१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ फाल्गुण ४ आइतबार ०६:५०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

साँझ परेपछि महानगरमै सार्वजनिक यातायात पाउन मुस्किल

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण ४ आइतबार ०६:५०:००

काठमाडौं महानगरपालिकाले रातिसम्म सार्वजनिक यातायात चलाउने प्रयास ग-यो, तर दिगो बनाएन

पाँच-सातजना यात्रु चढेका बस । सुरक्षाका लागि सिसिक्यामेरा र बसमै हतियारसहितका प्रहरी । राति ८ बजेपछि काठमाडौंलाई फन्को मार्न विभिन्न रुट भएर एकसाथ हुइँकिन्थे, १४ वटा बस । १ भदौ ०६९ को बेलुकी तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले न्युरोड गेटमा राति तीन घन्टा मात्रै चल्ने बसको रिबन काटेका थिए । 

ती बस चलाउन काठमाडौं महानगरपालिकाले ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । महानगरले खर्च व्यहोरेका कारण चालकले सडकमा यात्रु बोलाउनु  पर्दैनथ्यो, न त चोकैपिच्छे रोकेर कराउनुपथ्र्यो । यात्रु नभेट्दा पनि एक फन्को मार्थे र फर्किन्थे । तर, डेढ वर्ष नबित्दै रात्रिबस सेवा बन्द भए । त्यसयता काठमाडौंमा सर्वसाधारणलाई साँझ परेपछि यात्रा गर्न सधैँ सास्ती छ । 

‘महानगरीय सहर’ भए पनि यहाँ अहिलेसम्म राति पनि बजार जान, किनमेल गर्न र घुमफिर गर्न सकिने व्यवस्था सरकारले गर्न सकेको छैन ।

देशकै केन्द्रीय राजधानी, पहिलो र ठूलो महानगरपालिका भए पनि काठमाडौं आधा दिन मात्रै जागा रहन्छ । बिहान घाम झुल्केपछि उठ्ने काठमाडौं बेलुकी साँझ पर्नेबित्तिकै सुत्छ । बेलुकी ८ बजे अधिकांश सपिङ मल, बजार र पसलहरू बन्द भइसक्छन् ।

बन्द नभए प्रहरी नै सटर तान्न पुग्छन् । ठूला उद्योगधन्दासमेत दिउँसो मात्रै खुल्छन् । बेलुकी ८ नबज्दै सार्वजनिक गाडी पातलिन्छन् । अस्पताल जानुपर्दा होस् वा कार्यालयबाट घर फर्किनुपर्दा, बेलुकी भएपछि ट्याक्सीको महँगो भाडा तिर्नुपर्ने बाध्यता छ । 

‘महानगरीय सहर’ भए पनि यहाँ अहिलेसम्म राति पनि बजार जान, किनमेल गर्न र घुमफिर गर्न सकिने व्यवस्था सरकारले गर्न सकेको छैन । महानगरपालिकाले चालू आवको नीति तथा कार्यक्रममा आर्थिक महत्वका निश्चित क्षेत्रहरूमा राति अबेरसम्म बजार खुला गर्ने व्यवस्था मिलाइने भनेको छ । तर, अहिलेसम्म त्यस्तो पहल सुरु भएको छैन । 

भाडा बढाउनुपर्ने व्यवसायीको घुर्की

दिउँसो होस् या राति सडकमा यात्रु हुने हो भने व्यवसायी आफैँ सवारी चलाउन तयार छन् । तर,  सरकारले नै रात्रिबस चलाउने भनेपछि व्यवसायी सधैँ घुर्की लगाउँछन् । कहिले अनुदान पाउनुपर्ने त कहिले ट्याक्सीले जस्तै बढी भाडा लिन पाउनुपर्ने अडान लिन्छन् । 

सरकारले गत १ असारबाट रात्रिबस चलाउने निर्णय गरेको थियो । रात्रिबस सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चासो थियो । यातायात व्यवस्था विभागले उपत्यकाभित्र १८ रुटमा रात्रिबस सञ्चालन गर्न १२ कम्पनीलाई स्वीकृति दियो । र, न्यूनतम भाडा तोक्यो, २५ रुपैयाँ । तर, भाडादर कम भएको भन्दै साझाबाहेकका अन्यले सेवा दिएनन् । ‘पहिले पनि ६ महिनादेखि महानगरले अनुदान दिएन, हामीले घाटा खाएर सेवा दिन सकेनौँ,’ यातायात व्यवसायी संघ बागमतीका अध्यक्ष धर्मराज रिमाल भन्छन्, ‘८ बज्दासम्म सबै बन्द भइसक्छ, यात्रु नै हुँदैनन् ।’ 

उनले थोरै यात्रु बोक्दा नोक्सानी हुने भएकाले रातमा छुट्टै भाडादर तोकिदिए बस चलाउन सकिने बताए । साझा यातायातले भने विभिन्न तीनवटा रुटमा राति ११ बजेसम्म बस चलाउँदै आएको छ । साझाका कार्यकारी निर्देशक भूषण तुलाधर भन्छन्, ‘हामीसँग ७१ वटा बस छन्, रातिका लागि तीनवटा छन् । यात्रुको संख्या कम छ, यसमा त नाफा हैन, खर्च पनि उठ्दैन ।’ 

रात्रिबस चलाउन कार्यदल

काठमाडौं महानगरपालिकाले पुनः रात्रिबस सेवा सुरु गर्न कार्यदल गठन गरेको छ । सरोकारवालासँग छलफल गरी सेवा सुरु गर्न कार्यदल बनेको कार्यदलका संयोजक एवं महानगरको सहरी सुव्यवस्था विभागका निर्देशक हरि कुँवरले बताए । कार्यदलमा व्यवसायी, यातायात विभागका प्रतिनिधि, ट्राफिक प्रहरी र जिल्ला प्रशासनका प्रतिनिधि सदस्य छन् । 

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुरुन्तै रात्रिबस चलाइने मेयर विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘१ चैतबाट वा वैशाखदेखि रात्रिबस सञ्चालन हुन्छ, बेलुकी ८ बजेदेखि ११ बजेसम्म मुख्य चोकहरूमा बस पाइन्छ ।’ छिमेकी ललितपुर र भक्तपुरका नगरपालिकासँग समेत छलफल गरी सेवा सुरु गर्ने र सुरुमा १५ वटा रुटमा ६० वटा बस सञ्चालन गर्न सकिने मेयर शाक्यको भनाइ छ । 

सडकमा सुरक्षा, रुट परमिटलगायत सबै विषयमा सहमति जुटे पनि व्यवसायीले ५० प्रतिशत भाडा वृद्धि गर्नुपर्ने सर्त राखेका छन् । ‘पहिले पनि भाडादरकै कुराले सेवा सञ्चालन हुन सकेको थिएन,’ प्रवक्ता ईश्वरमान डंगोलले नयाँ पत्रिकासँग भने, ‘अहिले पनि त्यही अवस्था नआओस् भनेर रुट र भाडा निर्धारण गर्न कार्यदल बनेको छ ।’ 

रातिसम्म किन हुन्न चहलपहल 

काठमाडौं सहर विश्वका घुम्नैपर्ने २० सहरको सूचीमा पर्छ । वसन्तपुर, पाटन र भक्तपुर दरबार, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथलगायत विश्व सम्पदा यहीँ छन् । नेपाल घुम्न आउनेहरू काठमाडौं भएरै भित्रिन्छन् । यहाँ उनीहरू रातमा पनि घुम्न, डुल्न, सपिङ र मनोरञ्जन गर्न चाहन्छन् । तर, सरकारले त्यसको प्रबन्ध मिलाउन सकेको छैन । काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाले रातिसम्म मानिसको चहलपहल बढाउन ‘रात्रिकालीन सम्पदा यात्रा’लगायत कार्यक्रम अघि सारेका छन् ।

काठमाडौं राति पनि खुला छ :  श्यामलाल ज्ञवाली, एसएसपी,  प्रवक्ता, महानगरीय प्रहरी 

काठमाडौंको सुरक्षा प्रबन्ध राम्रो छ । रात्रिकालीन व्यवसायमा हाम्रो कुनै दबाब वा अवरोध छैन । रातभर सञ्चालनका लागि स्वीकृति लिएका डान्सबार, रेस्टुरेन्ट र क्लबहरू चलेकै छन् । पर्यटकले भरिभराउ हुने ठमेल खुला छ । अन्त पनि हामीले बन्द गर्नुपर्छ भनेका छैनौँ । रात परेपछि ग्राहक पनि आउँदैनन्, सानातिना पसल बन्द भई नै हाल्छन् । ९–१० बजे बन्द हुने भनेको चाहिँ मादकपदार्थ बेचबिखन हुने, हो–हल्ला गर्नेजस्ता कारणले हो । सबैतिर त्यस्तो छैन । 

पहिले बजार चलायमान बनाइनुपर्छ :  सरोज सिटौला, महासचिव यातायात व्यवसायी महासंघ

हामीकहाँ विदेशमा जस्तो २४ सै घन्टा बजार चलायमान रहने व्यवस्था छैन । त्यसैले रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न अलि बृहत् छलफल जरुरी छ । सरकारले पहिले पनि विनातयारी अनुदान दिएर रात्रिबस चलाउन भन्यो, त्यतिन्जेल खाली गाडी भए पनि गुडायौँ । तर, घाटा खाएर सधैँ सेवा दिनुपर्छ भन्नु व्यावहारिक छैन । त्यसैले रात्रिबस चलाउनुभन्दा पहिले बजार चलायमान बनाइनुपर्छ । सडकमा मान्छे भए भने त व्यवसायी आफैँ रात्रि सेवा दिन थाल्छन् । कि रातिका लागि छुट्टै भाडादर निर्धारण हुनुप¥यो । यात्रु भए त हामी उज्यालो हुन्जेल नि चलाउन तयार छौँ । 

काठमाडौं ‘महानगर’जस्तो नै छैन : किशोर थापा, पूर्वसचिव सहरी विकासविज्ञ

‘महानगर’ भनेकै ‘व्यवस्थित सहर’ हो । र, त्यहाँ २४सै घन्टा आर्थिक गतिविधि हुन्छ । नागरिकको जीवनशैली सबल हुन्छ । सिफ्टका आधारमा रोजगारी मिल्छ । सुरक्षा र सुविधा दुवै हिसाबले सहर सबल हुनुपर्छ । हाम्रो नजिकमा भारतको दिल्ली नै राम्रो उदाहरण हो । त्यहाँ रात र दिनमा खासै फरक छैन । 

मान्छेको उत्तिकै चहलपहल छ । तर, हामीचाहिँ राति खानपिन गर्ने र सुत्नैपर्छ भन्ने संस्कारबाट प्रेरित छौँ । काठमाडौं ‘महानगर’जस्तो नै छैन । मान्छेको भिडभाडले मात्रै महानगर हँुदैन । नाइट लाइफका लागि सडक बत्ती छैनन् । न त गाडी चलाउनेहरूका लागि पार्किङ छ, न हिँड्नेलाई फुटपाथ छ । धुलोमैलो र फोहोरको समस्या उस्तै छ । यहाँभन्दा त पछिल्लो महानगर पोखराको जीवन राम्रो छ ।  

तस्बिर : संजित परियार/नयाँ पत्रिका