१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फोटो
२०७७ असार २२ सोमबार २०:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले दुई महिना पछाडि साऱ्याे तल्लो तहको अधिवेशन

१४ औं महाधिवेशन निर्धारित समयमै

Read Time : > 1 मिनेट
२०७७ असार २२ सोमबार २०:५८:००

कांग्रेस केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन यसअघिकै घोषित मितिमा गर्ने गरी तल्लो तहका अधिवेशन दुई महिना सारेको छ । महाधिवेशन यसअघिको घोषणाजस्तै आगामी ७ देखि १० फागुनसम्म गर्ने गरी तल्लो तहको अधिवेशनको समय परिमार्जन गरिएको हो ।

गाउँ नगर वडाको अधिवेशन ६ पुसमा, गाउँ नगर अधिवेशन पुस ८ मा, प्रदेश सभास्तरीय क्षेत्रीय अधिवेशन ११ पुसमा, प्रतिनिधिसभास्तरीय क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशनमा १३ पुसमा, एकभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन पुस १६ मा र प्रदेश अधिवेशन ६ माघमा  गर्ने निर्णय कांग्रेसले गरेको छ । यसअघि पदाधिकारी बैठकमा प्रस्तुत भएकै परिमार्जित कार्यतालिकालाई केन्द्रीय समितिले पारित गरेको छ ।

आन्तरिक समायोजन असार मसान्तमा सकाउने प्रस्तावलाई मात्रै परिवर्तन गरेर १० साउनसम्म गरिसक्नेबाहेकका अरू अधिवेशन परिमार्जन भएका छैनन् । कोरोनाका कारण गरिएको लकडाउनले गर्दा कांग्रेसले समयमा काम हुन नपाएको भन्दै महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो । आन्तरिक समायोजन नै नसकिएको कांग्रेसमा क्रियाशील सदस्यताको विषय पनि उत्तिकै विवादास्पद र जटिल छ । पुरानो सदस्यताको टुंगोदेखि नयाँ वितरण र नवीकरण, छानबिन समिति गठनसहितका काम अझै सुरु भएका छैनन् । आफ्ना प्रभाव बढाउन सदस्यता वितरण गर्ने होडबाजीले पनि कांग्रेसमा यसमा सबैभन्दा धेरै विवाद हुने गरेको छ । 

नेकपाको झगडामा कांग्रेस नलाग्ने
प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपाको आन्तरिक संघर्षमा कुनै पक्षतिर पनि नलाग्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा सदस्यहरूले सभापतिले प्रधानमन्त्रीसँग भेट गरेको विषयमा प्रश्न उठाएपछि पार्टीले नेकपाको आन्तरिक घरझगडामा निरपेक्ष बस्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले दिइन् । 

‘सत्तारुढ दलको विवादमा कांग्रेस निरपेक्ष बस्ने निर्णय भएको छ,’ संग्रौलाले भनिन्, ‘सदस्यहरूले प्रश्न उठाएपछि पार्टीले नेकपाका घरझगडामा कतै नलाग्ने निर्णय लिएको हो ।’ बैठकले धेरै बिजनेस हुँदाहुँदै हठात संसद्को अधिवेशन अन्त्य गरेकोप्रति आपत्ति जनाएको छ । संसद् अधिवेशन अन्त्य गरेर सरकारले संसदलाई छलेर मनोमानी गरेको निष्कर्ष कांग्रेसको छ । बैठकमा सभापति देउवाले निर्धारित समयमा महाधिवेशन गर्नमा आफू प्रतिबद्ध भएको बताएका थिए । नेता पौडेलले पनि अब कुनै पनि बहानामा महाधिवेशनका कार्यक्रम समयमै गर्नैपर्ने बताएका थिए । 

सुवर्ण ज्वारचन सांसद
सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको स्थानमा कांग्रेसले सुवर्ण ज्वारचनलाई सांसद बनाउने निर्णय गरेको छ । समानुपातिक सांसद छन्त्यालको केही दिनअघि निधन भएको थियो । 

यस्तो थियो यसअघिको कार्यतालिका 
गाउँ–नगर वडा अधिवेशन : २०७७ कात्तिक १६ गते
गाउँ–नगरपालिका अधिवेशन : २०७७ कात्तिक १८ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन : २०७७ कात्तिक २१ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन : एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : २०७७ कात्तिक २५ गते
प्रदेश अधिवेशन : २०७७ मंसिर २९ गते
महाधिवेशन : २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं।