, पार्टीभित्र क्रमशः वर्ग पक्षधरता कमजोर बन्दै गएको छ । पार्टीमा एकातिर सत्तास्वार्थको कारणले सम्पन्न वर्गका मानिसको प्रभाव बढ्दै छ भने अर्कोतिर पार्टीभित्रकै कतिपय व्यक्तिको सम्पत्तिमा अपारदर्शिता र अस्वाभाविक बढोत्तरी भएको देखिन्छ । यसले सम्बन्धित व्यक्तिको चिन्तन र प्रवृत्ति मात्र होइन, पार्टीको मूल चरित्र नै बदल्ने खतरा बढ्दो अवस्थामा छ । यसलाई रोक्ने र पार्टीमा श्रमजीवी वर्गको प्रभाव विस्तार गर्ने कसरी ? समाजवादलाई मूल कार्यदिशा मानिरहेको अवस्थामा पार्टीमा श्रमजीवी वर्गको उपस्थिति र प्रभाव बढाउन सकिएन भने समाजवादको विषय केवल पार्टीका दस्ताबेजमा मात्र सीमित हुनेछ । 

समाजवाद भनेको आफैँमा सामूहिकतावादी चिन्तन प्रवृत्ति हो । हाम्रो समाजमा डरलाग्दो रूपमा व्यक्तिवादी चिन्तन बढ्दै छ । कम्युनिस्टले आफ्नो पार्टीभित्रबाट सामूहिकतावादी चिन्तन, संस्कृति र संस्कारको विकास गर्नुपर्ने आवश्यकता छ । नेपाली जनताले कम्युनिस्टलाई साथ दिनुको महत्वपूर्ण कारण भनेको यिनीहरूले हाम्रो सेवामा आफ्नो जीवन समर्पित गर्दै आएका छन् भन्ने विश्वास नै हो । तर, खास गरी सत्तामा पुगेपछि हामीभित्र आत्मकेन्द्रित व्यक्तिवाद अत्यन्त खतरनाक रूपमा बढ्दै छ । यो आमकार्यकर्ता र जनताले देख्दै आएका छन् । कम्युनिस्टलाई समाप्त पार्ने यो एउटा अत्यन्त खतरनाक रोग हो । यसको समयमै उपचार गर्न सकिएन भने अरू कसैको कारणले होइन, कम्युनिस्टकै आफ्नै भित्री कारणले यो आन्दोलन बर्बाद हुनेछ । यसले कतिपय नेता, कार्यकर्तामा आफूले प्राप्त गरेको ठूलो पद र खाई–पाई आएको सुविधाबाट पछि हट्नुपर्ने हो भने भविष्यमा कहिल्यै उठ्न नसक्ने गरी यो पार्टीलाई तोडफोड गर्छु भन्ने चिन्तन देखा पर्न सक्छ । आत्मकेन्द्रित व्यक्तिवादले मान्छेलाई कम्युनिस्ट विचारको ठीक उल्टो बाटोतिर डोर्‍याउँछ । 

कुनै पनि गतिशील पार्टीमा विभिन्न विषयवस्तु र विचारगत आधारमा अस्थायी प्रकृतिका समूहगत स्वरूप देखिनु स्वाभाविक वस्तुगत पक्ष हो । तर, तुच्छ व्यक्तिगत स्वार्थ र आन्दोलनको अहित हुने गरी गुट सञ्चालन गर्नु, कम्युनिस्ट आन्दोलनलाई क्षत–विक्षत् पार्ने विघटनवादी प्रवृत्ति हो । पार्टी परिचालनका निश्चित वैज्ञानिक विधिका आधारमा यस किसिमको गलत प्रवृत्तिलाई परास्त गर्न सकिएन भने कम्युनिस्ट नामधारी कतिपय नक्कली व्यक्तिहरूका कारण कम्युनिस्ट आन्दोलन ठूलो खतरामा पर्न सक्छ । पार्टीका तमाम नेता तथा कार्यकर्ताको बलिदान र कठोर संघर्ष तथा नेपाली जनताको सहयोग र विश्वासको आधारमा आज जुन किसिमको शक्ति आर्जन भएको छ, यसलाई केही अमुक व्यक्तिको पुरुषार्थको परिणाम ठान्ने र यो शक्तिलाई देश र जनताको सेवामा भन्दा केही निश्चित व्यक्ति राता–रात करोडपति बन्ने साधनको रूपमा प्रयोग गर्न सक्ने खतरा बढ्दै छ । विचारगत रूपमा कम्युनिस्ट पार्टीले यस्तो काम गर्ने अनुमति दिँदैन, तर पार्टीको नीति र सिद्धान्तलाई लात मारेर शक्तिको दुरुपयोग गर्ने यस किसिमको प्रवृत्तिले पार्टीलाई बर्बाद पार्नुका साथै कम्युनिस्ट विचारमाथि नै जनताले अविश्वास गर्ने मात्र होइन, उनीहरू विरोधमै उत्रिने खतरा आउन सक्छ । यी विषयलाई अहिलेदेखि नै गम्भीर रूपमा लिएर यस किसिमका गलत प्रवृत्तिविरुद्ध आन्तरिक रूपमै दृढतापूर्वक वैचारिक संघर्ष सञ्चालन गर्नु आवश्यक छ । 

कम्युनिस्ट पार्टी आफैँमा समाज बदल्ने महत्वपूर्ण साधन हो । नेपाली समाजमा अनेक किसिमका सामन्ती र पुँजीवादी विकृति, विसंगति र कुसंस्कार व्याप्त छन् । यस किसिमका सामाजिक विकृतिले पार्टीका तमाम नेता तथा कार्यकर्तालाई प्रभावित पारेको छ । समाज बदल्नका लागि सबैभन्दा पहिले पार्टीभित्रकै नेता, कार्यकर्ताले आफूलाई बदल्नु जरुरी छ । जनताको मुक्तिका लागि कम्युनिस्ट पार्टीमा लागेका मानिसले मूलतः श्रमजीवी जनतालाई नै सर्वेसर्वा ठान्नुपर्छ । तर, कतिपय व्यक्ति जनताको शक्तिभन्दा पैसा र अलौकिक शक्तिको भरोसा गरेर अघि बढ्न थाले भने अनैतिक काम गरेर भए पनि धनी बन्नुपर्छ भन्ने मान्यताले प्रश्रय पाउँछ । यसले समाजमा नैतिकता मर्छ, न्याय मर्छ, इमानदारिता मर्छ । कम्युनिस्ट पार्टीमा नैतिकता, न्याय र इमानदारिता सबैभन्दा महत्वपूर्ण र अनिवार्य विषय हो, तर त्यो समाप्त भएपछि जतिसुकै ठूलो शक्ति निर्माण भए पनि त्यो अस्थायी र क्षणिक मात्र हुन्छ । 

नेपाली जनताले कम्युनिस्ट पार्टीको सरकारबाट ठूलो अपेक्षा गरेका छन् । अपेक्षा गर्नु अत्यन्त स्वाभाविक छ । अहिले पनि हाम्रो समाजमा गरिब र धनीबीचको अन्तर निरन्तर बढ्दै गएको छ । केही मुठ्ठीभरका मानिसको सम्पत्तिको पहाड तीव्र रूपमा चुलिँदै गएको छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार, अनैतिकता, हत्या, आत्महत्या, बलात्कार, विभेद आदि बढ्दो अवस्थामा छ । मुलुक निरन्तर परनिर्भताको दलदलमा भाषिँदै छ । व्यापार घाटा, वैदेशिक ऋण, मूल्यवृद्धिको क्रम निरन्तर बढ्दै छ । कम्युनिस्टको नीति, सिद्धान्त र कार्यक्रमले यो देशबाट उपर्युक्त सबै विषयलाई क्रमशः घटाउँदै अन्ततः त्यसलाई समाप्त पार्ने उद्घोष गरेको छ । त्यसकै लागि हजारौँले बलिदान दिएका हुन्, आफ्नो सारा जीवन समर्पित गरेका हुन् । समाजको प्रगति र विकासका लागि उपर्युक्त विषयमा व्यापक सुधार र परिवर्तन गर्न सकिएन भने जनताले कम्युनिस्ट पार्टी र उसको सरकारमाथि मात्र होइन, पार्टीको विचारमाथि नै अविश्वास गर्ने अवस्था सिर्जना हुनेछ । अन्ततः अहिलेको वास्तविकताको गहिराइमा गएर विश्लेषण गर्ने हो भने यतिवेला नेपालका कम्युनिस्टलाई बाहिरबाट भन्दा आफैँभित्रबाट मुख्य खतरा रहेको सच्चाइलाई ठीकसँग बुझ्नु जरुरी छ । अब अरूलाई दोष दिएरभन्दा नेता तथा कार्यकर्ताहरूले आफैँले आफैँलाई रूपान्तरण गरेर यो पार्टीलाई सच्चा लोकतान्त्रिक एवं कम्युनिस्ट पार्टीको रूपमा विकास गर्नुपर्छ । त्यसका लागि पार्टीव्यापी तिखो वैचारिक बहस आवश्यक छ ।