मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
युवराज ज्ञवाली एमाले उपाध्यक्ष
निर्वाचन प्रिन्ट संस्करण

करोडमा खर्च हुने सुनेपछि मैले सांसदको टिकट लिइनँ : युवराज ज्ञवाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २७ आइतबार ११:५३:००

०७४ को निर्वाचनमा उम्मेदवार चयनलाई लिएर पार्टी स्थायी कमिटी बैठकमा निर्णय हुँदै थियो । दाङ ३ बाट चुनाव लड्ने प्रस्ताव आयो । छलफल सुरु हुनेबित्तिकै बैठकमा आधा घन्टा आफ्ना कुरा राखेँ । अहिलेको चुनावी प्रणाली धेरै महँगो भयो, यसलाई सुधारका लागि गम्भीर छलफल गर्नुपर्छ भन्ने प्रस्ताव गरेँ । हाम्रो पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्ता पनि चिन्तित भएका छन् भनेँ । 

त्यसवेला निर्वाचन आयोगका आयुक्तहरूले पनि यो विषय बोलिरहेकै थिए । उनीहरूले सांसदका लागि चुनाव लड्दा करोडौँ खर्च गर्नुपर्ने गम्भीर अवस्था छ भनिरहेका थिए । अर्को चुनावमा झन् बढ्दै जान्छ भन्ने सोचेर एमालेजस्तो पार्टीले के गर्दा कम गर्न सकिन्छ गम्भीर समीक्षा गर्न जरुरी छ भनेको थिएँ । नियम–कानुन परिवर्तन गरेर हुन्छ कि, चुनावी प्रणालीमै परिवर्तन गर्ने हो वा पार्टी सञ्चालनमा पो ध्यान दिनुपर्ने हो, सोचौँ भनेँ । 

हामीले ०४८ र ०५६ को चुनावमा व्यापक कार्यकर्ता परिचालन गरेका थियौँ । त्यतिवेला व्यक्तिले भन्दा पनि पार्टीले नै खर्च व्यर्होने चलन थियो । तर, पछिल्लो कालखण्डमा खर्च व्यक्तिकेन्द्रित भयो । चुनाव लड्न पैसा भएकै हुनुपर्ने, पैसा भएका व्यक्तिसँग सम्पर्क भएकै हुनुपर्ने भयो । पैसा नभएका, तर जनता र पार्टी कार्यकर्ताबीच लोकप्रिय र इमानदार भए पनि त्यस्ता व्यक्ति पछाडि हट्नुपर्ने स्थिति भयो । 

दाङको मेरो चुनावी क्षेत्र ठूलै थियो । पार्टीभित्रै बुझ्दा कमसेकम एक करोड रुपैयाँ तयार नपार्ने हो भने अगाडि बढ्न अप्ठ्यारो छ जस्तो देखियो । यो बुझेपछि यस्तो चुनाव लडेर केही फाइदा छैन र सम्भव पनि छैन भन्ने मलाई लाग्यो । धेरै खर्च गर्दा ऋण लाग्छ, कसरी तिर्ने ? प्रश्न उठ्यो । गलत बाटो खोज्नुपर्ने हुन्छ, जवाफ यही थियो । यो अवस्था देखिएपछि लड्दिनँ भनेर छाडेको हुँ । 

निर्वाचन प्रणालीमै सुधार गर्नुपर्छ भन्ने मान्यतामा उभिएँ । तर, त्यो प्रस्तावमाथि पार्टीभित्र खासै छलफल अघि बढेन । तत्कालीन नेकपाभित्र पनि किचलो मात्र भयो, यो विषय एजेन्डै बनेन । पार्टीमा छलफल र निष्कर्षमा पुग्ने वातावरण भएन । तर, यो देशकै एजेन्डा हो, विषय त्यतिकै रहेको छ । विभिन्न पार्टीका नेताले वेलावेलामा उठाए पनि निष्कर्षमा पुग्ने काम भएको छैन । गम्भीर रूपमा ध्यान जानुपर्छ । मुख्य रूपमा मुख्य पार्टीका प्रमुख नेताहरूको ध्यान जान जरुरी छ ।