मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टिमोथी एल. ओब्रिन
२०७७ असोज १४ बुधबार ०५:४१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको करछली राष्ट्रिय सुरक्षामाथिको खतरा 

Read Time : > 3 मिनेट
टिमोथी एल. ओब्रिन
२०७७ असोज १४ बुधबार ०५:४१:००

बाराक ओबामाले सन् २०१२ मा एक लाख ६१ हजार ९५० मात्रै डलर कर तिरेको भनेर आलोचना गरेका ट्रम्प आफूले भने एक वर्षमा ७५० डलर मात्रै कर तिरेका छन् 

देश/विदेश

न्युयोर्क टाइम्सले दशकाैंदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइमान व्यापारी, गफाडी, बैकरप्सी (दिवालिया)को धारावाहिक कलाकार, ऋण हजम गर्न माहिर आदि–आदि उपमा दिँदै आएको छ । अब भने उनको कठिनाइ बढ्ने सम्भावना देखिएको छ । द टाइम्समा आइतबार साँझ प्रकाशित एउटा समाचारले राष्ट्रपति ट्रम्पले केही वर्षदेखि तिरेको करबारे खुलासा गरिदिएको छ । जसबाट हामीले थाहा नपाएका थुप्रै कुरामाथिको पर्दा हटेको छ । ट्रम्पले राष्ट्रपति पदको निर्वाचनमा रहेको वर्ष सन् २०१६ मा आयकरबापत केवल ७५० डलर तिरेका रहेछन् । राष्ट्रपतिमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेश गरेको वर्ष सन् २०१७ मा पनि अघिल्लो वर्षकैजति ७५० डलर मात्रै आयकर तिरेछन् । त्यसपछिका वर्षमा भने उनले कत्ति पनि आयकर तिरेका छैनन् । उनले आफ्नो आय–व्ययको लेखापरीक्षण गर्न पनि सकिरहेका छैनन् । छोरी इभान्कालाई परामर्श शुल्कका रूपमा व्यवसायबाट प्रशस्तै रकम दिएर त्यसलाई व्यवसायको खर्चका रूपमा घटाएका छन् । उनले आफ्नो कपालको स्यहारादेखि निजी आवासको प्रबन्धनसम्मका खर्च देखाएर कर छल्ने बहाना मिलाएको पाइएको छ । 

भारी ऋणले थिचिएका ट्रम्पले ठूलो राष्ट्रिय सुरक्षा खतरा प्रस्तुत गरेका छन् । उनी पुनः निर्वाचित भए भने राष्ट्रिय खतरा थप बढाउनेछन् । उनले तिरेको करको परिमाणले आफ्ना समर्थक एवं मतदातालाई ट्रम्पले बारम्बार धोका दिएको देखाउँछ । ट्रम्पले तिरेको करको धेरथोर इतिहास मसँग पनि छ । ट्रम्पले मलाई ‘ट्रम्पनेसन’ पुस्तक लेखेकोमा सन् २००६मा मानहानीको मुद्दा लगाएका थिए । यो पुस्तकले उनको व्यापारी पृष्ठभूमिलाई नराम्रो देखाउन खोजेको उनको आरोप थियो । तर, सन् २०११ मा उनले त्यो मुद्दा हारे । त्यस मुद्दाका क्रममा समेत ट्रम्पले आफ्ना वित्तीय दस्ताबेज र करसम्बन्धी जानकारी सार्वजनिक गर्न आनाकानी गरिरहे । किनकि तिनले ट्रम्पको व्यवसाय र वित्तीय अवस्थाबारे सत्यतथ्य उजागर हुन्थ्यो । उनको विदेशमा रहेका स्रोतबाट भएका आम्दानीबारे खुलासा हुन सक्थ्यो । तर, टाइम्सले अहिले हाम्रा लागि त्यो समस्या समाधान गरिदिएको छ ।

ट्रम्पले राष्ट्रपति पदको निर्वाचनमा रहेको वर्ष सन् २०१६ मा आयकरबापत केवल ७५० डलर तिरेका रहेछन् । राष्ट्रपतिमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेश गरेको वर्ष सन् २०१७ मा पनि अघिल्लो वर्षकैजति ७५० डलर मात्रै आयकर तिरेछन् ।
 

टाइम्सका अनुसार ट्रम्पको ऋण ४२ करोड १० लाख डलर छ, जसमा उनी आफैं जमानी बसेका छन् । र, यो थुप्रै वर्षदेखि तिर्न बाँकी छ । अब उनले संघीय सरकारमा पेस गर्नुपर्ने निजी सम्पत्ति विवरणबाट पनि यसबारे केही जानकारी जम्मा गर्न सकिन्छ । तर, मलाई लाग्छ, ट्रम्पको ऋण टाइम्सले खुलाएको विवरणभन्दा बढी नै हुनुपर्छ । अघिल्लो गर्मीयाममा रुस चोमाले ट्रम्पको ऋण ५० करोड रहेको भनेको थियो । उनी यसबारेको जानकारी छिपाउन दशकौँदेखि कडा मिहिनेत गरिरहेका छन् । फोब्र्सका वरिष्ठ सम्पादक डान अलेक्जान्डरले सन् २०१६ देखि ट्रम्पको बिजनेस इन्ट्रेसबारे लेखिरहेका छन् । उनले यसबारे किताबै लेखेका छन् ‘ह्वाइट हाउस इन्क’ । उनी ट्रम्पको ऋणभार करिब एक अर्ब १० करोड डलर छ भन्छन् । ट्रम्प सन् २०१६ मा राष्ट्रपतिको चुनावी दौडमा प्रवेश गरेदेखि आफू १० अर्ब डलरको व्यक्ति भएको गुड्डी हाकिरहेका छन्, जुन सरासर झुट हो । 

ठूलो ऋणभारले उनको सम्पत्तिमा थप दबाब पार्दै लगेको छ । ट्रम्पका व्यवसाय जुन–जुन क्षेत्रमा छन्, कोभिडको महाव्याधिले विशेषगरी तिनै क्षेत्र रियल स्टेट, ट्राभल र आतिथ्यलाई तहसनहस बनाएको छ । यदि ट्रम्पले आफूले लिएको कर्जा समयमै तिर्न सकेनन् भने उनले या त आफ्नो सम्पत्ति बेच्नु पर्नेछ या कसैले उनको ऋणमोचन गरिदिनुपर्छ । ट्रम्प कहिल्यै पनि आफ्नो सम्पत्ति बेच्न तयार हुनेछैनन्, भलै घाटै गएको होस् । उनी रियालिटी टिभी सोका प्रस्तोता मात्रै हुन्थे भने त्यसले कुनै भूकम्प ल्याउने थिएन । तर, उनी त राष्ट्रपति हुन् । त्यसैले, उनले लिने सार्वजनिक नीति–निर्णयको मूल्यमा उनको इज्जत जोगाउन कोही न कोही तयार हुने नै छ । जुन राष्ट्रिय सुरक्षाका दृष्टिले खतरनाक हुन सक्छ । यदि भ्लादिमिर पुटिनले नै कुनै माध्यमबाट सापटी वा सहयोग दिएर तिर्ने चाँजो मिलाइदिए भने ? 

ट्रम्पको करबाट बच्ने बहानाबाजीले उनका समर्थकलाई पनि उत्प्रेरित गर्न सक्छ । ट्रम्प र रिपब्लिकन पार्टीले सन् २०१७ मा व्यापक कर कटौती गर्‍यो । जसबाट धनाढ्य अमेरिकी र ठूला कम्पनीलाई नै लाभ पुग्यो । त्यसबाट अहिले हामीले के सिक्याैं भने ट्रम्पले कर कटौतीबाट जुन आर्थिक प्रोत्साहन हुने दाबी गरेका थिए, त्यो मिथ्या रहेछ । ट्रम्पले आफू निर्वाचित भएको वर्ष जति कर तिरे (७५० डलर) त्योभन्दा कैयाैँ बढी त उनले स्टोर्मी ड्यानियलको मुख थुन्न दिएका छन् (एक लाख ३० हजार डलर) । सन् २०१२ मा ट्रप्पले एक लाख ६१ हजार ९५० मात्रै कर तिरेको भनेर बाराक ओबामाको आलोचना गरेका थिए । जुन उनले तिरेको ७५० भन्दा त कति हो कति धेरै होइन र ! उनले आफ्ना धनी साथीहरूले भन्दा पनि निकै कम कर तिरेका छन् । ट्रम्पले गत दुई दशकमा ४० करोड डलर पनि कर तिरेका छैनन् । उनले त वर्षमा ७५ हजार डलर कमाउनेले जति पनि कर तिरेनन् । तिनले पनि १४ हजार डलर कर तिरेका छन् ।

(ओब्रिन ब्लुमबर्गका वरिष्ठ स्तम्भकार हुन् )
ब्लुमबर्गबाट