१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अनिलकेशरी शाह, सिइओ, नबिल बैंक
नवीन अर्याल काठमाडाैं
२०७७ बैशाख ३ बुधबार ११:०७:००
Read Time : > 1 मिनेट
नयाँCity

संकटले सिकाउँदै  छ डिजिटल कारोबार : अनिलकेशरी शाह

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ बैशाख ३ बुधबार ११:०७:००

पूर्वी अफ्रिकी मुलुक केन्यामा ‘एम पेसा’ चल्छ । ‘एम’को अर्थ मोबाइल र ‘पेसा’को अर्थ पैसा । पैसा बोकेर हिँड्दा लुटिने त्रासबाट मुक्ति दिन केन्याको सरकारले मोबाइल एपमार्फत डिजिटल कारोबारलाई स्थापित गरायो । अर्थात्, अपराधका कारण केन्यामा डिजिटल कारोबार फस्टायो । नेपालमा मोबाइल बैंकिङ सफल हुन सकिरहेको थिएन । कोभिड–१९ को जोखिमका कारण मानिस डिजिटल बैंकिङतिर आकर्षित भएका छन् । लकडाउनयता एटिएम र अनलाइन कारोबार त्यसअघिको तुलनामा धेरै गुणा बढेको छ । पैसाबाटै पनि कोरोना भाइरस सर्ने त्रासले मानिस अनलाइन कारोबारतिर आकर्षित भएका छन् । बैंकका शाखामा भिड घटेको छ, मानिस एटिएमतिर देखिन्छन् ।

कोरोना कहरले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलतर्फ धकेलेको छ । ग्रामीण क्षेत्रसम्म स्मार्टफोन र इन्टरनेटको पहुँच बढ्दै छ । स्मार्टफोन हातमा हुनासाथ मोबाइल बैंकिङमार्फत डिजिटल कारोबार गर्न सकिन्छ । हामीसँग डिजिटल कारोबारका लागि पूर्वाधार थियो, ग्राहकलाई अभ्यस्त बनाउन मात्र बाँकी थियो । कोरोनाको त्रासले बैंकका ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउँदै छ ।

तरकारी बेच्ने व्यापारीको घाँटीमा पनि क्युआर कोड भएको कार्ड झुन्डिन सक्ने तहसम्म हामी पुगिसकेका छौँ ।

अहिले बैंकका सबै शाखा खुलेका छैनन् । ग्राहकलाई एटिएम वा डिजिटल च्यानलबाट कारोबार गर्न प्रोत्साहित गरिरहेका छौँ । एटिएम नभएका ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर शाखा खोलिएको छ । जहाँ शाखा खोलिएको छ, त्यहाँ पनि कर्मचारी निकै कम खटाएका छौँ । अत्यावश्यक पर्दा मात्र अफिस जान्छौँ, नत्र घरबाटै काम हुन्छ । जुम, माइक्रोसफ्ट टिम्स, गुगल ग्रुपलगायत एपमार्फत भर्चुअल बैठक गरिरहेका छौँ । बोर्डदेखि ब्रान्चसम्मका बैठकहरूमा एपलाई माध्यम बनाइरहेका छौँ । 

अहिलेसम्म ठूला सपिङ मल, स्टोर, रेस्टुराँ र होटेलमा मात्र स्वाइप मेसिनमार्फत डिजिटल भुक्तानी गर्न सकिन्छ । अब हामी खुद्रा पसलमा पनि डिजिटल भुक्तानी सुविधा ल्याउँदै छौँ । ठेलामा तरकारी बेच्ने व्यापारीलाई पनि अनलाइन भुक्तानी गर्न सकिनेछ । त्यसका लागि क्युआर कोड सुरु गर्दै छौँँ । यो प्रविधिमा स्वाइप मेसिन र कार्ड चाहिँदैन । व्यापारीसँग बैंक खाताको क्युआर कोड हुन्छ । ग्राहकले आफ्नो मोबाइलमा भएको एपलाई व्यापारीको क्युआर कोडमा स्क्यान गरेपछि खाताको रकम ट्रान्सफर हुन्छ । तरकारी बेच्ने व्यापारीको घाँटीमा पनि क्युआर कोड भएको कार्ड झुन्डिन सक्ने तहसम्म हामी पुगिसकेका छौँ ।

चिनियाँ पर्यटकको मागका आधारमा नबिल बैंकले क्युआर कोड सेवा सुरु गरिसकेको छ । लकडाउन खुलेपछि यसलाई नेपाली ग्राहकसम्म व्यापक बनाउने छौंँ । व्यापारीले नबिल बैंकमा खाता खोल्नेछन्, उनीहरूलाई क्युआर कोड भएको कार्ड दिनेछौँ । ग्राहकसँग जुनसुकै बैंकको खाता भए पनि हुन्छ । खाली मोबाइल एप भए पुग्छ । त्यहीँ रकम लेख्ने अप्सन पनि हुन्छ ।

मुलुक क्यासलेस हुन अर्थतन्त्र पारदर्शी हुनुपर्छ । मान्छेले बैंकमा खाता खोल्नुपर्छ । त्यो खातामा पैसा हुनुपर्छ । सीधै खातामा तलब जम्मा हुनेका लागि त कुनै समस्या हुँदैन । तर, नगदमा तलब बुझ्ने व्यक्तिले बैंकमा लगेर पैसा जम्मा गर्नुपर्छ । अझै पनि गाडी र घरजग्गा किन्दासमेत नगद दिने हाम्रो चलन छ । त्यसैले ठूला कारोबारका लागि समय लाग्ला, तर स–साना कारोबारमा डिजिटल प्रणाली छिट्टै लागू हुँदै छ ।