ट्रम्पको करछली राष्ट्रिय सुरक्षामाथिको खतरा

बुधबार, १३ असोज, २०७७
डिजिटल संस्करण

बाराक ओबामाले सन् २०१२ मा एक लाख ६१ हजार ९५० मात्रै डलर कर तिरेको भनेर आलोचना गरेका ट्रम्प आफूले भने एक वर्षमा ७५० डलर मात्रै कर तिरेका छन् 

देश/विदेश

न्युयोर्क टाइम्सले दशकाैंदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइमान व्यापारी, गफाडी, बैकरप्सी (दिवालिया)को धारावाहिक कलाकार, ऋण हजम गर्न माहिर आदि–आदि उपमा दिँदै आएको छ । अब भने उनको कठिनाइ बढ्ने सम्भावना देखिएको छ । द टाइम्समा आइतबार साँझ प्रकाशित एउटा समाचारले राष्ट्रपति ट्रम्पले केही वर्षदेखि तिरेको करबारे खुलासा गरिदिएको छ । जसबाट हामीले थाहा नपाएका थुप्रै कुरामाथिको पर्दा हटेको छ । ट्रम्पले राष्ट्रपति पदको निर्वाचनमा रहेको वर्ष सन् २०१६ मा आयकरबापत केवल ७५० डलर तिरेका रहेछन् । राष्ट्रपतिमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेश गरेको वर्ष सन् २०१७ मा पनि अघिल्लो वर्षकैजति ७५० डलर मात्रै आयकर तिरेछन् । त्यसपछिका वर्षमा भने उनले कत्ति पनि आयकर तिरेका छैनन् । उनले आफ्नो आय–व्ययको लेखापरीक्षण गर्न पनि सकिरहेका छैनन् । छोरी इभान्कालाई परामर्श शुल्कका रूपमा व्यवसायबाट प्रशस्तै रकम दिएर त्यसलाई व्यवसायको खर्चका रूपमा घटाएका छन् । उनले आफ्नो कपालको स्यहारादेखि निजी आवासको प्रबन्धनसम्मका खर्च देखाएर कर छल्ने बहाना मिलाएको पाइएको छ । 

भारी ऋणले थिचिएका ट्रम्पले ठूलो राष्ट्रिय सुरक्षा खतरा प्रस्तुत गरेका छन् । उनी पुनः निर्वाचित भए भने राष्ट्रिय खतरा थप बढाउनेछन् । उनले तिरेको करको परिमाणले आफ्ना समर्थक एवं मतदातालाई ट्रम्पले बारम्बार धोका दिएको देखाउँछ । ट्रम्पले तिरेको करको धेरथोर इतिहास मसँग पनि छ । ट्रम्पले मलाई ‘ट्रम्पनेसन’ पुस्तक लेखेकोमा सन् २००६मा मानहानीको मुद्दा लगाएका थिए । यो पुस्तकले उनको व्यापारी पृष्ठभूमिलाई नराम्रो देखाउन खोजेको उनको आरोप थियो । तर, सन् २०११ मा उनले त्यो मुद्दा हारे । त्यस मुद्दाका क्रममा समेत ट्रम्पले आफ्ना वित्तीय दस्ताबेज र करसम्बन्धी जानकारी सार्वजनिक गर्न आनाकानी गरिरहे । किनकि तिनले ट्रम्पको व्यवसाय र वित्तीय अवस्थाबारे सत्यतथ्य उजागर हुन्थ्यो । उनको विदेशमा रहेका स्रोतबाट भएका आम्दानीबारे खुलासा हुन सक्थ्यो । तर, टाइम्सले अहिले हाम्रा लागि त्यो समस्या समाधान गरिदिएको छ ।

ट्रम्पले राष्ट्रपति पदको निर्वाचनमा रहेको वर्ष सन् २०१६ मा आयकरबापत केवल ७५० डलर तिरेका रहेछन् । राष्ट्रपतिमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेश गरेको वर्ष सन् २०१७ मा पनि अघिल्लो वर्षकैजति ७५० डलर मात्रै आयकर तिरेछन् ।
 

टाइम्सका अनुसार ट्रम्पको ऋण ४२ करोड १० लाख डलर छ, जसमा उनी आफैं जमानी बसेका छन् । र, यो थुप्रै वर्षदेखि तिर्न बाँकी छ । अब उनले संघीय सरकारमा पेस गर्नुपर्ने निजी सम्पत्ति विवरणबाट पनि यसबारे केही जानकारी जम्मा गर्न सकिन्छ । तर, मलाई लाग्छ, ट्रम्पको ऋण टाइम्सले खुलाएको विवरणभन्दा बढी नै हुनुपर्छ । अघिल्लो गर्मीयाममा रुस चोमाले ट्रम्पको ऋण ५० करोड रहेको भनेको थियो । उनी यसबारेको जानकारी छिपाउन दशकौँदेखि कडा मिहिनेत गरिरहेका छन् । फोब्र्सका वरिष्ठ सम्पादक डान अलेक्जान्डरले सन् २०१६ देखि ट्रम्पको बिजनेस इन्ट्रेसबारे लेखिरहेका छन् । उनले यसबारे किताबै लेखेका छन् ‘ह्वाइट हाउस इन्क’ । उनी ट्रम्पको ऋणभार करिब एक अर्ब १० करोड डलर छ भन्छन् । ट्रम्प सन् २०१६ मा राष्ट्रपतिको चुनावी दौडमा प्रवेश गरेदेखि आफू १० अर्ब डलरको व्यक्ति भएको गुड्डी हाकिरहेका छन्, जुन सरासर झुट हो । 

ठूलो ऋणभारले उनको सम्पत्तिमा थप दबाब पार्दै लगेको छ । ट्रम्पका व्यवसाय जुन–जुन क्षेत्रमा छन्, कोभिडको महाव्याधिले विशेषगरी तिनै क्षेत्र रियल स्टेट, ट्राभल र आतिथ्यलाई तहसनहस बनाएको छ । यदि ट्रम्पले आफूले लिएको कर्जा समयमै तिर्न सकेनन् भने उनले या त आफ्नो सम्पत्ति बेच्नु पर्नेछ या कसैले उनको ऋणमोचन गरिदिनुपर्छ । ट्रम्प कहिल्यै पनि आफ्नो सम्पत्ति बेच्न तयार हुनेछैनन्, भलै घाटै गएको होस् । उनी रियालिटी टिभी सोका प्रस्तोता मात्रै हुन्थे भने त्यसले कुनै भूकम्प ल्याउने थिएन । तर, उनी त राष्ट्रपति हुन् । त्यसैले, उनले लिने सार्वजनिक नीति–निर्णयको मूल्यमा उनको इज्जत जोगाउन कोही न कोही तयार हुने नै छ । जुन राष्ट्रिय सुरक्षाका दृष्टिले खतरनाक हुन सक्छ । यदि भ्लादिमिर पुटिनले नै कुनै माध्यमबाट सापटी वा सहयोग दिएर तिर्ने चाँजो मिलाइदिए भने ? 

ट्रम्पको करबाट बच्ने बहानाबाजीले उनका समर्थकलाई पनि उत्प्रेरित गर्न सक्छ । ट्रम्प र रिपब्लिकन पार्टीले सन् २०१७ मा व्यापक कर कटौती गर्यो । जसबाट धनाढ्य अमेरिकी र ठूला कम्पनीलाई नै लाभ पुग्यो । त्यसबाट अहिले हामीले के सिक्याैं भने ट्रम्पले कर कटौतीबाट जुन आर्थिक प्रोत्साहन हुने दाबी गरेका थिए, त्यो मिथ्या रहेछ । ट्रम्पले आफू निर्वाचित भएको वर्ष जति कर तिरे (७५० डलर) त्योभन्दा कैयाैँ बढी त उनले स्टोर्मी ड्यानियलको मुख थुन्न दिएका छन् (एक लाख ३० हजार डलर) । सन् २०१२ मा ट्रप्पले एक लाख ६१ हजार ९५० मात्रै कर तिरेको भनेर बाराक ओबामाको आलोचना गरेका थिए । जुन उनले तिरेको ७५० भन्दा त कति हो कति धेरै होइन र ! उनले आफ्ना धनी साथीहरूले भन्दा पनि निकै कम कर तिरेका छन् । ट्रम्पले गत दुई दशकमा ४० करोड डलर पनि कर तिरेका छैनन् । उनले त वर्षमा ७५ हजार डलर कमाउनेले जति पनि कर तिरेनन् । तिनले पनि १४ हजार डलर कर तिरेका छन् ।

(ओब्रिन ब्लुमबर्गका वरिष्ठ स्तम्भकार हुन् )
ब्लुमबर्गबाट

सुझावित समाचार