१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २ शुक्रबार १२:०८:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएलमा पटकपटक कप्तानी गर्ने पाँच खेलाडी 

Read Time : > 3 मिनेट
२०७७ असोज २ शुक्रबार १२:०८:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) भोलिदेखि युएईका विभिन्न तीन सहरमा हुँदै छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले भारतमा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलगायत अन्य दृष्टिले आइपिएल युएई आयोजना गर्दा सुरक्षित हुने ठहर गरेको हो । 

युएई र श्रीलंकाले आइपिएलको प्रस्ताव राखेका थिए । यसअघि पनि आइपिएल गरिसकेको र सुरक्षाको राम्रो व्यवस्था भएकाले बिसिसिआईले युएईलाई दोस्रोपटक आयोजक राष्ट्र चुन्यो । रंगशालामा दर्शकविनै हुने लागेको यस वर्षको आइपिएलमा आठ टोली सहभागी छन् । सहभागी खेलाडीको हौसला बढाउन स्क्रिन बोर्डमा दर्शक तथा चियरगल्र्सको व्यवस्था गरिएको छ । जसले टेलिभिजन हेरिरहेका दर्शकहरूलाई समेत चौका र छक्काको मज्जा दिनेछ । १२ संस्करणसम्ममा सहभागी फ्रेन्चाइज टोलीले कप्तान खासै परिवर्तन गरेको छैन । धेरैजसो टोलीले अनुभवी खेलाडीलाई कप्तानी जिम्मेवारी दिएको छ । कप्तानीका रूपमा महेन्द्रसिंह धोनी सर्वाधिक सफल तथा धेरै कप्तानी गर्ने खेलाडी हुन् । 

महेन्द्रसिंह धोनी : खेल १७४, जित १०४
चेन्नई सुपर किंग्स, राइजिङ पुने

विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी भारतीय क्रिकेटमा मात्र नभएर विश्वकै सफल कप्तानमध्येमा पर्छन् । धोनीको कप्तानीमा आइसिसीले आयोजना गर्ने तीनवटै ठूलो प्रतियोगिता भारतले जितेको छ । आइपिएलको करिअरमा धोनी दुई फरक टोलीमा आबद्ध भएका छन् । उनले चेन्नई सुपर किंग्स र राइजिङ पुनेबाट आइपिएल खेलेका छन् । यी दुई टोलीबाट एक सय ७४ खेलमा उनले कप्तानी गरेका छन् । पुनेभन्दा पनि चेन्नईमा उनी बढी सफल देखिन्छन् । उनको कप्तानीमा चेन्नई आठपटक फाइनल पुग्दा तीनपटक विजेता बन्यो । अवस्थाअनुसार रणनीति बनाउन सक्ने धोनी सबैभन्दा चलाख खेलाडी पनि हुन् ।

आइपिएलमा उनको कप्तानी गर्ने योजना सबैभन्दा खतरनाक मानिन्छ । चेन्नई सुपर किंग्सलाई खेलमा मिलेमतो गरेको भन्दै कारबाहीस्वरूपमा दुई वर्ष प्रतिबन्ध लाग्यो । त्यसपछि चेन्नईका खेलाडी विभिन्न टोलीमा स्थानान्तरण भए । धोनी भने पुनेमा पुगे । सन् २०१६ र २०१७ को सिजनमा उनले पुनेबाट दुई संस्करण खेले । चेन्नईलाई जस्तो पुनेलाई उनले सफलता दिलाउन सकेनन् ।

धोनीले १२ संस्करणमा एक सय ७४ खेलमध्ये टोलीलाई एक सय चार खेलमा जित दिलाएका छन् । यसअनुसार उनको कप्तानीको जित प्रतिशत ६९.११ रहेको छ । ३९ वर्षीय धोनीले केवल ६९ खेल मात्र हारको सामना गरेका छन् । उपाधि जित्ने कप्तानीमा उनी दोस्रो पंक्तिमा छन् । चार उपाधिका साथ मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा शीर्ष स्थानमा छन् ।

विराट कोहली : ११० खेल, जित ४९
रोयल च्यालेन्जर्स बैंग्लोर

आइपिएलको इतिहासमा एकै क्लबमा खेल्ने खेलाडीको सूचीमा विराट कोहली पर्छन् । उनले अहिलेसम्म रोयल च्यालेन्जर्स बैंग्लोरबाहेक अन्य टोलीसँग नाता गाँसेका छैनन् ।
लगातार १३ सिजन बैंग्लोरकै जर्सीमा आइपिएलमा प्रतिस्पर्धा गर्ने तयारीमा विराट छन् । विराटले बैंग्लोरबाट एक सय १० खेलमा कप्तानी गरेका छन् । विराटको कप्तानीमा बैंंग्लोरले सन् २०१६ को आइपिएल फाइनल खेल्यो । बैंग्लोरले तीनपटक आइपिएलको फाइनल खेलेको छ । सन् २०१३ मा डेनियल भिक्टोरीले सन्न्यास लिएपछि विराट नै बैंग्लोरका नियमित कप्तान बनेका छन् ।

सन् २०११ देखि २०१९ सम्मको यात्रामा विराटले ४९ खेलमा जित तथा ५५ खेलमा हारको सामना गरेका छन् । बैंग्लोरले अहिलेसम्म दुई खेल टाई नतिजा आत्मसात् गरेको छ । विराटको जित प्रतिशत ४७.१६ रहेको छ ।

रोहित शर्मा : १०४ खेल, जित ६०
मुम्बई इन्डियन्स, डेकन चाजर्स

भारतीय सिनियर टोलीकै ओपनर ब्याट्सम्यान रोहित शर्मा आइपिएलका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा मुम्बईले चारपटक उपाधि उचालेको छ । सचिन तेन्दुलकरले सन्न्यास लिएपछि रोहितको काँधमा मुम्बई आयो । सात वर्षको कप्तानी यात्रामा उनले मुम्बईलाई सन् २०१३, २०१५, २०१७ र २०१९ मा आइपिएल ट्रफी दिलाए । आइपिएलकै एक कुशल कप्तान रोहितको कप्तानीमा मुम्बईले ६० खेलमा जित र ४२ खेलमा हार सामना गरेको छ । रोहितको जित प्रतिशत ५८.६५ रहेको छ । रोहितले आइपिएलको करिअर डेकन चाजर्सबाट सुरु गरेका थिए । सन् २०११ को अक्सनमा उनी मुम्बईमा आबद्ध भए । 

गौतम गम्भीर : खेल १२९, जित ७१
दिल्ली डेयरभिल्स, कोलकाता नाइट राइडर्स

आइपिएलमा गौतम गम्भीर एउटै मान्यताका साथ अगाडि बढिरहेका छन्– ‘कहिले पनि हरेश नखानू ।’ गौतमले कोलकाता नाइट राइडर्स र दिल्ली डेयरभिल्सबाट कप्तानी गर्दै आएका छन् । कोलकाताको इतिहासमा गौतम सफल कप्तानका रूपमा गनिन्छन् । उनले कोलकातालाई आइपिएलको उपाधि पनि दिलाए । सन् २०१२ र २०१४ मा उनकै कप्तानीमा कोलकाताले आइपिएल उपाधि उचालेको थियो । गम्भीरले आइपिएलको करिअरमा कुल एक सय २९ खेलमा प्रतिस्पर्धा गरे । जसमा ७१ जित र ५७ हारको रेकर्ड छ । गौतमको जित प्रतिशत ५५.४२ रहेको छ । सन् २०१८ मा दिल्लीले एक्कासि उनको कप्तानी खोस्दै युवा खेलाडी श्रेयरलाई सुम्पिएको थियो । दिल्लीको यस निर्णयसँगै गौतमको आइपिएल करिअर परिवर्तन नै भयो । 

एडम गिलक्रिस्ट : खेल ७४, जित ३५
डेकन चाजर्स, किंग्स ११ पन्जाब

अस्ट्रेलियन बायाँहाते ओपनर ब्याट्सम्यान एडम गिलक्रिस्टले केवल ६ संस्करण आइपिएल खेले । विकेटकिपर ब्याट्सम्यान एडमले जति पनि आइपिएलमा सहभागिता जनाए, त्यतिमा निकै उत्कृष्ट ब्याटिङ र रणनीतिक कौशलता देखाए । सन् २००८ को पहिलो संस्करणमा डेकन आश्चर्यजनक रूपमा पुछारमा रह्यो । अर्को सिजना उनले डेकनलाई आइपिएल उपाधि दिलाए । आइपिएलमा सन् २००८ देखि २०१३ सम्म उनले ७४ खेलमा कप्तानी गरेका थिए । उनले किंग्स ११ पन्जाबको पनि कप्तानी गरे । उनले आफ्नो कप्तानीमा ३५ जित र ३९ खेलमा हार सामना गरे ।

–एजेन्सीको सहयोगमा