
सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदानबापतको रकम जम्मा गर्ने समय थप गरेको छ । कोषले एक सूचना जारी गर्दै देशमा विद्यमान असहज परिस्थितिलाई ध्यानमा राख्दै समय थप गरेको जनाएको छ ।
अब योगदानकर्ताले साउन महिनाको योगदानबापतको रकम ५ असोजसम्म कोषमा जम्मा गर्न सक्नेछन् । सोहीअनुसार रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न सक्ने कोषका कार्यकारी निर्देशक कविराज अधिकारले जनाए ।
२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा अराजक समूहले निजी क्षेत्रका उद्योग व्यवसायमा समेत तोडफोड, लुटपाट र आगजनी गरेका थिए । प्रदर्शनकारीले होटेल तथा रेस्टुरेन्ट, सुपरमार्केट, केबलकार, गाडीका सोरुम, गोदाम र निजी आवासमा समेत आक्रमण गरेका थिए । यस आक्रमणबाट रोजगारदाता तथा योगदानकर्तासमेत प्रभावित भएपछि कोषले रकम जग्मा गर्ने अवधि थपेको हो । यसअघि कोभिड– १९ महामारीका वेलासमेत यस्तो सुविधा दिइएको थियो । सामाजिक सुरक्षा ऐनअनुसार योगदानयोग्य आय भुक्तानी गर्नुपर्ने महिना समाप्त भएको १५ दिनभित्र कोषमा रकम जम्मा गरिसक्नुपर्छ ।
कोषमा साढे २५ लाख व्यक्ति आबद्ध, ७४ अर्ब मौज्दात
सामाजिक सुरक्षा कोषमा भदौ मसान्तसम्म कुल २५ लाख ४१ हजार दुई सय ५७ जना योगदानकर्ता आबद्ध भएका छन् । यसमध्ये औपचारिकतर्फबाट २१ हजार आठ सय ९० रोजगारदाता र ६ लाख ३१ हजार तीनजना योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका १८ लाख ८७ हजार ५० जना, अनौपचारिक रोजगारीबाट सात सय ८९ जना, स्वरोजगारबाट पाँच सय २५ जना कोषमा आबद्ध भएको कोषको तथ्यांक छ ।
सबैभन्दा बढी आबद्धता कोशी र कम कर्णालीबाट
कोषमा आबद्ध हुनेमध्ये सबैभन्दा बढी प्रतिनिधित्व बागमती प्रदेशको छ । बागमतीबाट १४ हजार ६५१ रोजगारदाता र चार लाख ७३ हजार तीनजना योगदानकर्ता गरी कुल चार लाख ८७ हजार ६५४ जना आबद्ध छन् । त्यस्तै, सबैभन्दा कम प्रतिनिधित्वचाहिँ कर्णालीबाट २९ सय ४६ जनाको छ ।
साथै, कोशीबाट ७२ हजार २७९ जना, मधेशबाट ३२ हजार २५५ जना, गण्डकीबाट २८ हजार ११७ जना, लुम्बिनीबाट २५ हजार ७३० जना र सुदूरपश्चिमबाट ३९ सय १२ जना रोजगारदाता एवं योगदानकर्ता कोषमा जोडिएका छन् ।
कोषले हालसम्म ९० अर्ब ५४ करोड रुपैयाँ रकम संकलन गरेको छ भने १६ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । यसरी हेर्दा, कोषमा करिब ७३ अर्ब ८२ करोड रुपैयाँ मौज्दात रहेको देखिन्छ ।