१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

खडेरीले बोटमै सुक्न थाले स्याउका फूल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:३४:oo
  • जुम्लाको ४२ सय ५० हेक्टरमा स्याउखेती 
  • सामान्य हिउँले बालीनालीलाई सिँचाइ नपुगेपछि चैत–वैशाखको  खडेरीले कृषिबाली सखाप

हिमाली जिल्ला जुम्लामा यो वर्ष खासै हिउँ परेन । लामो समयसम्म पानी नपरेर खडेरी लाग्दा जुम्लाको मुख्य आयस्रोतका रूपमा उत्पादन हुने स्याउ बाली नष्ट हुन लागेको छ । साउन–भदौमा पाक्ने स्याउका फूल बोटमै सुक्न थालेका छन् ।  कृषि क्यालेन्डरअनुसार हिउँदे सिजनका गहुँ, जौ मंसिरमा रोपिन्छ । हिउँदे बाली राम्रो उत्पादन हुन पुस–माघमा हिमपात हुनुपर्छ । पुसमा परेको हिउँले कृषि उत्पादन बढ्ने तथा स्याउ बगैँचालाई पर्याप्त सिँचाइ पुग्छ । 

तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले सुक्खा खडेरीसहितको तुवाँलोले कृषि बालीसहित मानव जीवनसमेत प्रभावित भएको बताए । उनले भने, ‘स्याउका फूल बोटमै सुकेका छन् । सुक्खा खडेरीले ९० प्रतिशत स्याउको फूल झरेको छ ।’

तातोपानी गाउँपालिका–४ मा पाँच सय ६५ घरधुरीमध्ये चार सय ५० घरधुरीमा न्यूनतम् प्रतिघरधुरीले एक सय ५० स्याउका बिरुवा रोपेका छन् । जिल्ला कृषि कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा ४२ सय ५० हेक्टर जमिनमा स्याउखेती विस्तार भएको छ ।

६–७ वर्षअघिसम्म बर्सेनि पुसमा भारी हिमपात हुने कर्णालीमा पछिल्लो तीन–चार वर्षयता निकै कम हिमपात हुन लागेको छ । सामान्य परेको हिउँले बालीनालीलाई सिँचाइ नपुग्ने भएर चैत–वैशाखमा सुक्खा खडेरीले कृषिजन्य वस्तु सखाप पार्न थालेको छ ।  

पछिल्लो दुई वर्षमा स्याउ उत्पादनमा पनि अत्यधिक ह्रास आएको छ । ०७९ मा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा ०८० मा ४० प्रतिशत कमी आएको थियो । यो वर्ष अझ बढी उत्पादन घट्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्ला कार्यालयका प्रमुख खेमराज साहीले बताए । खडेरी र सिँचाइ नभएका कारण स्याउ उत्पानदनमा हरेक वर्ष  ५० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।

पातारासी गाउँपालिका–७, रिनी गाउँका शेर बुढाले दुई–तीन वर्षयता समयमै हिउँ नपरेका कारण बाली नसप्रिएको बताए । उनले भने, ‘दुई–तीन वर्षपहिलेसम्म १०–१२ बोराका दरले आलु, मकै, जौ, गहुँ उत्पादन हुन्थ्यो । त्यसले चार–पाँच महिना परिवार पालिन्थ्यो । तर, पछिल्ला वर्षमा समयमै हिउँ नपर्नाले उत्पादन घटेको छ । ५–६ बोराभन्दा बढी उत्पादन बढ्दैन ।’ यस्तै, तातोपानी गाउँपालिका–२ का किसान दत्त बुढाले १४–१५ बोरा उत्पादन हुने मार्सी धान अहिले घटेर पाँच–सात बोरामा झरेको गुनासो गरे ।

अगुवा किसान रामकृष्ण बुढ्थापाले भने, ‘उत्पादन हुने ठाउँ मात्रै भएर भएन । काम गर्ने जनशक्ति चाहियो । युवा सबै खाडीमा छन् । सरकारको नीति उत्पादनमुखी हुनुको साटो वितरणमुखी छ । कृषिप्रधान देशको विडम्बना यही हो ।’
जुम्लाको खेतीयोग्य जमिन ३८ हजार सात सय ८६ हेक्टरमध्ये ३६ हजार चार सय ३५ हेक्टरमा खेती भइरहेको छ । त्यसमध्ये तीन हजार ६ सय ५० हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको कृषि अधिकृत लक्षीराम महतले बताए । तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले समयमै हिमपात र बर्सात नहुनुलगायतका कारण उत्पादन घट्दै गएको उनले बताए ।

कर्णालीमा १९ हजार टन खाद्यान्न अपुग
कृषि उत्पादनको उच्च सम्भावना भएको कर्णाली प्रदेशमा बर्सेनि १९ हजार टनभन्दा बढी खाद्यान्न अभाव हुने गरेको छ । उत्पादनमुखी नीति र कार्यक्रम अभाव, बढ्दो युवा पलायन, सिँचाइको असुविधालगायतका कारण खेतीयोग्य जमिन बाँझिँदै गएर कर्णालीले बर्सेनि  खाद्यान्न अभाव झेल्दै आएको छ ।

राष्ट्रिय जनगणना ०७८ अनुसार कर्णाली प्रदेशको जनसख्ंया १६ लाख ९४ हजार आठ सय ८९ छ । यो जनसंख्यालाई वार्षिक तीन लाख ३८ हजार नौ सय ३५ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने भए पनि तीन लाख १९ हजार नौ सय ३५ मेट्रिकटन मात्रै रहेको उपलब्ध छ । कर्णाली प्रदेश योजना आयोगले प्रकाशित गरेको ‘पोषण तथा असल खानपान पुस्तिका–२०८०’ ले कर्णालीका सल्यानबाहेक नौवटै जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ ।  

 कुन जिल्लामा कति अपुग
जुम्लाको एक लाख १८ हजार तीन सय ४९ जनसंख्याका लागि २३ हजार दुई मेट्रिकटन खाद्यान्न आवश्यक भए पनि उपलब्धता भने ११ हजार पाँच सय ९१ मेट्रिकटन छ । ११ हजार चार सय ११ मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको आयोगले जनाएको छ । जाजरकोटको एक लाख ८९ हजार जनसंख्यालाई ३८ हजार चार सय २८ मेट्रिकटन खाद्यान्न आवश्यक भए पनि ३३ हजार नौ सय ६२ मेट्रिकटन मात्रै उपलब्ध हुँदा चार हजार चार सय ४६ मेट्रिकटन खाद्यान्न अभाव छ ।

डोल्पाको ४२ हजार नौ सय ९२ जनसंख्यालाई आठ हजार तीन सय २९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने भए पनि उपलब्ध चार हजार मेट्रिकटन खाद्यान्न मात्रै छ । ४२ सय ६७ मेट्रिकटन खाद्यान्न डोल्पाले आयात गरेरै खान्छ । त्यस्तै, कालिकोटमा आवश्यक खाद्यान्न २७ हजार आठ सय २९ मेट्रिकटन भए पनि उपलब्ध १८ हजार ६ सय २५ मेट्रिकटन र अभाव नौ हजार दुई सय चार मेट्रिकटन रहेको छ ।

मुगुमा वार्षिक १२ हजार नौ सय ६१ मेट्रिकटन खाद्यान्न आवश्यक भए पनि उपलब्धता ६ हजार ६ सय दुई मेट्रिकटन मात्रै हुँदा मुगुमा वार्षिक ६ हजार तीन सय ५९ मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ । साथै, हुम्लामा १० हजार ६ सय ८९ मेट्रिकटन खाद्यान्न आवश्यक रहेकोमा २७ सय ७९ मेट्रिकटन खाद्यान्न मात्रै उपलब्ध हुने गरेको छ भने वर्षमा सात हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न हुम्लामा अभाव हुन्छ ।

ad
ad