Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०६:४४:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

व्यक्ति–व्यक्तिका चाहना हुन्छन्, तर सबैले पद पाउँदैनन् - युवराज ज्ञवाली

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०६:४४:००

दशौँँ महाधिवेशनलाई सर्वसम्मत बनाउने प्रयास हुँदाहुँदै पनि निर्वाचनमा नै जानुपर्ने अवस्था सिर्जना भयो, यो कसरी भयो ? 
पदाधिकारीमा जो साथी हुनुहुन्थ्यो त्यसमध्ये केही अध्यक्षको सहमतिको सूचीमा पर्ने अवस्था रह्यो । केही साथी पर्नुभएन । त्यस्तै, केन्द्रीय सदस्यमा थोरै मात्र साथी पर्नुभएको छ । यसले गर्दा योग्यता पुगेका, क्षमता भएका, योगदान गरेका कतिपय पहिले केन्द्रीय समितिका सदस्य भएका पनि सूचीमा नपर्दा एकखाले असन्तुष्टि जन्मायो । मभन्दा जुनियर मान्छे पर्ने म किन नपर्ने भन्ने प्रश्न उठ्यो । सँगै सुरुदेखि नै भीम रावलले अध्यक्षमा दाबी गर्नुभयो ।

सहमतिका लागि महाधिवेशन हलमा निकै प्रयास हुँदा पनि उहाँले मान्नुभएन । कसैले पनि निर्वाचनमा जान्छुु भनेपछि तपाईं पाउनुहुन्न भन्ने हुँदैन । हाम्रो लोकतान्त्रिक पार्टी हो । सकेसम्म सहमतिको प्रयास गर्ने हो । सहमति भएन भने सहमति हुन नसकेकाजति पदमा निर्वाचनबाट टुंग्याउनुको विकल्प छैन । लोकतान्त्रिक प्रणालीमा सहमति र निर्वाचनको दुईवटै तरिका हो । हाम्रो महाधिवेशनमा यो दुईवटा नै तरिकाको प्रयोग भएको छ । सहमतिबाट आएका एकातिर हुने भए, अर्काथरी प्रतिस्पर्धाबाट आएका हुने भए । त्यो गर्दा एमालेभित्र उन्नत किसिमको लोकतान्त्रिक प्रक्रिया अपनाइएको छ । यसलाई पनि सकारात्मक ढंगबाट हेर्नुपर्छ । 

बन्दसत्र सुरु भएपछि प्रक्रिया सुरु हुनुपर्ने हो, तर अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव राख्नुभयो र नाम पढ्न थाल्नुभयो । विमति राख्ने भीम रावल, धनश्याम भुसाललगायतलाई आफ्नो मत राख्न खोज्दा उहाँले रोक्नुभयो । यसमा प्रश्न छ नि ? 
सकारात्मक ढंगले बुझ्दा यसलाई राम्रो पनि मान्न सकिन्छ । नकारात्मक ढंगले बुझ्नेलाई चुनाव गर्‍यो भने एमालेमा बेमेल भयो, पदमा प्रतिस्पर्धा भयो, एक–अर्कालाई निषेध गर्ने तरिकाले एमाले गयो, अन्तर्विरोध बढेर गयो , कमजोर भयो भनेर विश्लेषण गरिन्छ । अनि सबै सहमति गरेर जाँदा निरंकुशता लादियो, यहाँ चुनाव गर्ने वातावरण नै छैन भनेर पनि आलोचना गरिन्छ । अहिले दुईवटै आलोचना गर्नेहरूलाई कुनै ठाउँ छैन ।

हलबाट ‘हजारौँ प्रतिनिधिले हामी तलबाट सर्वसम्मत रूपमा निर्वाचित भएर आएका छौँ, अहिले एमालेमाथि संकट छ, एकथरीले पार्टी विभाजन गरेका छन्, पाँचदलीय गठबन्धन भनेर केही एमाले सिध्याउन लागेका छन् । यस्तो वेलामा हामी कोहीले हार्ने, कोहीले जित्ने गरेर जानुभन्दा सहमति गरेर माथि पनि टुंग्याउनुपर्छ’ भनेर आवाज आयो । हामी सहमतिको पक्षमा छौँ ।

अपेक्षाहरू धेरैका छन्, तर औचित्यताको आधारमा सन्तुलित किसिमको नाम तयार गरेर एउटा मापदण्ड बनाएर अध्यक्षमण्डलले प्रस्तुत गरोस् भन्ने कुरा हलबाट आएपछि सूची तयार भएको हो । जस–जसको असहमति थियो उहाँहरूले हामी प्रतिस्पर्धामा जान्छौँ भनेपछि सहमति हुनेजति सहमति गर्ने, जहाँ–जहाँ सहमति हुँदैन प्रतिस्पर्धाबाट टुंगो लाग्छ भनेर प्रक्रिया अगाडि बढेको छ । त्यसलाई रोक्ने कुनै काम भएको छैन । स्वच्छ र शान्त वातावरणमा लोकतान्त्रिक तरिकाले प्रक्रिया अगाडि बढिरहेको छ । बाहिरको हल्ला र अनावश्यक प्रचारभन्दा निकै फरक छ । 

दशबुँदेअनुसार तपाईंहरू केही नेता एमालेमा हुनुहुन्थ्यो । त्यो समयमा तपाईंहरूले स्वेच्छाचारी, निरंकुश भनेर नेतृत्वलाई आरोप लगाउनुभयो । तर, अहिले आफूले चाहेको पद वा पूर्वावस्थामा नै रहेपछि धेरै नेता मौन अवस्थामा हुनुहुन्छ नि ।
दशबुँदे सहमति गर्दा जे–जे गरिएको थियो लागू गर्ने सन्दर्भमा केही कमजोरी त देखियो । तर, समग्रमा त्यो लागू भइसक्यो । महाधिवेशनमा आइसकेपछि त दशबुँदेभन्दा पनि यहाँबाट निर्वाचित भएर जाने महत्वपूर्ण होला । प्रक्रिया अर्को दिशातर्फ गइसक्यो । दशबुँदे भन्ने सकिइसक्यो । दशबुँदे भन्दै गर्दा त्यो समयमा हामी कुनै गुट÷समूह थिएनौँ । हामी सबै एमाले हौँ । महाधिवेशनमा आएपछि त सबैले आफू पदमा आउन पाए हुन्थ्यो भन्ने लागिहाल्छ । विगतदेखि नै केपी ओलीलाई मान्दै आएको ठूलो पंक्ति, माओवादीबाट आएका साथीहरूले पनि म किन परिनँ भनेर बन्दसत्रमा कुरा राख्नुभएको थियो । दशबुँदेवाला सन्तुष्ट भएको, अरू असन्तुष्ट रहेको भन्ने होइन । महाधिवेशनमा सन्तुष्टि–असन्तुष्टि सबै हुन्छन् । अन्तिममा महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्छ । व्यक्ति–व्यक्तिका चाहना हुन्छन्, उनीहरूका सबै चाहना पूरा हुँदैनन् । सबैले पद पाउँदैनन् ।

विगतमा पार्टी अध्यक्षको भूमिका सबैप्रति समान रहेन भनेर विरोध गर्नुभयो । अहिले जुनियर नेता पदाधिकारीमा आउने अवस्था रह्यो, तर पार्टीभित्र निकै ठूलो योगदान रहेका व्यक्तिहरू हुनुहुन्न । यस्तो अवस्थामा यसलाई समान ढंगबाट गरिएको व्यवहार र नेतृत्व हो भनेर भन्न सकिएला ? 
सबैको इच्छा कुनै पनि पार्टीले पूरा गर्न सक्दैनन् । त्यो सम्भव हुँदैन । कम्युनिस्ट पार्टीको विधानमा नै आफ्ना फरक विचार, असन्तुष्टि पार्टी कमिटीमा उठाउनु भन्ने छ । हामीले आफ्ना असन्तुष्टि नारा लगाउँदै, अन्तर्वार्ता दिँदै हिँड्ने होइन । अनुशासनहीन र अराजक प्रवृत्तिका मानिसले त्यसो गर्दै हिँड्या हुन्छन् । तर, आमरूपमा नियम होइन । बाहिर बोलेका छैनन्, सडकमा नारा लगाएका छैनन् भन्दैमा आवाज नउठाएको भन्ने होइन । चित्त नबुझेका कुरा कमिटीभित्र उठाएका छौँ, उठाउँछौँ, उठाइरहनेछौँ । यो पार्टी कमिटीभित्रको नियम हो । सार्वजनिक रूपमा स्वाभाविक रूपमा पार्टीका निर्णयअनुसार बोलेका छौँ । 


यहाँको मत अध्यक्ष ओलीको सूचीअनुसार रहन्छ कि कसलाई रहन्छ ?
म यसमा बहुत स्पष्ट छु । यो फरक पार्टीसँगको प्रतिस्पर्धा होइन, फरक पार्टी भएको भए यसलाई मत दिन्छु भन्ने प्रचलन हुन्छ । तर, पार्टीभित्र व्यक्तिलाई भोट दिने हो । गुटलाई, समूहलाई भोट दिने होइन । त्यो गोप्य मतदान हुन्छ । मैले पनि मतदान गर्नुपर्ने हुन्छ, त्यो मेरो मतदान गोप्य हुन्छ । तुलनात्मक रूपले मेरो मनले जसलाई बढी उपयुक्त ठान्छ त्यसलाई मतदान गर्छु । सार्वजनिक रूपमा यसलाई भोट हाल्छु भनेर बोल्दिनँ, कसैकसैले बोल्छन् होला ।