मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
२०७७ भदौ ४ बिहीबार ०५:४८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा : १४ जनाको मृत्यु, १६ बेपत्ता

Read Time : > 3 मिनेट
२०७७ भदौ ४ बिहीबार ०५:४८:००

- अछाममा बाढीले बगाउँदा ६ जनाको मृत्यु,  ११ जना बेपत्ता
- बझाङमा पहिरोले घर पुरिँदा दाजुभाइको मृत्यु
- बाजुरामा बाढीपहिरोमा दुईको ज्यान गयो
- दैलेखमा तीनको मृत्यु, एक बेपत्ता 
- कालिकोटमा पहिरोले पुरिएर चारजना बेपत्ता
- सुर्खेतमा घर भत्किँदा बालिकाको मृत्यु
- जाजरकोटमा बाढीले वडा कार्यालय र पुल बगायो

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । बाढीले सबैभन्दा ठूलो क्षति सुदूरपश्चिम प्रदेशको अछाममा भएको छ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । फेला परेका तीनवटा शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी योगेन्द्रसिंह थापाले बताए । 

प्रहरीका अनुसार रामारोशन गाउँपालिका– ५ का २४ वर्षीया गौरी शाह, ५२ वर्षीय चन्द्र साउद र १२ वर्षीय नवीन साउदको सनाखत भएको छ । बाढीले बगाउँदा मंगलसेन नगरपालिका– ३ मा दुईजना, मंगलसेन– १० मा एकजना, बान्नीगढी–जयगढ गाउँपालिका– ८ मा दुईजना र रामरोशन गाउँपालिका– ४ मा एकजनाको शव भेटिएको डिएसपी थापाले बताए । एउटा शव टाउको नभएको अवस्थामा भेटिएको उनले बताए । 

बाढीले बगाउँदा रामारोशन– ५ की ५५ वर्षीया गंगा साउद र उनका छोरा १८ वर्षीय रूपेश बेपत्ता भएका छन् । गंगाका कान्छा छोरा १२ वर्षीय नवीनको शव भेटिएको छ । त्यही वडाकै बिमादेवी साउद, उनकी बुहारी कविता र नातिनी ६ वर्षीया प्राप्ति बेपत्ता भएको रामारोशन गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए । 

अध्यक्ष साउदका अनुसार सोही ठाउँका ४५ वर्षीय अमर शाह, उनकी पत्नी ३५ वर्षीया पवित्रा शाह बाढीमा बगेर बेपत्ता भएका छन् । त्यस्तै, ३७ वर्षीया वशुदेवी साउद, ४५ वर्षीय नन्दसिंह साउद र उनकी पत्नी ४२ वर्षीया गंगादेवी साउद बेपत्ता छन् ।

यस्तै, पञ्चदेवल विनाय नगरपालिकाकी ४० वर्षीया लालसरा शाही र उनका छोरा १२ वर्षीय वसन्त बाढीमा बगेर बेपत्ता छन् । स्थानीयका अनुसार उनीहरू रामारोशन– ५, सैनीबजारमा व्यापार गरेर बस्दै आएका थिए । यस्तै, स्थानीय ५५ वर्षीय जोगा साउद र २३ वर्षीय सम्झना शाह पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलाश खोलामा राति १२ बजे आएको बाढीले रामारोशन गाउँपालिका–५, सैनीबजारका २२ वटा घर र पसल बगाएको छ । ‘तल कम पानी पर्‍यो, माथि बढी पानी परेकाले खोलामा बाढी आयो,’ अध्यक्ष साउदले भने, ‘निद्रामा भएका वेला बाढी आएको धेरैले थाहा पाएनन्, बाढीले बजार नै बगायो ।’ तीनवटा परिवारले भने भागेर ज्यान जोगाएको उनले बताए । सैनीबजारनजिकै खट्टेखोलीमा पनि ६ घर जोखिममा परेका छन् । 

बाढीमा बेपत्ता भएकाको खोजीका लागि हेलिकोप्टरमार्फत सुरक्षाकर्मी सैनीबजार पुगेका छन् । सुरक्षाकर्मी खोजीमा जुटेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 

बझाङमा पहिरोले घर पुरिँदा दाजुभाइको मृत्यु
बझाङको बुंगल नगरपालिका– ५, मिडी गाउँमा पहिरोले एक घर पुरिँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मंगलबार राति १ बजेतिर गएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पुरेको हो । 

पहिरोमा पुरिएर उनका छोरा १२ वर्षीय सचिन ताम्राकार र ६ वर्षीय सुदीप ओखेडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीले बताए । बुंगल–४, तीर्थबगर घर भएका सुदीप केही दिनअघि आफ्नी फुपूको घर आएका थिए । 

पहिरोमा परेर प्रतापकी पत्नी ४० वर्षीया पिपला, छोराछोरी १८ वर्षीया सुनिता, १२ वर्षीया टिन्टी र १६ वर्षीय अनिल घाइते भएका छन् । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय, बुंगलका इन्स्पेक्टर नेत्र बोहराले बताए । घाइते चारैजनालाई उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले १८ घर जोखिममा परेका छन् ।

बाजुरामा बाढीपहिरोमा दुईको ज्यान गयो
बाजुरामा बाढी र पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५ वनकाँडा लेकमा बुधबार बिहान हजुरआमासँगै गाईवस्तु चराउन गएकी तीन वर्षीया समिका बुढाको मृत्यु भएको छ । पहिरोमा परेर उनकी हजुरआमा ६० वर्षीया नन्दादेवी बुढा र दिदी पाँच वर्षीया विनिता घाइते भएका छन् ।

त्यस्तै, बुढीनन्दा नगरपालिका–६ दैयास्थित बड्डीगाड खोलाले बगाउँदा ७५ वर्षीया झिमु लुहारको बुधबार मृत्यु भएको छ । खोलामा घट्ट पिस्न गएका वेला आएको आएको बाढीले घट्टसँगै उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले बताए ।

बुढीनन्दा–२ कोल्टीमा बाढी र पहिरोले गाउँ जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय धुपागाढ खोलामा बाढी आएपछि स्थानीय घर छोडेर चौरमा बसेका छन् । 

दैलेखमा तीनको मृत्यु, एक बेपत्ता 
दैलेखमा प्राकृतिक विपत्तिमा परेर तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलबार राति आएको पहिरोले घर पुरिँदा ११ वर्षका जनक कठायतको मृत्यु भएको छ । १२ वर्षका लोकेश कठायत बेपत्ता भएका छन् । घरमुली टीकाराम कठायत र उनका छोरा शमशेर कठायतलाई उद्धार गरिएको छ । 

गैरीगाउँकै गम्म नेपालीको घर पनि पहिरोले पुरिएको छ । उनलाई पनि पुरिएकै अवस्थामा छिमेकीले उद्धार गरेका छन् । गम्भीर घाइते तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । पहिरोले गाउँ नै जोखिममा परेपछि बिसल्लाका १५ घरपरिवारलाई अन्यत्र सारिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

दैलेख भगवतीमाई गाउँपालिका–५ कट्टीमा लगातारको वर्षासँगै घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ । परिवारका अन्य सदस्य अलग घरमा सुतेकाले जोगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीले बताए । 

त्यस्तै, नौमुले गाउँपालिका–५ मा खोलाले बगाएर २१ वर्षीय भविलाल बुढाको मृत्यु भएको छ । तर, उनका परिवारजनले हत्याको आशंकामा छानबिनको माग गरेका छन् । 

कालिकोटमा पहिरोले पुरिएर चारजना बेपत्ता
कालिकोट नरहरिनाथ गाउँपालिका–५ रुपसामा पहिरो खस्दा दुई परिवारका चारजना बेपत्ता भएका छन् । स्थानीय धने सहकारी र तुले सहकारीको घर बगाउँदा चारजना बेपत्ता भएका हुन् । 

पहिरोमा परेर ६० वर्षीय चन्द्र सहकारी, उनकी बुहारी ३० वर्षीया पम्फादेवी, स्थानीय ३० वर्षीय भीम सहकारी र उनका छोरा नौ वर्षीय रमित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बताए । ‘पहिरोमा बेपत्ता भएकाको खोजी भइरहेको छ,’ उनले भने, ‘सदरमुकामबाट सशस्त्र, नेपाली सेना र जनपथ प्रहरीसहित ३१ जना सुरक्षाकर्मीको टोली खोजीमा खटिएको छ ।’

सुर्खेतमा घर भत्किँदा बालिकाको मृत्यु
सुर्खेतको सिम्ता गाउँपालिका–१ गान्द्रामा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय रंगे खत्रीको घर भत्किँदा च्यापिएर दुई वर्षीया बालिकाको मृत्यु भएको हो । घरमा १० जनाको परिवार थिए । अन्य नौजना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए । 

जाजरकोटमा बाढीले वडा कार्यालय र पुल बगायो
जाजरकोटको जात खोलामा आएको बाढीले बुधबार बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । खोलाले पुल पनि बगाएको छ । खोलामा पानीको सतह बढेकाले त्यस क्षेत्रका एक सय ५० भन्दा बढी घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले बताए । 

त्यस्तै, लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब एक सय ५० घर पहिरोको जोखिममा परेको वडाध्यक्ष भक्तबहादुर थापाले बताए । केही घर चर्किएका छन् । पहिरोको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।