Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
झोउ बो
२०७६ फाल्गुण २ शुक्रबार ०९:१३:००
दृष्टिकोण

चीन–अमेरिका : प्रतिस्पर्धाबीच पनि सहकार्य हुन सक्छ

एक्काइसौंँ शताब्दीका गम्भीर चुनौतीले चीन र अमेरिकालाई प्रतिस्पर्धाकै बीचमा पनि सहकार्य गर्न बाध्य पार्न सक्छ

झोउ बो
२०७६ फाल्गुण २ शुक्रबार ०९:१३:००

व्यापार युद्धलाई बिर्सिदिनुस् । एक्काइसौंँ शताब्दीका गम्भीर चुनौतीले चीन र अमेरिकालाई प्रतिस्पर्धाको बीच पनि सहकार्यमा जोड्न सक्छ । तर, फेरि दुई देशले कल्पना नगरेको कुनै घटनाले नसोचेको द्वन्द्व सुरु गराउन सक्ने खतराचाहिँ छँदै छ । दुई देशबीच द्वन्द्व सुरु गराउन सक्ने त्यस्तो विन्दु दक्षिण चीन सागर बन्न सक्छ । चीनले दक्षिणी चीन सागरका टापु र त्यहाँको पानीमा ‘निर्विवाद सम्प्रभु’को स्पष्ट दाबी गर्न थालेको सन् २०१४बाट हो । ‘दक्षिण चीन सागरका टापु पत्ता लगाउने, नामकरण गर्ने र त्यहाँ स्रोतको खोजी एवं दोहन र तीमाथि सार्वभौम शक्तिको निरन्तर अभ्यास गर्ने पहिलो मुलुक चीन हो’ भन्ने चीनको तर्क हो । 

यो क्षेत्रका केही तटवर्ती मुलुक खासगरी फिलिपिन्स, भियतनाम, ब्रुनाई, मलेसिया, इन्डोनेसिया यसमा असहमत छन् । आफ्नो इतिहास र भूगोलका आधारमा उनीहरूको आ–आफ्नै दाबी छ । अमेरिकाले यो क्षेत्रको पानीमा स्वतन्त्र आवागमन सुरक्षित होस् भन्ने मात्रै चाहेको भन्दै सार्वभौमिकतामाथिको विवादमा आफूले कसैको पक्ष नलिने वाचा गरेको छ । तर, चीनले चाहिँ अमेरिकाको त्यस तटस्थताको वचनबद्धतालाई ‘कपटपूर्ण चालबाजी’ भनेको छ । राजनीतिशास्त्री एम.टेलर फ्रेभेलजस्ता विद्वान्ले पनि अमेरिकी नीतिमा अन्तर्निहित विरोधाभास औँल्याएका छन्ः यस क्षेत्रमा आफ्नो पुनरोदय र स्थानीय विवादबाट बाहिरै रहने अमेरिकी दाबीमा विरोधाभाष छ । विशेषगरी एक चीन नीतिलाई मान्यता दिएयता अमेरिकाले चीनलाई नै त्यहाँ तनावको प्राथमिक स्रोत मान्छ । यति मात्रै होइन, चीननियन्त्रित टापुनजिक चिनियाँ गस्ती जहाजसँग अमेरिकी सैन्यजहाजको खतरनाक मुठभेड हुन सक्ने जोखिम पनि बढेको छ ।

अमेरिकी र चिनियाँ सैन्य जहाज सन् २००१, २००९, २०१३, २०१४, २०१५ र २०१८मा आमनेसामने भएका छन् । अमेरिकी नौसेनाले चीनले दाबी गरेको जलक्षेत्रमा समेत आफ्नो स्वतन्त्र आवागमन बढाउँदै लगेकाले दुर्घटनाको जोखिम बढेको छ । अमेरिकी सैन्य पानीजहाज डेकाटुर र चिनियाँ जहाज लान्झु गत सेप्टेम्बर २०१८मा केवल ४५ यार्डको दूरीमा पुगेर टाढिएका थिए । वासिङ्टनले नियतवश बेइजिङसँगको प्रतिस्पर्धालाई तीव्र पारिरहेको सन्दर्भमा उदीयमान चीन आफ्नो सार्वभौम अधिकारको रक्षाका लागि अझ दृढसंकल्पित हुन सक्छ । इतिहासकार थुसेडाइड्सले युद्धको प्रमुख कारणका रूपमा तीन उत्तेजकको पहिचान गरेका छन् : डर, आत्मसम्मान र आफ्नो हित । दक्षिण चीन सागरमा यी सबै कुरा विद्यमान छन् । 

चीनले दक्षिण चीन सागरमा उपस्थिति बढाउँदै लगेको छ । ट्रम्पप्रशासनले चीनलाई आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिसम्बन्धी दस्ताबेजमा ‘रणनीतिक प्रतिस्पर्धी’को उपमा दिँदै आएको छ । वासिङ्टन बेइजिङलाई ‘संशोधनवादी शक्ति’ भन्छ । प्रतिक्रियास्वरूप चीनले पनि गत ग्रीष्ममा एउटा प्रतिरक्षा श्वेतपत्र जारी गर्‍यो, जसमा अमेरिकालाई ‘एकपक्षीय नीति अपनाएको’ र ‘प्रमुख देशबीच शत्रुता बढाएको’ आरोप लगाइएको छ । पारो दुवैतर्फ तातेको छ, यस्तोमा चीन र अमेरिकाबीच नयाँ द्वन्द्व वा शीतयुद्धलाई कसरी टार्न सकिएला ? यसका लागि हिजोको शीतयुद्धबाट पाठ सिक्न सकिन्छ ।  

शीतयुद्धको लामो गत्यावरोधको सुरुका वर्षमा, अमेरिका र सोभियत संघका युद्धक विमान एक–अर्कालाई तेस्र्याउन हिचकिचाउँदैनथे । जर्मनको विभाजनलाई लिएर अमेरिका र सोभियत रुसबीच सन् १९४८, १९५८, र १९६१मा तीनपटक संकटपूर्ण अवस्था सिर्जना भएको थियो । क्युवाली क्षेप्यास्त्र संकटले पनि सन् १९६२को अक्टोबरमा यी दुई महाशक्ति देशलाई आणविक युद्धको मुखमै पु‍र्‍याएको हो । तर, आपत्कालीन सञ्चार र केही साना सम्झौतापछि सम्भावित युद्धसंकट टरेको थियो । 

सन् १९७२मा वासिङ्टन र मस्कोले ‘हाई सी’मा मुठभेडको दुर्घटना रोक्न सीधा सञ्चार प्रयोग गर्ने, आफ्नो निगरानी र अभ्यासमा रहेका जहाजलाई जोखिममा पर्नबाट बचाउन सतर्कता र विवेक प्रयोग गर्नेलगायत प्रतिबद्धतासहित सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस सम्झौताले सन् १९८८ फेब्रुअरीमा सोभियत संघको पानीमा दुईवटा सोभियत र दुईवटा अमेरिकी पानीजहाजबीच भएको दुर्घटनालाई रोक्न भने सकेन । यद्यपि, त्यो हाई सीको घटना थिएन । तथापि, सम्झौताले खतरनाक मुठभेडको समग्र जोखिमलाई एकदमै कम गरेको देखिन्छ । अमेरिकाको नेभल वार कलेजका प्राध्यापक राउल पेटे पेद्रोजोद्वारा प्रकाशित अनुसन्धानपत्रअनुसार त्यो सम्झौता लागू भएको दुई वर्षभित्रमा यस्ता घटना प्रतिवर्ष १०० बाट घटेर ४० पुगेको थियो । शीतयुद्धको त्यति लामो अवधिमा सोभियत रुस र अमेरिका ठूलो द्वन्द्वबाट बच्न सकेका थिए । यस पृष्ठभूमिमा चीन र अमेरिकाबीच द्वन्द्व 
नभड्किने विश्वास गर्ने ठाउँ छ । 

चीन र अमेरिकाबीच अमेरिका र सोभियत संघबीचजस्तो विश्वव्यापी खालको सैन्य प्रतिस्पर्धा छैन । त्यो सैन्य प्रतिस्पर्धा पश्चिमी प्रशान्तमा मात्र सीमित देखिन्छ । अमेरिकाको मनस्थितिमा प्रशान्त महासागर क्षेत्रबाट चीनले आफूलाई निकाल्न लागेको भन्ने छ । चीन भने अमेरिकाले उसको जलसेना बनाउने वैधानिक आकांक्षालाई रोक्न र चीनको प्रभावलाई एसियाको पूर्वी तटमै सीमित गर्न प्रयास गरिरहेको सोच्छ । सैन्य क्षमताको वृद्धिका बाबजुद चीनले अमेरिकालाई विश्व प्रहरीको भूमिकाबाट विस्थापित गर्नमा चासो देखाएको देखिँदैन । चीन देशभबाहिरको एक मात्र सैन्य अखडा अडेनको खाडी तैनाथ गरेको छ । जुन त्यस क्षेत्रको समुद्री डकैती नियन्त्रणमा सीमित छ । अर्कोतर्फ अमेरिकी नौसेनाचाहिँ एसिया प्रशान्त क्षेत्रमा नियोजित रूपले अन्य तटवर्ती मुलुकका दाबीअन्तर्गतको जलक्षेत्रमा युद्धपोत पठाउन उद्यत छ । 

चीन र अमेरिकाबीच अमेरिका र सोभियत संघबीच विगतको शीतयुद्धकालमा भएजस्तो विश्वव्यापी सैन्यप्रतिस्पर्धा छैन, त्यो सैन्यप्रतिस्पर्धा पश्चिमी प्रशान्तमा मात्र सीमित देखिन्छ

केही समयअघि चिनियाँ रक्षामन्त्री वेई फेंगेले चीन—अमेरिका सैन्यसम्बन्ध धेरै अवस्थामा स्थिर रहे पनि कहिलेकाहीँ चुनौतीपूर्ण हुने टिप्पणी गरेका थिए । अहिले चीन र अमेरिकाबीच विश्वास निर्माणका उपाय सोभियत संघ र अमेरिकाबीचको शीतयुद्धको अवधिको भन्दा पनि एकदमै प्रारम्भिक खालका छन् । यसको अर्थ शत्रुता त्यस्तो सघन छैन भन्ने पनि हुन सक्छ । यद्यपि पछि यस्ता धेरै उपाय आवश्यक हुँदै जानेछन् । सन् १९९८मा, आ–आफ्नो वायु एवं जलसेनाबीच परामर्शको स्थायी सञ्जाल स्थापित गर्न चीन र अमेरिकाले सैन्य समुद्री परामर्श सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् २०१४मा पनि एउटा गैरबाध्यकारी आचारसंहिता र एमओयु गरिएको थियो । हुन त, सन् १९९८को सम्झौतापछि पनि चिनियाँ र अमेरिकी विमान ठोक्किन पुगेका छन् । विश्वासले दुर्घटना रोक्न सक्दैन, तर कुनै दुर्घटनाबाट उत्पन्न हुने परिस्थिति नियन्त्रणका लागि चीन र अमेरिकाबीच यस्ता सम्बन्ध सेतु विकास गर्न आवश्यक छ ।

अहिले, चीनको सैन्यशक्ति बढ्दै गएर अमेरिकाकै स्तरमा पुग्दै छ । दुई मुलुकले डकैती र प्रकोप राहतजस्ता क्षेत्रमा मात्र होइन, अन्तरिक्ष अन्वेषण, साइबर–स्पेस र एआइका क्षेत्रमा पनि नियम बनाउन सहकार्य गर्नुपर्नेछ । परम्परागत रूपमा दुई विपरीत शक्ति ‘यिन’ र ‘याङ’मा विश्वास गर्ने चिनियाँ जनतामा प्रतिद्वन्द्वीले पनि सहयोग पु‍र्‍याउँछ भन्ने अवधारणालाई आत्मसात् गर्न कठिन नहोला । तर, अमेरिकाका लागि भने समस्या हुने देखिन्छ । चीन अझै अमेरिकाजस्तो लोकतान्त्रिक भइसकेको छैन भनेर वासिङ्टन र अन्य पश्चिमा मुलुक असन्तुष्टि व्यक्त गर्ने गर्छन् । तर, के चीनले कहिल्यै अमेरिकाजस्तो हुने प्रतिज्ञा गरेको थियो र ?  ऊ त्यसो नभए के भयो त ? प्रतिस्पर्र्धी सहअस्तित्व अझै सम्भव छँदै छ ।

झोउ बो, चीनको पिपुल्स लिबरेसन आर्मीका वरिष्ठ कर्नेल हुन् । 

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य