मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असोज ३० शुक्रबार ०८:१६:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

नयाँ पुस्तकसँगै दसैँ

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असोज ३० शुक्रबार ०८:१६:००

दसैँको बिदालाई लक्षित गरी नेपाली बजारमा नयाँ पुस्तक निकाल्ने क्रम बढ्दो

कोरोना महामारीका कारण यस वर्ष त्यति धेरै पुस्तक बजारमा आएनन् । अधिकांश लेखक तथा प्रकाशकले सार्वजनिक कार्यक्रम नगरीकन पुस्तक बजारमा ल्याए । प्रायः नयाँ पुस्तक बजार आउँदा सार्वजनिक कार्यक्रम गरेर विमोचन गर्ने संस्कृति थियो । तर, कोरोनाका कारण त्यो सम्भव रहेन । विशेषतः सामाजिक सञ्जालबाटै पुस्तकहरू सार्वजनिक गरिए । बजारमा आएका केही पुस्तकले राम्रै प्रतिक्रिया पाएका छन् । पुस्तक प्रेमीहरूले अनलाइन अर्डर गरेर नयाँ–नयाँ पुस्तक खरिद गरेका छन् । एक समय थियो, सार्वजनिक कार्यक्रम गरेर पुस्तक विमोचन नगरे हल्लै हुँदैन या पाठकले थाहा पाउँदैन थिए । सेलेब्रिटीदेखि नेतासम्मले पुस्तक विमोचन गर्थे । कतै रेस्टुरेन्टमा विमोचन हुन्थ्यो, कतै पार्टी प्यालेसमा । कतै थिएटरमा, कतै एकेडेमीको डबलीमा । कोरोना महामारीका कारण ती सबै कार्यक्रम हुन सकेनन् । र, पनि पुस्तक आउने क्रम रोकिएन । 

भर्खरै लेखक खगेन्द्र संग्रौलाको पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भयो । अमेरिकी लेखक मेरी डोसेनले छनोट गरेका विश्वका आठ चिन्तकका ११ निबन्धलाई संग्रौलाले यस पुस्तकमा अनुवाद गरेका छन् । विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ड आइन्स्टाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जिन, एडवर्ड डब्लु सइदका चर्चित वैचारिक निबन्ध पुस्तकमा समेटिएका छन् । भर्चुअल रूपमा संग्रौला स्वयंले सार्वजनिक गरेको पुस्तकबारे उनले भनेका छन् ‘यो पुस्तक सत्य र सत्ताबीचको विमर्श हो । यसले आजको विश्व व्यवस्थाप्रति विमर्श गर्छ । विश्वव्यवस्थाबाट निश्चित भएको संस्कृति, त्यसबाट निश्चित भएको जीवनशैली र अहिलेको विश्वव्यवस्थाको विनाशक चरित्रमाथि यसले गम्भीर रूपमा विमर्श गर्छ ।’  

कथाकार विना थिङ तामाङको कथासंग्रह ‘याम्बुनेर’ कोरोना महामारीकै क्रममा बजारमा आयो । कुनै औपचारिक कार्यक्रमविना बजारमा आएको यो पुस्तकले सामाजिक सञ्जालमा राम्रै प्रतिक्रिया पायो । काठमाडौं उपत्यकामा बस्ने भुइँमान्छेको कथालाई पुस्तकमा समेटिएको कथाकार थिङ बताउँछिन् । उनका अनुसार काठमाडौंबाट बहिस्कृत गरेर एक किसिमको अवस्थामा पुगेका मानिसहरूको कथा हो, ‘याम्बुनेर’ । अनौपचारिक रूपमा बजारमा आएको यो पुस्तकबाट प्राप्त प्रतिक्रियाका आधारमा कथाकार थिङ भन्छिन्, ‘टेक्स्टमा विश्वास भए जहिले निकाल्दा पनि हुने रहेछ । धूमधामसँग औपचारिक कार्यक्रम गरेर विमोचन गर्दा पनि पुस्तक बिक्री हुन्छ भन्ने विश्वासचाहिँ लाग्दैन ।’ यो पुस्तकलाई फिनिक्स पब्लिकेसनले बजारमा ल्याएको हो ।

यस्तै अर्को पुस्तक पनि सार्वजनिक भएको छ, ‘युगान्त’ । यो पनि अनुदित किताब हो । सुजित मैनालीले अनुवाद गरेको यो पुस्तक इरावती कर्वेद्वारा लिखित तथा सन् १९६७ को अकादमी पुरस्कार विजेता पनि हो । पुस्तक भर्चुअल्ली सार्वजनिक गर्दै मैनालीले भनेका छन्, ‘यो पुस्तकले महाभारत नपढेकाहरूलाई महाभारतसम्बन्धी सोलोडोलो जानकारी दिन्छ र पढिसकेकालाई नयाँ दृष्टिकोण दिन्छ ।’ महाभारतको अन्तरकुन्तरमा लुकेका मसिना कुरालाई आलोचनात्मक दृष्टिसहित पुनर्व्याख्या गर्न खोज्ने पाठकका लागि यो पुस्तक उपयोगी हुने पनि मैनालीको विश्लेषण छ । उनी थप्छन्, ‘यसमा महाभारतका प्रमुख पात्रहरूको चित्रण र विश्लेषण गहिराइमा पुगेर गरिएको छ । १८ दिने महाभारतको युद्धले पूरै युग समाप्त गरेको र नयाँ पुग आरम्भ भयो भन्ने निष्कर्ष यो पुस्तकको छ ।’
नोबेल पुरस्कार विजेता अमेरिकी लेखक जोन स्टेनबेकको उपन्यास ‘मुसा मानुष’ पनि बजारमा आएको छ । लेखक गनेस पौडेलले सार्वजनिक गरेको यो पुस्तकले सन् १९३० को मन्दीपछि अमेरिकामा भुइँमान्छेले बाँच्नका लागि गरेको संघर्ष र दुई मित्रको हृदयविदारक कथा भन्छ । अनुवादक पौडेलले पश्चिमाञ्चल क्षेत्रको स्थानीय लवजमा अनुवाद गरेको यो पुस्तक आफूले किशोर अवस्थामा पढेको र आजीवन भुल्न नसकेकाले नेपाली पाठकका निम्ति अनुवाद गरेको बताएका छन् । 

                                                                           .......

लकडाउनबीचमा बजारमा आएको अनुवाद पुस्तकको शृंखला यतिमै रोकिँदैन । लेखक शिवा शाहले लेखेको ‘कान्छी महारानी’लाई पनि सगुना शाहले अनुवाद गरेकी छिन् । १०४ वर्षे राणाशासनको महत्वपूर्ण कालखण्डलाई आधार बनाएको यो उपन्यासले दिदीबहिनी साम्राज्यराज्यलक्ष्मी र राजेन्द्रलक्ष्मीको कथा भन्छ । साथै द्वन्द्व, ईष्र्या, बहुलठ्ठीपन, प्रेमलगायत कुरा, सत्ता आरोहण र चलखेल साथै राजेन्द्र लक्ष्मीको पतनको कथा पुस्तकले भनेको छ । सांग्रिला पब्लिकेसनले बजारमा ल्याएको पुस्तकबारे शाह भन्छिन्, ‘इतिहासको कालखण्डलाई महिलाको दृष्टिकोणबाट मिहिन ढंगले केलाइएको पुस्तक भएकाले नेपाली पाठकलाई पनि उपयोगी हुन्छ भनेर अनुवाद गरेकी हुँ ।’

नेपाल भाषामा लेखिएको अर्को पुस्तक पनि बजारमा आएको छ, ‘विमुक्ति’ । मल्ल के सुन्दरले लेखेको ‘व लापु स् थ्व पलास्’को नेपाली अनुवाद राजेन्द्र महर्जन र महेशराज महर्जनले गरेका हुन् । बौद्ध भिक्षुणी र छापामार युवतीको माध्यमबाट दश वर्षे जनयुद्धको एउटा पाटोको मर्मान्त कथा प्रस्तुत गरेको छ यो पुस्तकले । पुस्तकबारे लेखक सुन्दरले भनेका छन्, ‘जनयुद्धको कथामार्फत मैले नेपाली समाजको वर्गीय चित्रलाई यस उपन्यासमा प्रस्तुत गर्ने कोसिस गरेको छु ।’ ‘सत्ता र सत्य’, ‘युगान्त’, ‘मुसा मानुष’ ‘विमुक्ति’ बुक हिलले बजारमा ल्याएको हो । लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ लाई किताब पब्लिसर्सले बजारमा ल्याएको छ । आदिम मान्छेहरूको कथा सम्बन्धित ‘मोक्षभूमि’ दसैं बिदाका लागि पाठकहरूलाई गतिलो खुराक बन्न सक्छ ।

                                                                        ......

फाइन प्रिन्ट पब्लिकेसनले अर्थशास्त्री एवं पूर्वराजदूत विश्वम्भर प्याकुरेलको संस्मरण ‘आफैँलाई खोज्दा’ बजारमा ल्याएको छ । प्याकुरेलले आत्मसंस्मरणबारे भनेका छन्, ‘जीवनमा लामो यात्रा गरिसकिएछ । कति मित्र स्वर्गीय भइसके, कति साथी सम्पर्कविहीन भइसके । मेरा पनि पेसा, रुचि बदलिए । मित्र, संवाद, विषयवस्तु बदलिइए । र, मैले जीवनमा घटेका सबै घटनालाई पुस्तकमा समेटेको छु ।’ प्याकुरेलका अनुसार लुकाउन खोजेका कति कुरा उघारिएका छन्, उघार्न खोजेका कति कुरा झनै उघारिएका छन् ।

फाइन प्रिन्टले नै विजय कुमारको ‘सम्बन्धहरू’ बजारमा ल्याएको छ । गैरआख्यान शैलीमा लेखिएको यो पुस्तकमा लेखकले जीवनको अस्थायीपन, अनित्य र क्षणिकताबीच यसमा प्रेम र अमरत्वको खोजी गरेको बताइएको छ । अक्षर क्रियसन्सले अर्चना थापाको सम्पादनमा तयार भएको ‘स्मृतिकथामा सत्व’ पुस्तक पनि बजारमा ल्याएको छ । यसमा नारी हुनुका अनुभूतिसँगै पुरुष हुनुका अनुभव, फरक लैंगिक र यौनिक परिचयका अनुभव, पारिवारिक, सामाजिक र सांस्कृतिक अंकुशहरू, व्यक्तिगत संघर्ष र सामाजिक न्यायका विषयहरू समेटेर पुस्काकारको रूप दिएको थापाको भनाइ छ । यो पुस्तकमा २४ जना लेखकको अनुभूति छन् । 

यसबीचमा राजीव उपाध्यायको ‘कबाल्स एन्ड कार्टेल्स’, सरला गौतमको ‘डुमेरो’, भुवन ढुंगानाको मदन पुरस्कारको सूचीमा सूचीकृत ‘परित्यक्ता’, सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’, नारायण ढकालको कथासंग्रह ‘तमस’, मनुजबाबु मिश्रको ‘एकलानुभूति’ जीवा लामिछानेको नियात्रा ‘देश देशावर’लगायत पुस्तक सार्वजनिक भएका छन् । दसैँको बिदामा सदुपयोग हुने उद्देश्यले यी पुस्तक बजारमा ल्याएको प्रकाशकहरू बताउँछन् ।