१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२७:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद

२२ वर्षीया टेनिस स्टार नाओमी ओसाकाले नबोलेरै चर्काएको रंगभेदविरुद्धको अभियान  

Read Time : > 4 मिनेट
२o८१ बैशाख २१ शुक्रबार १३:२७:oo

अमेरिकन प्रहरीको मिचाइबाट जर्ज फलोर्डको निधनसम्बन्धी समाचारले दुई महिनाअघि निकै चर्चा पाएको थियो । एक अमेरिकन प्रहरीले सडक पेटीमा कालो वर्णका फलोर्डलाई घुँडाले थिचेर मारेको भिडियोसमेत भाइरल भएको थियो । ती प्रहरीले फलोर्डको गर्धनमा सात मिनेट ४६ सेकेन्डसम्म थिचेका थिए । यो घटना अमेरिकामा मात्रै होइन, विश्वभर चर्चित बनेको थियो । यो घटनासँगै विश्वमा एउटा बहस नै चलेको छ, ‘ब्ल्याक लिभ्स’ । कालो वर्णको समर्थन र सेतो वर्णविरुद्ध कैयौँ देशमा अभियान नै सुरु भएको छ ।

खेल क्षेत्रका खेलाडी पनि यो अभियानमा लागेका छन् । यिनैमध्ये एक हुन् जापानिज महिला टेनिस स्टार नाओमी ओसाका । उनी त्यो घटनाबाट निकै विक्षिप्त भइन् । हुन त उनको वर्ण पनि कालो नै छ । कालो वर्णको समर्थन गर्न सधैँ तयार भएको र यसका लागि अग्रमोर्चामा रही आन्दोलन गर्ने बाटोमा ओसाका लागेकी छिन् । ओसाकाको यस कार्यमा अमेरिकन प्रेमी कार्डोडले सहयोग गरेका छन् । व्यावसायिक रूपमा कार्डोड ऱ्यापर हुन् । ‘त्यो दृश्य देख्दा मेरो मुटु छियाछिया भयो, लगत्तै मैले प्रेमीलाई फोन गरेँ, कालो वर्णमाथि भएको ज्यादतीकाे पराकाष्ठा भएको सुनाएँ,’ ओसाकाले इक्विरे पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन् । २२ वर्षीया टेनिस खेलाडी ओसाका अहिले प्रत्येक इभेन्टमा कालो वर्णको समर्थनसहित उपस्थित हुन्छिन् ।

नरम स्वर, तर अन्यायविरुद्ध आक्रामक 
ओसाका चर्को स्वरमा कुरा गर्न जान्दिनन् । उनी जहाँ जान्छिन्, त्यहाँ मधुरो स्वरमै बोल्ने गर्छिन् । तर, कालो वर्णविरुद्ध कतै कुरा भइरहँदा भने उनको स्वर अचानक चर्को हुन्छ । यसले पछिल्लो समय उनको व्यक्तित्व नै परिवर्तन गरेको छ । उनी भन्छिन्, ‘म टेनिसको माध्यमबाट जातीय भेदभाव अन्त्य गर्न चाहन्छु, यसविरुद्ध लडाइँ लड्न म मैदानमा उपस्थित भएकी छु । चाहे त्यो हजाराैँ वा थोरै दर्शकले भरिएको कोर्ट किन नहोस् ।’ 

ओसाकाले विनादर्शक सम्पन्न भएको युएस ओपन ग्रान्डस्लाममा पनि यो अभियानलाई निरन्तरता दिइन् । कोर्टमा प्रवेश गर्नुअघि उनले प्रत्येक राउन्डमा मास्क लगाएकी हुन्थिन् । जसमा फरक–फरक शब्द लेखिएको थियो । ती सबै जातीय भेदभावविरुद्ध थिए । युएस ओपनको उपाधि जितेपछि ओसाकाले जबर्जस्त भाषण गरिन् । च्याम्पियसिपको नाताले उनले खर्चिएका शब्द एक नेतृले बोल्ने भाषामा थियो । उनलाई अहिले महिला टेनिसकै लिडर पनि भन्ने गरिएको छ । 

ओसाकाको जन्म जापानको एक ग्रामीण भेगमा भएको थियो । ओसाका तीन वर्षको हुँदा बुबाले न्युयोर्कमा बसाइँसराइ गरे । अमेरिका बसे पनि उनी आफूलाई जापानिज टेनिस खेलाडी भन्ने रुचाउँछिन् । ओसाकाले इक्विरे पत्रिकामा लेखेको आर्टिकलमा अमेरिका वा जापानजस्तो विकसित मुलुकमा समेत कालो वर्णका व्यक्तिमाथि हेपाहा प्रवृत्ति देखिनु दुःखद भएको जनाएकी छिन् । ‘हामी जहाँ गए पनि यही रंगमाथि नै प्रश्न गर्छन्, तर यसै कालो रंगको व्यक्तिले संसार हाँकेको इतिहास बिर्सिएको जस्तो लाग्छ,’ उनले भनिन् । 
कसैले प्रत्यक्ष रूपमा जातीयता र वर्णसम्बन्धी वादविवाद निकाल्दा उनी दुःखी हुन्छिन् । ‘म एक छोरी हुँ, कसैको बहिनी हुँ, एकजना साथी वा प्रेमिका पनि हुँ, म एसियन हुँ र अझ त्यसमाथि कालो वर्णकी जापानिज महिला हुँ ।’ उनी भन्छिन्, ‘म राम्रो टेनिस खेलिरहेकी छु, म आफ्नो आत्मसम्मान रक्षार्थ अग्रसर छु, जसरी म जातीयताविरुद्ध चलिरहेको छु, त्यसरी नै अरू पनि लाग्नुपर्छ ।’ 

कालो वर्णका व्यक्ति हत्यापछि खेल नै परित्याग

ओसाकाले वेस्टर्न र साउथ ओपनबाट नाम फिर्ता लिएकी थिइन् । सेमिफाइनल खेल्नुअघि नै उनले खेल परित्याग गरिन् । विस्कानिसमा प्रहरीको सुटआउटमा ज्याकोब ब्ल्याकका एक व्यक्तिको निधन भएको थियो । ज्याकोब पनि कालो वर्णकै थिए । यो घटनापछि ओसाकाले युएस ओपनको तयारीसँगै बृहत् अभियान नै चलाइन् । अमेरिकाका सबै खेलकुद स्टार खेलाडीलाई संगठित पार्दै उनले कालो वर्णविरुद्ध हत्याहिंसाको मोर्चा सम्हालिन् । ओसाकाको यस अभियानले एक किसिमले युएस ओपन नै ‘पज’ अर्थात् बीचमै रोकियो ।

ओसाकाले आफू एक खेलाडी हुनुअघि एक कालो वर्णकी महिला भएकी बताइन् । उनी भन्छिन्, ‘निश्चित रूपमा म एक महिला हुँ, तर यसभन्दा अघि म एक कालो वर्णकी हुँ ।’ यही वर्णकै आधारमा आफू विश्वकै शक्तिशाली महिला भएको महसुस गरेको उनले बताइन् । ‘कालो वर्ण भएको नाताले नै होला, बारम्बार म आफूलाई शक्तिशाली पाउने गर्छु, यहाँ धेरै वादविवाद गर्ने विषय छन्, टेनिस खेल्नुभन्दा त्यस्ता विवादित विषय सुल्झाउन मन लाग्छ,’ उनले भनिन्, ‘युएस ओपनमा एउटा अभियान चलाउन हरेक दिनको  प्रतीक्षा गरे, अहिले मेरो पहिलो पाइला सफल भएको छ ।’ 

टेनिस खेलमा समेत कालो र वर्ण जातिको विषय उठ्दा नरमाइलो लाग्ने उनी बताउँछिन् । खेल क्षेत्र मात्र नभएर संसारको हरेक व्यक्ति समान रहेको सन्देश दिन नै युएस ओपनमा फरक–फरक शब्दका मास्क लगाएको उनले खुलाइन् । ‘सबैमा म यो स्पष्ट पार्न चाहन्छु, टेनिसको माध्यमबाट नै त्यस्ता भइरहेका दुर्व्यहार समाप्त गर्ने कोसिस गरिरहेको छु । मेरो विचारमा यो अभियान सफल भएको छ ।’ युएस ओपनको उपाधि जितेपछि मन्द मुस्कान छर्दै उनले भनिन्, ‘यद्यपि विनादर्शक सञ्चालित युएस ओपन ग्रान्डस्लाम मैले आफ्नो रंगभेदविरुद्धको योजना पूरा गरेँ ।’ 

युएस ओपनको क्रममा उनले लगाएको एउटा मास्क खुबै चर्चामा रह्यो । जसमा लेखिएको थियो, ‘अमेरिकनले अमेरिकन नै हत्या गरिरहेका छन् ।’ जातीय हिंसामा मारिएका ब्रओना टेलोर, इजिन म्याकलेन, अहमाद अर्वयी, ट्राभोन मार्टिन, जर्ज फलोर्ड, फिलान्डो कास्टिल तथा तमिर राइस कालो वर्णका हुन् । उनीहरूको सम्झनामा ओसाकाले एक दिन यस्तै मास्क लगाइन् । 

प्रत्येक चरणमा जागृत शब्द प्रयोग गरी मास्क लगाउँदा ओसाकाले फरक शक्ति प्राप्त गरेको अनुभव गरेको प्रशिक्षक विम फिसेटलले बताइन् । ‘यसपटक ओसाकाले पूरै शक्ति लगाएर युएस ओपन जित्न सफल भइन्, आत्मविश्वास बढ्नुको पछाडि मास्क नै हो,’ विनले भनिन् । युएस ओपनमा एक रोलमोडलका रूपमा स्थापित हुन नै ओसाकाले जातीय भेदभाव अन्त्यको मोर्चा सम्हालेको प्रशिक्षक विनको दाबी छ । गत डिसेम्बरमा विन ओसाकाकी प्रशिक्षक बनेकी थिइन् । ओसाकाले पुरानो अमेरिकन प्रशिक्षक जेमियन जेन्किसलाई बर्खास्त गरेकी थिइन् । 

ओसाकाको माध्यमबाट अमेरिकालगायत अन्य राष्ट्रमा कसरी कालो वर्णमाथि भेदभाव भइरहेको दर्शाउने प्रशिक्षक विनको भनाइ छ । प्रशिक्षक विन भन्छिन्, ‘मैले ओसाकाको माध्यमबाट बुझ्ने प्रयास गरेकी छु, एक कालो वर्ण महिला वा पुरुषमाथि कसरी अमेरिकालगायत अन्य विकसित राष्ट्रमा चर्को भेदभाव भइरहेको छ ।’ विन अमेरिकाको टेनिस एसोसिएसनमा समेत प्रशिक्षकको रूपमा कार्यरत छिन् । एक महिला (ओसाका)ले पुरुषको दबदबाबीच साहसिक कार्य गरेको विन मान्छिन् ।
युएस ओपन दौरान एटिपी महिला वरीयताको छैटाैँ स्थानमा रहेकी स्टेफानोसले ‘ब्ल्याक लिभ्स म्याटर’ टी–सर्ट लगाएकी थिइन् । ग्रिसकी यी टेनिस खेलाडीले कोर्टमै भनेकी थिइन्, ‘ओसाका तिम्रो अभियानमा मेरो साथ छ, हामी सबै महिला यो कार्यप्रति गर्व महसुस गरेका छौँ ।’ स्टेफानोसले ब्ल्याक लिभ्स म्याटर लेखी प्रस्तुत हुँदा महानतम काम गरेको ओसाकाले भनिन् । 

गत वर्ष फ्रेन्च ओपनको उपाधि रक्षा गर्न नसक्दा ओसाका निराश बनेकी थिइन् । यसै वर्ष अस्ट्रेलियन ओपनसमेत नराम्रो हारको सामना गरेपछि ओसाकाले आफ्नो उत्कृष्ट फर्म बिर्सिएको सबैले अनुभव गरेका थिए । तर, उनले आफ्नो शक्ति फरक रूपमा प्रस्तुत गर्न सफल भएकी छिन् । लगातार ११ खेलमा जित निकाली युएस ओपन जित्दा उनले फरक पहिचान बनाइन् । 

अहिले उनी च्याम्पियन मात्र नभएर सम्पूर्ण जातिभेदभावविरुद्ध मोर्चा सम्हाल्ने महिलाका रूपमा प्रख्यात भएकी छिन् । यसकारण धेरैजसो खेलकर्मीले भनेका छन्, ‘ओकासा वर्तमान समयकै एक च्याम्पियन र बहादुर महिला ।’ –एजेन्सीको सहयोगमा 

ad
ad