१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रजिया बानु
२०७७ जेठ २८ बुधबार ०७:४५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

महिलाको श्रमलाई फरक नजरले हेरौँ

Read Time : > 4 मिनेट
रजिया बानु
२०७७ जेठ २८ बुधबार ०७:४५:००

प्रसिद्ध जर्मन दार्शनिक कार्ल मार्क्सले भनेका थिए, ‘समाजमा महिलाको स्थितिबाट त्यहाँको सामाजिक प्रगति सजिलै मापन गर्न सकिन्छ ।’ आज नेपालमा मात्र नभएर विश्वका अधिकांश मुलुकमा महिला, महिला अधिकारलगायत अन्य थुप्रै विषयमा बहस हुने गर्छ । अब महिलाका बारेमा फरक विचारहरूमा मन्थन र बहस गर्ने वेला भएको छ । 

छलफलको सुरुवात राज्यसत्ताको चर्चाबाट गरौँ । अहिले राज्यस्तरमा हेर्ने हो भने महिलाको अवस्था पहिलाको दाँजोमा हल्का माथि उठेको छ । संसारभर महिलाले बिस्तारै अधिकार पाउन थालेका छन् । तैपनि समानतामा महिला दोस्रो दर्जामै छन् । चाहे त्यो नेपालजस्तो देश होस् वा अमेरिका नै, समानता अझै सपनै छ । पटक-पटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा ज्यादै न्यून देखिन्छ । महिलाको कुरा आउ“दा प्रतिनिधित्वको संख्या पेस गरिन्छ । तर, हामीले खोजेको त समान सहभागिता हो, प्रतिनिधित्व मात्र हैन ।

महिलाको कुरा आउँदा प्रतिनिधित्वको संख्या पेस गरिन्छ, तर हामीले खोजेको त समान सहभागिता हो, प्रतिनिधित्व मात्र हैन ।

महिला सहभागितामा तीन वर्षअघि सम्पन्न स्थानीय निर्वाचनले स्थानीयस्तरमै महिलामा राजनीतिक जागरण छर्‍यो । देशभर १८ प्रमुख, सात सय उपप्रमुखसहित १४ हजार तीन सय आठ महिला विजयी भए । यो कुल संख्याको ४०.९० प्रतिशत त हो, तर महिलालाई उपप्रमुखमै सीमित राख्न राजनीतिक दल तथा स्थानीय शक्ति समीकरण उद्यत देखियो । प्रदेश प्रमुखमा एकजना मात्र महिला छिन् । सात प्रदेशको मुख्यमन्त्रीमा एकजना पनि महिला परेनन् । योग्य महिलाहरू हुँदाहुँदै पनि दलभित्रको समीकरण आदिले गर्दा महिला मुख्यमन्त्री हुन पाएनन् । 

महिलाको सहभागिता क्षमता नहुनाले भएन या अवसर नहुनाले ? महिला क्षमतावान् छैनन् भन्ने आरोप लाग्ने गर्छ । यदि त्यस्तो हो भने केही महिनाअघि फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन र उनको मन्त्रिमण्डलको तस्बिरले सामाजिक सञ्जाल भरिने थिएनन् होला । कोरोना भाइरससँग लड्न सफल राष्ट्रमा महिला नेतृत्व रहेको तथ्य सार्वजनिक हुन्थेन होला । राजनीतिमा महिला कति क्षमतावान् छन भन्ने कुरा सान्ना मरिनले जीवन्त उदाहरण दिइन्।

नेपालमै ०४६ सालको आन्दोलनमा सहाना प्रधानको नेतृत्व र ०६३ सालको आन्दोलनमा युवा महिला नेतृहरूका थुप्रै उदाहरण छन् । तर, अवसरका वेला आउँदा नातावाद हाबी हुने तथा संघर्षबाट आएका महिलालाई अवसर नदिने कारण नेतृत्वमा महिला सहभागिता छैन ।

सबै क्षेत्रको अवस्था उस्तै छ । राजनीतिक पार्टीमा पनि महिला-महिलाबीच कति मन्थन हुन्छ ? नेताले आफूमाथि अन्याय गर्दा पनि महिला नेतृहरू किन बोल्दैनन् ? चित्त नबुझेका कुरा नेतालाई मुखेन्जी किन भन्न सक्दैनन् ? कुनै महिला नेतृमाथि पितृसत्तात्मक शक्ति हाबी हुँदा अरू महिला नेताले साथ दिने संस्कार कहिले बसाउने ? राज्यसत्तामा महिला महिलाको दुस्मन त होइन, तर सहयात्री पनि पक्कै बन्न सकिरहेका छैनन् ।

अझै महिलाले राजनीतिक चरित्र देखाउन सकिरहेका छैनन् भने उनीहरूलाई प्रेरणा र हौसलाको कमी भएको छ । महिला कमजोर हुन्छन् भन्ने तर्क पनि छ । मनोवैज्ञानिकहरूका अनुसार मानिसले कुनै झुटो कुरा बारम्बार सुन्यो भने झुट पनि साँचो जस्तो लाग्छ । यही कुरा राज्यसत्ता सँगसँगै समाज सत्तामा पनि जकडिएर बसेको छ । यस्तो मानसिकता बनाउन समाजले हाम्रो बुझाइलाई आकार दिन खेलेको भूमिका महत्वपूर्ण हुन्छ ।

महिला कमजोर छन् भनेर कुरा फैलाउने आखिरमा को हुन् ? जान्ने वेला भएको छ । सानैदेखि हामीले प्लेटो, एरिस्टोटल, कन्फ्युसियसका बारेमा पढ्दै सुन्दै आयौँ । तर, महिलाका सन्दर्भमा उनीहरूको भनाइ के छ भनेर कहिल्यै प्रश्न गरेनौँ । प्ल्याटोनिक संवादमा पुरुष बाहिरको काम गर्ने साथै विभिन्न व्यवस्थापन गर्ने तर महिलाले घरको काम गर्नुपर्ने र पतिले भनेको मान्नुपर्ने भनेर भनिएको छ । त्यस्तै एरिस्टोटलले महिलालाई शारीरिक र बौद्धिक रूपमा कमजोर भनेका छन् । 

कन्फ्युसियसले महिलाले बिहेअघि बुबाले भनेको मान्नुपर्ने र बिहेपछि पतिले भनेको अनि वृद्ध अवस्थामा छोराले भनेको मान्नुपर्छ भनेर लेखेका छन् । अब कसैका बारेमा वा उसको दर्शन पढ्नुअघि महिलाबारे उनीहरूको धारणा के छ भनेर जान्न जरुरी छ । कुनै खास समयका मिथक र मानक अहिले पनि मान्नुपर्छ भन्ने छैन । तर, ती अन्तरवस्तु नै हाम्रो मनोविज्ञानका आधार हुन् भन्ने भुल्नु हुँदैन । 

महिलाको श्रमको सम्मान : महिला कमजोर हुन्छन् भन्ने मानक स्थापित गर्न पितृसत्तात्मक समाजको ठूलो भूमिका छ । अधिकांश राजनीतिज्ञ, दार्शनिक, वैज्ञानिक, खेलकुदलगायत क्षेत्रमा महिलाको तुलनामा पुरुषको बाहुल्य धेरै छ भने महिला घरको काममै सीमित । कुल जनसंख्याको ५१ प्रतिशत महिला रहेको हाम्रो देशमा विद्यमान पितृसत्तात्मक सोचले बिहान उठेदेखि नसुतेसम्म घरको काम गरेर बस्ने महिलाको संख्या धेरै छ । अनि दिनको १५-१६ घन्टा घरमा गरेको श्रमको न कुनै मूल्यांकन छ, न त सम्मान । उल्टै हिंसा सहन बाध्य छन् ।

पितृसत्तात्मक समाज फालेर मातृसत्तात्मक समाज स्थापना गर्नु अथवा फेरि अर्को पीडित वर्ग बनाउने चाहना राख्नु होइन । त्यस्तो सोचाइ त कोरोना भाइरस होइन, मलाई त इबोला नै ठीक भनेजस्तो हुन्छ । अब भने लैंगिक समानताको मन्थन गर्नुपर्छ, न कि कुनै एउटा लिंगको वर्चस्वको । अब भने लैंगिक समानताका लागि समाजमा महिलालाई हानि हुने तर लामो समयदेखि रहिआएका महिलाको प्रगतिविरोधी कुप्रचार तथा गलत सोचलाई निरुत्साहित गर्नुपर्छ । उदाहरणका लागि, बेलायतको ‘एडभर्टाइजिङ स्ट्यान्डर्ड अथोरिटी’ले डिसेम्बर २०१८ मा सुरु गरेको नीतिअनुसार विज्ञापनमा लैंगिक रूपमा सामान्यीकरण गरेर बनाइएका विचारलाई प्रसारण गर्न दिइँदैन । 

नेपालमा पनि महिलाले घरभित्र भात पकाएको, खाना पस्केको, कपडा धोएको देखाउन दिइराख्यौँ भने हाम्रा छोरीहरूले आफूलाई त्यही भूमिकामा देख्न थाल्छन् । अब छोराले पनि घरभित्रको कामको जिम्मेवारी देखाउन सक्नुपर्छ, ताकि बिस्तारै लैंगिक समानता घरबाट सुरु हुनेछ, मनोविज्ञानबाट सुरु हुनेछ । लंैगिक समानताका लागि अहिले यति मात्र पर्याप्त छैन । 

जबसम्म आर्थिक रूपमा महिला सबल हुँदैनन्, तबसम्म महिलाका समस्या कम हुँदैनन् । सुरुवात घरबाटै गर्नुपर्ने हुन्छ । महिलाले घरमा गरेको श्रमको सम्मान जरुरी छ । बाहिर गएर गर्ने कामचाहिँ काम, अनि दिनभर घरमा गरिने कामचाहिँ काम होइन ? घरको श्रम औपचारिक अर्थतन्त्रको हिस्सा नबनेसम्म समस्या रहन्छ नै । श्रमसम्बन्धी कानुनमै महिलाले गर्ने घरायसी कामको उचित मूल्यांकन हुनुपर्छ । अनौपचारिक अर्थतन्त्रमै पनि दिनभर ज्याला मजदुरी गर्ने पुरुषले दिनको हजार पाउँदा महिलाले सात सय मात्र पाउँदै छन् । 

पक्का छ, समानतातर्फको यात्राका लागि यो एउटा प्रस्थान बिन्दु हुन सक्छ । मानवता मानवीय गुण हो र यो मानव समाजको चरित्र हुनुपर्छ, तर त्यहाँम्म पुग्न मानिस–मानिसबीचको विभेदलाई समानताले प्रतिस्थापन गर्नुपर्छ । मुख्यतः लैंगिक आधारमा मानिस असमान वा कमजोर हुँदैन । फरक लिंगकै आधारमा मानिस श्रेष्ठ वा म्लेच्छ हुँदैन, न त उसको क्षमता र विवेकमा नै फरक पर्छ । मानिस जे हो, त्यो अहिलेजस्तो हैन । 

महिलालाई कमजोर देख्ने र पुरुष सधैँ सही र विजेता हुनुपर्ने खेलको नियम हैन । साँचो अर्थमा भन्ने हो भने प्रेम, करुणा र दयाभावले भरिपूर्ण हुनुपर्ने मान्छे क्रूर, अबुझ र निर्दयी हुनै सक्दैन । यसको प्रमाण यो शताब्दीमा उसले महिलालाई हुने विभेदहरूको अन्त्य गरेर पेस गर्नुपर्छ । 

(बानु विवेकशील नेपाली दलकी संघीय समिति सदस्य हुन्)