१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक ६ बिहीबार १३:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना भाइरसविरुद्धको खोप लगाएका ब्राजिलका एक व्यक्तिको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक ६ बिहीबार १३:५२:००

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दिएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिएका व्यक्तिको मृत्यु भएको जनाएको छ । 

तर, एभिन्साले खोप परीक्षण जारी रहने जनाएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइनसकेको पनि जनाएको छ । तर, एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ । 

अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिसबमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ । विश्वविद्यालयले क्लिनिकल परीक्षणबारे सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ । खोप निर्माता अस्ट्राजेनिकाले भने घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्नेबारेमा पनि केही बताएको छैन । 

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र एक लाख ५४ हजार आठ सय ३७ जनाको मृत्यु भइसकेको छ ।