• वि.सं २०७६ चैत १७ सोमबार
  • Monday, 30 March, 2020
राज सरगम काठमाडाैं
२०७६ फाल्गुण ३ शनिबार ०९:२५:००
सप्तरंग

हल र घरमा छाएका निर्देशक

राज सरगम काठमाडाैं
२०७६ फाल्गुण ३ शनिबार ०९:२५:००

नारी मनोविज्ञानमा केन्द्रित फिल्म निर्देशन गर्न माहिर छन्, ऋषि लामिछाने । पारिवारिक ड्रामाको सेटिङमा नारी संवेदनाको गहिराइ टिप्न खोज्छन् उनी आफ्ना फिल्ममा । ‘कहीँ मिलन कहीँ बिछोड’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘श्रीमान्–श्रीमती’, ‘किस्मत २’, ‘हवल्दार सुन्तली’जस्ता दर्जनौँ फिल्म र पाँच सयभन्दा बढी टेलिशृंखला निर्देशन गरेका लामिछाने नारीलाई मुख्य पात्रका रूपमा उभ्याउँछन् । तीन दशकदेखि नेपाली सिनेमामा सक्रिय लामिछाने भन्छन्, ‘०४८ सालमा प्रज्ञा प्रतिष्ठानमा हेरेको नाटकले यो क्षेत्रतिर डोर्‍यायो ।’

नारीका मर्मस्पर्शी संवादलाई मन छुनेगरी प्रस्तुत गर्न सक्ने लामिछानेलाई फिल्मी बजारले पत्याउँछ पनि । र त उनी सफल पनि छन् । आफूले निर्देशन गरेको सिनेमालाई दर्शकले रुचाइदिएकोमा खुसी पनि छन् । उसो त उनी साठीको दशकमा हिट फिल्म दिने निर्देशक पनि हुन् । अहिलेसम्म आफूले निर्देशन गरेको फिल्मबाट निर्माताले घाटा व्यहोर्नुनपरेको उनको जिकिर छ । निर्देशक लामिछाने भन्छन्, ‘निर्मातालाई डुबाउने फिल्म निर्देशन गरिनँ ।’

पछिल्ला फिल्मका कथामा मौलिकता भेटिन्छ । उनी पनि त्यस्तो कथाको खोजीमा छन् । हिजोको दिनमा भारतीय फिल्मसँग मिल्ने र मसलेदार कन्टेन्ट हुन्थ्यो । फिल्म व्यावसायिक बनाउनुपर्ने जोडका कारण पनि मौलिक कथालाई गुमाउनपरेको उनको अनुभव छ । जस्तै ‘हवल्दार सुन्तली’ फिल्ममा उनले महिला प्रहरीको संघर्षलाई उजागर गर्न खोजेका छन् । महिला प्रहरीको सेन्टिमेन्टलाई पनि छोएका छन् । केही फिल्मका कथा निर्माताका कारण बदल्नुपरेका तीता अनुभव पनि उनीसँग छन् । तर, आजका निर्देशकहरू निर्माताको दबाबमा बसेर काम गर्ने पक्षमा नरहेको उनको बुझाइ छ । ‘पढेर बुझेर फिल्म मेकिङमा हात हाल्दै आएका नयाँ पुस्ता निर्माताको दबाबमा काम गर्दैनन्,’ उनी भन्छन् । 

हलका दर्शक र घरका दर्शक दुवैलाई खुसी र सन्तुष्टि बनाउनुपर्ने निर्देशकको काँधमा रहन्छ । मेकिङको हिसाबले दुवैमा बराबरी चुनौती हुन्छ ।

उनी सबै फिल्मले व्यावसायिक सफलता पाउलान् भनेर सोच्न नहुने तर्क गर्छन् । कतिपय फिल्मले समीक्षात्मक सफलता पाउने गरेको उनको भनाइ छ । उनी बुझेर र जानेर काम गर्दा घाटा नहुने बताउँछन् । अहिले बुझेर पढेर नेपाली फिल्मलाई विश्वबजारसम्म पुर्‍याउने लक्ष्यसहित निर्देशक आइरहेको उनी सुनाउँछन् । ‘नयाँ मेकरले बुझेर काम गरिरहेका छन् यो भनेको फिल्म बजारको भविष्य पनि राम्रो हुनु हो,’ उनी भन्छन् । 

उनले फिल्म निर्देशनबाटै थुप्रै राष्ट्रिय अवार्ड पाएका छन् । टेलिशृंखला ‘परिचय’ले उनको उचाइ चुलाइदिएको हो । एक सय ४१ भाग प्रशारण भएको ‘परिचय’ टेलिशृंखला दक्षिण एसियामै हिट रहेको जापानको एनएच टिभीले समेत देखाएका थियो ।

व्यावसायिक फिल्म निर्देशन गर्न सिपालु ऋषि र सानो पर्दामा अतुलनीय योगदान दिन सफल अभिनेत्री सरिताको जोडी तीन दशकदेखि जमेको छ । एकै क्षेत्रमा क्रियाशील निर्देशक तथा कलाकार ऋषि र सरिता घरमा पनि लोकप्रिय छन् । सिनेमा र सिरियलमा व्यस्त लामिछाने अहिले एउटा फिल्म निर्देशन गरेको २० लाख रुपैयाँसम्म लिन्छन् । उनी यतिवेला नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । सानो पर्दा र ठूलो पर्दामा उत्तिकै समय दिइरहेका लामिछानेका लागि काम गर्ने तौरतरिका र चुनौती उस्तै मान्छन् ।