मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
दीपक अधिकारी काठमाडाैं
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १९:३८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ मा सांसदको दसैँ भत्ता : कांग्रेसले कोरोना कोषमा जम्मा गर्ने, नेकपा अलमलमा, जसपाले पार्टी कोषमा राख्ने

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

कोरोना कहरमा सांसदहरूलाई दसैँ भत्ता लिएको विषयमा चौतर्फी आलोचना भएपछि फिर्ता गर्ने क्रम चलेको छ । केन्द्रमा मात्र होइन, प्रदेशमा पनि फिर्ता गराउने क्रम चलेको छ । 

कांग्रेसले प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलाई पत्र पठाएर दसैँ  भत्ताको नाममा लिएको रकम प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्न निर्देशन दिएको छ । नेता यादवले भने, ‘दसैँ  भत्ता फिर्ता गर्न पार्टीबाट निर्देशन आएकोले हामी त्यो रकम कोभिड कोषमा जम्मा गर्छौँ ।’

आगामी पारिश्रमिक तथा सेवा–सुविधाबाट कट्टा गरिने गरी कोभिड कोषमा जग्गा गर्न सभामुख, प्रदेश सभा सचिवालयका सचिव तथा लेखा शाखा सबैलाई जानकारी गराइसकेको यादवले बताए । 

प्रदेश २ नेकपा अलमलमा 
केन्द्रमा नेकपाका सांसदले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरे पनि प्रदेश २ का नेकपा सांसद भने अलमलमा छन् । प्रदेश २ नेकपाका संसदीय दलले अहिलेसम्म कुनै निर्णय गरेको छैन । 

नेकपाका प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले केन्द्रमा  दसैँ  भत्ता कोभिड कोषमा जम्मा गर्ने गरी रकम फिर्ता गरेको सुने पनि प्रदेश २ का विषयमा अहिलेसम्म पार्टीको कुनै आदेश नआएको बताए । ‘दसैँ भत्ता फिर्ताको विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन,’ नेता मण्डलले भने, ‘उहाँहरूसँग छलफल गरेर मात्रै केही भन्न सकिन्छ । धेरैसाथीहरू दसैँ  भत्ता फिर्ता गर्ने मनसायमा देखिएका छैनन् । कतिपय साथी त पार्टीको लेबी दिन पनि दिक्क मान्छन्, पाइसकेको दसैँ भत्ता फिर्ता गराउन त झन् कठिन छ । तैपनि म प्रयास गरिरहेको छु ।’

जसपाले पार्टी कोषमा जम्मा गर्ने 
जनता समाजवादी पार्टी (जसपा)ले भने दसैँ  भत्ता पार्टीको कोषमा जम्मा गर्ने भएको छ ।  कोभिड कोषको रकम संघीय सरकारले हिनामिना गर्ने गरेकोले सांसदहरूले बुझेको दसैँ  भत्ता पार्टी कोषमा जम्मा गर्ने निर्णय भएको जसपाका कार्यकारणी समिति सदस्य गजाधर यादवले बताए । पार्टी कोषमा जम्मा भएको रकम कोरोना प्रभावितलाई सहयोग गरिने उनले स्पष्ट पारे । 

यसैबीच, रिजावान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्री साहले दसैँ भत्ता फिर्ताको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताइन् । प्रदेश सभामा दलको एक्लो सांसद भएकाले उनले संसदीय दलको नेताको सेवा सुविधा लिँदै आएकी छिन् ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रीहरूले बुझेको दसैँ  भत्ताको विषयमा कुनै निर्णय नभएको बताए । तर, एक–दुई दिनमै  दसैँ भत्ताको विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल हुने मन्त्री यादवले बताए ।