मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई
२०७७ असोज १४ बुधबार १५:२०:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना असर : डिज्नेले क्यालिफोर्निया र फ्लोरिडाबाट २८ हजार कामदार हटाउने

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज १४ बुधबार १५:२०:००

मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्त राज्य अमेरिकाका पार्कमा कार्यरत कर्मचारीमध्ये २८ हजार अर्थात् झन्डै एकचौथाइलाई हटाउने घोषणा गरेको छ । कोरोना महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नुपरेको मंगलबार जनाएको छ । 

शारीरिक दूरीका नियमहरूका कारण डिज्नेका मनोरञ्जन स्थलहरू नराम्रोसँग प्रभावित भएको डिज्नेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कोरोना संक्रमणबाट तत्काल उन्मुक्ति प्राप्त हुने अवस्था नभएकाले बाध्य भएर कर्मचारी हटाउनुपरेको उल्लेख छ । 

डिज्ने पार्कका अध्यक्ष जस डिअमारोले डिज्नेका लागि कर्मचारी कटौती नै एक मात्र सम्भाव्य विकल्प रहेको पनि बताए । क्यालिफोर्निया र फ्लोरिडामा मात्र कोरोना संक्रमण हुनुअघि डिज्नेका पार्कहरूमा झन्डै एक लाख १० हजार कर्मचारी कार्यरत थिए । अब यी पार्कमा करिब ८२ हजार व्यक्तिले मात्र रोजगारी पाउनेछन् । 

गत जुलाईको मध्यमा वाल्ट डिज्ने वर्ल्डले फ्लोरिडाका पार्कहरू आंशिक रूपमा खोलेको थियो । तर, कोरोना भाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिस पार्कमा आएका थिए । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसको महामारीबाट अमेरिकामा अहिले पनि सर्वाधिक असर परेको छ । यहाँ दुई लाख पाँच हजार सात सय ७४ जनाको मृत्यु भइसकेको छ भने ७१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।