१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १४ बुधबार
  • Monday, 30 June, 2025
२o७७ असोज १४ बुधबार १४:o८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

२८ वर्षअघिको बाबरी मस्जिद तोडफोड घटना : भाजपा नेता आडवाणीसहित ३२ जनाले पाए सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १४ बुधबार १४:o८:oo

०४९ मंसिर २१ गते (सन् १९९२ डिसेम्बर ६) उत्तर प्रदेशको अयोध्यास्थित बाबरी मस्जिद तोडफोडको आरोप लागेका भाजपा वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरलीमनाेहर जोशीसहित ३२ जना निर्दोष भएको अदालतले फैसला गरेको छ । 

लखनउस्थित सिबिआई अदालतले बुधबार उनीहरूसहित ३२ जना आरोपीलाई सफाइ दिएको हो । अदालतका न्यायाधीश सुरेन्द्रकुमार  यादवले फैसला सुनाउने क्रममा उक्त घटना सुनियोजित नभएको भनेका छन् । 

करिब दुई हजार तीन सय पृष्ठको फैसलामा अदालतले घटना सुनियोजित नभएको र उनीहरूको संलग्नता रहेको प्रमाण नभेटिएको उल्लेख गरेको छ । 

आरोपी ३२ जना सबैलाई दुई साताअघि अदालतले सशरीर अदालतमा उपस्थित हुन आदेश दिएको थियो । 

तर, भाजपाका वरिष्ठ नेताहरू अदालत उपस्थित नभएको उनीहरूको वकिललाई उद्धृत गर्दै द हिन्दूले जनाएको छ । आरोपीहरूमध्ये जम्मा २६ जना अदालतको सुनुवाइमा उपस्थित थिए । 

नवभारत टाइम्सका अनुसार २८ वर्षअघि भएको उक्त घटनामा ४९ जनामाथि मस्जिद तोडफोडको आरोपमा मुद्दा दायर भएको थियो । 

यीमध्ये १७ जना आरोपीको मुद्दा मामिलाका क्रममा मृत्यु भइसकेको छ । निर्दोष साबित भएकाहरूमा आडवाणी, जोशीसहित महन्त नृत्य गोपालदास, कल्याण सिंह, उमा भारती, विनय कटिया, साध्वी ऋतम्भरा, रामविलास बेदान्ती, धरम दास, सतिश प्रधान, चम्पत राय, पवनकुमार पाण्डेय, बज्रभूषण सिंह, जय भगवान गोयल, महाराज स्वामी साक्षी, रामचन्द्र खत्री, अमन नाथ गोयल, सन्तोष दुबे, प्रकाश शर्मा, जयभान सिंह पवेया, विनयकुमार राय, लल्लु सिंह छन् । यसैगरी ओमप्रकाश पाण्डेय, कमलेश त्रिपाठी, धर्मेन्द्रसिंह गुर्जर, रामजी गुप्ता, विजयबहादुर सिंह, नवीनभाइ शुक्ला, आचार्य धर्मेन्द्रदेव, सुधीर कक्कड र रवीन्द्रनाथ श्रीवास्तवले सफाइ पाएका छन् । 

बाबरी मस्जिद तोडफोडपछि त्यही दिन अयोध्यास्थित प्रहरी स्टेसनमा एफआइआर दर्ता भएको थियो । 

गत वर्ष अदालतले विगतमा झडप भएको उक्त भूमि  राम जन्मभूमि भएको फैसला गरेको थियो । सबै आरोपी निर्दोष साबित भएर अदालतले सफाइ दिएपछि अदालतमा सहभागी सन्तहरूले मिठाई बाँडेर खुसियाली मनाएका छन् ।

२८ वर्षअघि अयोध्यामा विश्व हिन्दू परिषद्को अगुवाइमा डेढ लाख कारसेवक (स्वमंसेवी)हरूको भिडले मस्जिद तोडफोड गरेको थियो । भाजपा, राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता पनि त्यस दिन सहभागी थिए । 

भाजपा नेता आडवाणी, जोशी, भारतीलगायतले मस्जिद रहेको ठाउँ राम जन्मभूमि रहेको भन्दै भाषण गरेका थिए । 
त्यसको केही घन्टामै मस्जिद तोडफोड भएको थियो ।

त्यसले केही महिनासम्म मुम्बई, भोपाल, कानपुरलगायतका ठाउँमा मच्चाएको साम्प्रदायिक दंगामा करिब दुई हजारजनाको मृत्यु भएको थियो । 

अदालतको फैसलापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कंग्रेस सरकारको राजनीतिक पूर्वाग्रहका आधारमा भाजपा नेताहरूमाथि मुद्दा चलाइएको भन्दै अहिले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् । 

रक्षामन्त्री राजनाथ सिंहले पनि राजनीतिक पूर्वाग्रहका आधारमा नेताहरूलाई फसाउन खोजिएको, तर न्यायालयले न्याय दिएको बताएका छन् । 

भाजपा नेता राम माधवले पनि फैसलाको स्वागत गरेका छन् । भारतका सञ्चार तथा प्रसारणमन्त्री रविशंकर प्रसाद फैसलापछि आडवाणीनिवास पुगेका छन् ।