मुर्झायो विद्यार्थी आन्दोलन : अखिल र अखिल क्रान्तिकारी अलग-अलग र गतिहीन

२०७५ माघ १२ शनिबार ०६:५५:००

पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको काँडेतार तोड्ने विद्यार्थी नै थिए । ती विद्यार्थी संगठन अहिले पनि छन्, तर धारविहीन । न उनीहरूको विचारको धार चोटिलो छ। न सांगठनिक नक्सा मजबुत छ। उतिवेला कुनै पनि राष्ट्रिय मुद्दामा देश उचाल्न सबल विद्यार्थी  संगठन अहिले आफैँ भत्किएका छन् । वीरेन्द्र ओलीरमेश सापकोटाको रिपोर्ट:

अखिल र अखिल क्रान्तिकारी अलग-अलग र गतिहीन

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएको ८ महिना भइसक्यो । तर, एमालेनिकट विद्यार्थी संगठन अखिल र माओवादीनिकट अखिल क्रान्तिकारी बेग्लाबेग्लै अस्तित्वमा छन्, तर गतिविहीन । हिजो पार्टीको एजेन्डा स्थापित गराउन लड्ने विद्यार्थी कोही सत्तामा पनि पुगेका छन्, कोही राजनीतिबाटै निष्क्रिय छन् । अहिलेका नेता एजेन्डा र दिशाविहीन छन् । 

‘विगतमा विद्यार्थी संगठनले व्यवस्था परिवर्तनसँगै राष्ट्रियताको विषयमा संघर्ष गरे,’ अखिल क्रान्त्रिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘बदलिएको परिस्थितिमा विद्यार्थी संगठनको आन्दोलनको स्वरूप मात्र परिवर्तन भएको हो । विद्यार्थी संगठनको एकता टुंगो नलाग्दा प्रभावकारी काम गर्न सकिएको छैन ।’ 

अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य संगठन एजेन्डाविहीन भएको र गुटगत राजनीतिमा फस्दै गएको स्विकार्छन् । ‘पार्टीको गुटगत राजनीति संगठनमा आउँदा योग्यता, क्षमता, दृष्टिकोणभन्दा गुट हेर्ने प्रवृत्ति मौलायो र विद्यार्थी आन्दोलन रक्षात्मक बन्न थाल्यो । विचारकेन्द्रित राजनीतिभन्दा आत्मकेन्द्रगत र गुटगत राजनीतिले संगठन भुत्ते भयो,’ उनले भने । 

विद्यार्थी संगठनमा गुटगत राजनीतिक प्रभाव बढ्दै जाँदा एजेन्डागत राजनीतिभन्दा बहुमतले अल्पमतलाई पेल्ने प्रचलन अनेरास्ववियुमा बढ्दै गएको छ । अहिले अनेरास्ववियुमा केपी ओली पक्षको बहुमत भए पनि एकआपसको खिचातानीले संगठन काममा भन्दा विवादमा अल्झिने गरेको छ । २१औँ राष्ट्रिय सम्मेलनबाट नवीना लामा वामदेव गौतम पक्षबाट महासचिव र ऐन महर केपी ओली पक्षबाट उपाध्यक्ष थिए । पार्टीमा गौतम र ओली एउटै गुटमा भएपछि २२औँ सम्मेलनबाट लामाले अध्यक्षको जिम्मेवारी पाइन् । महर भावी अध्यक्ष बनाउने सर्तमा महासचिव छन् । तर, अब अखिल र क्रान्तिकारीको तलसम्म सांगठनिक एकताबारे अन्योल छ ।

कांग्रेसको ‘नर्सरी’ नेविसंघ यसरी भयो कमजोर 
नेपाल विद्यार्थी संघको इतिहास गर्विलो छ । दलमाथि प्रतिबन्ध लागेको कठिन पञ्चायती व्यवस्थाको मध्यसमयमा स्थापना भएको नेविसंघ ०६४ मा प्रदीप पौडेल सभापतिमा चुनिँदासम्म नेता उत्पादनको नर्सरीजस्तै थियो । पहिलो सभापति विपिन कोइरालापछिका अनुहार हेर्दा कांग्रेसको बल र शक्ति नै नेविसंघ थियो । तर, पछिल्ला वर्षहरूमा गुटगत पार्टी राजनीति, मुद्दाविहीन अवस्थाले नेविसंघ निरन्तर कमजोर बन्न पुगेको छ । 

अहिलेका सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. रामशरण महत, डा. प्रकाशशरण महत, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ सबै विद्यार्थी आन्दोलनबाटै उदाएका नेता हुन् । अहिले कांग्रेसमा स्थापित अनुहार नेविसंघका सभापति र महामन्त्री बनेर आएकाहरू नै बढी देखिन्छन् । 

‘किसुनजीले ०४६ को परिवर्तनलगत्तै विद्यार्थीलाई तपाईंहरू पढाइमा ध्यान दिनुस्, हामी राजनीति गर्छौँ भन्नुभएको थियो,’ नेविसंघका पूर्वसभापति एवं केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘पढाइबाहेक बरु अतिरिक्त क्रियाकलाप गर्नुस्, बलियो बन्न जिम गर्नुस्, सिर्जनात्मक बन्नुस् भन्नुहुन्थ्यो । तर, अहिले नेविसंघमा पार्टीको प्रत्यक्ष निर्देशन र भूमिका नहुँदा अनुशासनहीनता र अराजकता बढेको छ ।’ 

दोस्रो जनआन्दोलनसम्म राजनीतिक संक्रमण भएका वेला नेविसंघसँग मुद्दा पनि थियो । तर, राजनीतिक संक्रमण सकिएसँगै नेविसंघ मुद्दाविहीन र सुस्त संगठनमा चलेको छ । ‘पहिले क्राइसिसका वेला कम विद्यार्थी थिए । लक्ष्य स्पष्ट थियो, तर अहिले नेविसंघमा कार्यकर्ता बढे पनि सही बाटो पक्रेन, पार्टी नेतृत्वले पनि बाटो देखाएन,’ घिमिरे भन्छन्, ‘दोस्रो जनआन्दोलनपछि नेविसंघमा झन् बढी अन्योल देखियो । दुई–दुई वर्षमा हुनुपर्ने महाधिवेशन समयमा भएनन् । दशौँपटकसम्म महाधिवेशन तोकिने, तर नहुने अवस्था आउनुमा पार्टी नेतृत्व दोषी छ ।’ 

विद्यार्थीको त्यो पहिलो अन्दोलन ‘जयतु संस्कृतम्’ 
राणा शासनविरुद्ध तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले जयतु संस्कृतम् आन्दोलन चलाए । आन्दोलनका लागि १ असार २००४ मा संस्कृतका विद्यार्थी गोलबन्ध भएका थिए । यसैलाई नेपालको पहिलो विद्यार्थी आन्दोलनका रूपमा लिइन्छ । ‘पुरोहित’ विद्यार्थीहरूले गरेको आन्दोलनमा सत्ताले प्रायः हस्तक्षेप नगर्ने र मृत्युदण्ड पनि नहुने भएकाले त्यहीँबाट विद्यार्थी आन्दोलनको बिउ रोपिएको थियो । 

कांग्रेस–कम्युनिस्टको साझा अखिल नेपाल विद्यार्थी फेडेरेसन
राणाकालमा सर्वसाधारणलाई लेख्न–पढ्न नै प्रतिबन्ध थियो, पार्टी वा कुनै संगठन खोल्नु त परेको कुरा । नेपाली राजनीतिको थलो भारत थियो । ००६ सालमा भारतमै कांग्रेस र कम्युनिस्ट पार्टी गठन भए । दुवै पार्टीको लक्ष्य नेपालमा राणाशासन ढाल्ने थियो ।  यसका लागि ऊर्जावान् युवा शक्तिको खाँचो थियो । त्यसैले राणाविरुद्ध लड्न ००७ मा विद्यार्थी संगठन ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’ पनि गठन भयो । जयतु आन्दोलनका विद्यार्थी नै फेडेरेसनमा थिए । यो संगठन कांग्रेस र कम्युनिस्ट दुवैको साझा थियो । 

विद्यार्थी आन्दोलनमै प्रश्न उठ्न थाल्यो : प्रदीप पौडेल
पूर्वअध्यक्ष, नेविसंघ

परम्परागत शैली मात्र पछ्याउँदा र आफूलाई नबदल्दा विद्यार्थी आन्दोलनमै प्रश्न उठ्न थालेको छ । शिक्षामा व्यापारीकरण छ, असमानता छ, थुप्रै वर्गीय र सामाजिक मुद्दा छन् । साथै, जनजीविकाका सवाल उत्तिकै छन् । यस्ता विषयलाई उठाएर आन्दोलनलाई अघि लान सक्नुपर्छ । तर, सत्तासँग सम्बन्ध बिगार्न नखोज्ने र सत्तानजिक भएर न्यानो हुन खोजिँदा विद्यार्थी आन्दोलन सशक्त हुन सकेन ।

राष्ट्रियताको आन्दोलनको औचित्य अहिले पनि छ : ठाकुर गैरे
पूर्वअध्यक्ष, अनेरास्ववियु

विगतमा विद्यार्थी संगठनको राष्ट्रिय स्वाधीनताको आन्दोलन थियो । कालापानीमा भारतीय सेना यथावत् छन् । महेशपुर– सुस्ता क्षेत्रमा मिचिएको भूमि फिर्ता भएको छैन । राष्ट्रिय अर्थतन्त्र निर्माण गरेर राष्ट्रियताको आन्दोलन अगाडि बढाउन सकिन्छ । नागरिकताको विषय हल भएको छैन । आज पनि धर्म र जातका नाममा विभेद कायम छ । यी विषयलाई एजेन्डा बनाएर सशक्त आन्दोलन आवश्यकता छ भन्ने गराउन सकिन्छ । 

विद्यार्थी नेता सरुवाबढुवाको फाइल बोकेर हिँड्न थाले : लेखनाथ न्यौपाने
पूर्वअध्यक्ष, अखिल क्रान्तिकारी

एउटा विद्यार्थी संगठनको नेता मन्त्रीको पिए हुन जान्छ, त्यो हुनु हुँदैन भन्ने लाग्छ । यस्तै, विद्यार्थी नेता नै विभिन्न राजनीतिक नियुक्तिमा जान्छ । सरुवा–बढुवाको फाइल बोकेर मन्त्रीलाई भेट्ने काममा लाग्छ । यसले व्यक्तिलाई आर्थिक रूपमा सुरक्षित बनाउने देखिन्छ । नसकेर वा नजानेर विद्यार्थी संगठन आफ्नो मुद्दामा कम, अरूको मुद्दामा धेरैे केन्द्रित छन् । संस्थागत निर्णय गरेर होइन, व्यक्तिगत रूपमा संलग्न हुँदै आएका छन् । 

अनि बने पार्टीअनुसार विद्यार्थी संगठन
००७ मा राणा, राजा र कांग्रेसबीच त्रिपक्षीय दिल्ली सम्झौता भएपछि देशमा सत्तासंघर्ष चल्यो । त्यतिवेला स्कुल कलेज नै कम भएकाले विद्यार्थी संगठनको गतिविधि कम थियो । राणा शासन हटाएर पञ्चायती व्यवस्था भित्रिएपछि विद्यार्थीहरू पनि पार्टीअनुसार चोइटिए । नेविफेको पाँचौँ महाधिवेशनमा रसिया मोडल र चिनियाँ मोडलको समाजवादको विषयमा चर्को विवाद भयो । एउटा पक्ष कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीसँगै ०१७ पछि दरबार छि-यो । जनवादी शिक्षालाई अंगीकार गर्ने कम्युनिस्टहरूले १ जेठ ०२२ मा अखिल नेपाल विद्यार्थी सम्मेलन स्थापना गरे । यही संगठन ०२५ मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका रूपमा स्थापना भयो । यस्तै, जनवादी शिक्षा नमान्ने विद्यार्थीले कांग्रेसनिकट रहेर ०२७ मा ‘नेपाल विद्यार्थी संगठन’ गठन गरे । संस्थापक सभापति बने, विपिन कोइराला । पञ्चायती व्यवस्था सुरु भएसँगै विद्यार्थी संगठनको राजनीतिक स्वार्थ एकै भए पनि गुटगत झमेलामा फसेको नेता न्यौपाने बताउँछन् । 

पार्टीसँगै फुटे कम्युनिस्ट विद्यार्थी संगठन 
देशको राजनीतिक उथलपुथलसँगै कम्युनिस्ट पार्टी चिराचिरा भए । नेतासँगै विद्यार्थी नेता पनि तितरबितर भए, संगठन टुक्राटुक्रा भए । ०२८ को झापा विद्रोहबाट अगाडि बढेको तत्कालीन माले गठन भयो । मोहनविक्रम सिंह र मोहन वैद्यले नेतृत्व गरेको केन्द्रीय न्युक्लियस हुँदै नेकपा चौम ०३१ मा गठन भयो । यसरी पार्टी विभाजन भएपछि कम्युनिस्ट विद्यार्थी संगठनमा विभाजनको रेखा कोरिन थाल्यो । आधिकारिक रूपमा ०३६ मा अनेरास्ववियू विभाजन भएपछि एकथरीले अनेरास्ववियु र अर्कोथरीले अ.ने.रा.स्व.वि.यु लेख्न थाले । ०४२ मा मोहनविक्रम सिंह र मोहन वैद्यले मशाल फुटाएर पातलो ‘मसाल’ र मोटो ‘मशाल’ बनाएपछि विद्यार्थी संगठन पुनः विभाजित भयो । ०४८ मा प्रचण्डको नेतृत्वमा एकता महाधिवेशन भएपछि विद्यार्थी संगठनको नाम अखिल क्रान्तिकारी राख्ने निर्णय भयो । तर, पार्टीभित्रको विवादकै कारण तत्काल घोषणा हुन नसकेपछि ०५१ पुसमा अनेरास्ववियु क्रान्तिकारी नाम घोषणा भएको नेता न्यौपाने बताउँछन् । झापा विद्रोहबाट माले, एमाले हुँदै आएको पार्टीको विद्यार्थी संगठनले स्थापनाकालकै अनेरास्ववियु नाम कायम राख्दै आएको छ । 

कम्युनिस्ट नेता जो विद्यार्थी आन्दोलनबाट उदाए 
विद्यार्थी आन्दोलनबाट धेरै कम्युनिस्ट नेता स्थापित भए । राजनीतिक परिवर्तनसँगै राष्ट्रियता, शिक्षा, स्वास्थ्यलगायत मुद्दाले धेरै नेतालाई स्थापित ग-यो । तत्कालीन माले हुँदै एमालेनिकट अनेरास्ववियुबाट टंक कार्की, शंकर पोखरेल, रवीन्द्र अधिकारी, घनश्याम भुसाल, गोकर्ण विष्ट, जगन्नाथ खतिवडा, राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्री राजीतिमा स्थापित छन् । यस्तै तत्कालीन चौम हुँदै मशाल माओवादीनिकट अखिल क्रान्तिकारीबाट लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, देव गुरुङ, हितमान शाक्य, कृष्णध्वज खड्का, लेखनाथ न्यौपानेलगायत स्थापित छन् । 

मधेसी विद्यार्थी संगठन पनि अस्तव्यस्त 
६ मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो । विद्यार्थी संगठन पनि ६ वटै मिलेर राष्ट्रिय विद्यार्थी संगठन बनेको छ । पार्टीजस्तै विद्यार्थी संगठनमा पनि ६ जना नै अध्यक्ष छन् । एक अध्यक्षले ल्याएको प्रस्ताव अर्को अध्यक्षले सजिलै नमान्दा यो संगठन अलमलिएको छ । ‘विद्यार्थी संगठनको एकता तलसम्म हुन नसक्दा प्रभावकारी काम गर्न सकिएको छैन,’ राष्ट्रिय विद्यार्थी संगठनका इन्चार्ज सुरेश मण्डलले भने, ‘हामीले एकताको आधा काम सकेका छौँ, सबै एकता प्रक्रिया टुंगो लगाएपछि विद्यार्थी संगठनले प्रभावकारी काम गर्छ ।’ 

 यी विद्यार्थी संगठन पार्टीजस्तै ओझेलमा 
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मशाल, सिपी मैनाली नेतृत्वको माले, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, राप्रपा र राप्रपाका विद्यार्थी संगठन छन् । तर, पार्टीजस्तै ओझेलमा छन् ।