मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ २४ बुधबार
  • Saturday, 12 July, 2025
२o७७ भदौ २४ बुधबार १६:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सात वर्षमा सात ठेकेदार फेरिए, तर, बनेन् कर्णाली राजमार्गको पुल (तस्बिरसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २४ बुधबार १६:१३:oo

कर्णाली राजमार्गमा पर्ने दैलेखको आठबिस नगरपालिकाको जाक्सी खोलामा निर्माण सुरु गरिएको पुल सात वर्ष पूरा भयो । सात वर्षमा सातवटा ठेकेदार परिवर्तन भइसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन । 

अब यो पुलमा सवारीसाधन सञ्चालन होला र सुख पाइएला भनेर स्थानीयले आशा पनि मारिसकेका छन् । 

पुल निर्माणको जिम्मेवारी लिएर आएका सबै ठेकेदारहरूले काम बीचमा छोड्दै भाग्दै गरेपछि पुल निर्माण सम्पन्न हुन नसकेको स्थानीय विष्णुबहादुर माझीको गुनासो छ । 

पुल निर्माण नहुँदा हरेक वर्ष बर्खाको भलले पुलका विभिन्न भागहरू बगाउँदै आएको छ । काम गर्न ठेकेदार आउँछन्, स्थानीय मजदुरलाई काममा लगाउँछन्, तर कुनै पनि ठेकेदारले मजदुरको पैसा दिएका छैनन्, होटेलमा खाएको रकमसमेत उधारो छ । 

पुल निर्माण होला जनतालाई सास्ती होला भनेर जनता खुसी हुँदै काममा लाग्ने गर्दछन्, तर विभिन्न चरणमा आएका ठेकेदारहरूले उल्टै स्थानीयको रकम ठगेर भागेकोले संयुक्त रूपमा रकम असुलीका लागि जिल्ला प्रशासनमा निवेदन दर्ता गराउने तयारी भएको स्थानीय विश्व कार्कीले बताए । 
उनले भने, ‘स्थानीयको २९ लाख रकम ठेकेदारले ठगेर भागेका छन् ।’ 

कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पासम्म पुग्ने यातायातका साधानहरू सञ्चालनमा सहज होस् भन्दै कर्णाली राजमार्गमा विगत दशकौँदेखि निर्माण थालिएका पक्की पुलहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन् । पुल निर्माण नहुँदा यात्रुहरूले हरेक वर्ष जोखिम यात्र गर्नुपर्ने बाध्यता कायमै छ । 

कर्णाली प्रदेश राजधानी सुर्खेत हुँदै कर्णालीका पाँचवटा जिल्लामा यातायातका साधनमार्फत  यात्रा गर्नका लागि मुख्य सडकखण्ड मानिएको दैलेखको रतिखोलाको यो पुल गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हो । 

पुल निर्माणको काम सुरु गरिएको छ, तर निर्माण सम्पन्न हुन सकेको छैन । हरेक वर्षको असार–साउन महिनामा यातायातका साधानहरू आवतजावत गर्न निकै दुःख हुने गर्दछ । 

खोला बढेपछि घन्टाैंसम्म यात्रुहरू वारि र पारि कुर्नुपर्ने अवस्था अहिले पनि कायमै रहेको छ । 

कर्णाली राजमार्गको पक्की पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरूको लापरबाहीका कारण दशकौँदेखि पुल निर्माण हुन नसकेपछि कर्णाली राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूले सधैँ हैरानी खेप्नुपरेको छ । 

दैलेखखण्डमा मात्रै पाँचवटा पक्की पुल निर्माण सम्पन्न हुन बाँकी छ । दैलेखको आठबिस नगरपालिका हुँदै अछाम जोड्ने पक्की पुल निर्माणको कामै नभएर अलपत्र अवस्थामा छ । 

कर्णाली राजमार्गमा सडक डिभिजन कार्यालय सुर्खेतमार्फत एउटा र विश्व बैंकको ऋण सहयोगमा १४ वटा पुलको निर्माण थालिएकोमध्ये गत वर्ष आधाजति पुलहरू निर्माण सम्पन्न भएका छन् । 

गत वर्षको दशैँसम्मका लागि विश्व बैंकले अन्तिम चेतावनी दिएपछि काममा केही तीव्रता आएको भए पनि गत वर्ष सबै पुलको निर्माण कार्य सम्पन्न होला भनेर आशा गरेका स्थानीयहरू निराश बनेका छन् । कर्णाली राजमार्ग हुँदै, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा सम्मका यात्रुहरू ओहोरदोहोर गर्ने गर्दछन् ।  

कामको जिम्मेवारी लिएका मुख्य निर्माण कम्पनीहरूले केही कमिसन आफूलाई राखेर अर्को ठेकेदारलाई पेटीमा काम बेच्ने र अर्कोले पनि पुनः अर्कोलाई पेटीमा ठेक्का बिक्री गर्दै जाँदा कर्णालीका पुलहरू समयमै निर्माण नभएका देखिन्छन् ।